ललितपुर । वर्षाका कारण प्रभावित भएको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुर्ई दिन थप गरिएको छ । आयोजक संस्था फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार ललितपुरको जावलाखेलमा जारी प्रदर्शनी अब बुधबारसम्म सञ्चालन हुनेछ । कात्तिक १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने गरी तय गरिएको प्रदर्शनीको अवधि दर्शक तथा अवलोकनकर्ताको सहजताका लागि थप गरिएको फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीको पहिलो दिन उत्साहजनक कारोबारका साथै अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेकोमा मौसममा आएको प्रतिकूलतासँगै शुक्रबार र शनिबार मेला प्रभावित भएको थियो । कात्तिक १७ गतेदेखि तिहार फ्लोरा एक्स्पोतिहारको उत्सव, स्वदेशी फूलको महोत्सव भन्ने नाराका साथ नर्सरी व्यवसायी संघ नेपालले ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ गर्ने भएको छ । कात्तिक १७ गतेदेखि कात्तिक २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पोमा पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादन प्रदर्शनी गरिने आयोजकले जनाएको छ । नर्सरी र नर्सरीजन्य वस्तुको अत्यधिक परनिर्भरता घटाउँदै स्वदेशी उत्पादन बढाउनुपर्ने आवश्यकता मध्यनजर गर्दै राष्ट्रियस्तरको तिहार फ्लोरा एक्स्पो आयोजना गर्न लागिएको संघले जनाएको छ । एक्स्पोले आर्थिक मन्दीले सुस्ताएको हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायी तथा नर्सरी व्यवसायप्रति रुचि राख्ने, समग्र कषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेका उद्यमी व्यवसायी तथा अध्ययन अनुसन्धानमा संलग्नहरूलाई उत्साहित गराउने गर्ने विश्वास लिएको आयोजकले जनाएको छ । संघले हालसम्म छवटा एक्स्पो सम्पन्न गरिसकेको छ भने नर्सरी वाटिका, वृक्षारोपण तथा रक्तदानलगायतका सामाजिक कार्यसमेत गर्दै आएको छ । आयोजकका अनुसार एक्स्पोमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल, बिरुवालगायत कृषि तथा वन, जडीबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्री गरिनेछ । साथैे व्यवसायीको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गर्ने कार्यक्रमसमेत रहेको छ । एक्स्पोमा ६३ व्यावसायिक स्टललगायत वनस्पति विभाग, पुष्प विकास केन्द्रसहितका अफिसियल छ स्टल तथा प्रतिस्पर्धाका चार स्टलसमेत जम्मा ७३ स्टल रहने बताइएको छ ।
गोदावरी पुष्प मेला दुई दिन थप

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






