काठमाडौं । जनवादी गणतन्त्र चीनको भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ। सभापति लामिछानेको निवासमा भइरहेको छलफलमा भ्रमण टोलीमा सहभागी सांसद तथा पार्टीका नेताहरू सहभागी छन्। छलफलमा रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलगायत नेता तथा सांसद सहभागी भएका हुन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा महामन्त्री आचार्यको नेतृत्वमा रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाँदैछ। यसअघि शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहले पनि भ्रमण टोलीमा सहभागी सांसदहरूसँग छलफल गरेका थिए। उक्त भेटमा प्रधानमन्त्री शाहले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउने विषयलाई प्राथमिकता दिन सांसदहरूलाई निर्देशन दिएका थिए। रास्वपाका अनुसार भ्रमणका क्रममा दुवै देशका अनुभव आदानप्रदान गर्नुका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुसारको राजनीतिक नेतृत्वलगायत विषयमा छलफल हुनेछ। रास्वपाका प्रवक्ता जगदीश खरेलले यो भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको बताएका छन्। महामन्त्री आचार्यको नेतृत्वमा चीन जाने प्रतिनिधिमण्डलमा सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहेका छन्।
चीन भ्रमणमा जाने सांसदहरूद्वारा सभापति लामिछानेसँग छलफल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






