काठमाडौं । भारतीय फिल्म जगतकी सुन्दरी तथा ग्लोबल आइकन ऐश्वर्या राय बच्चन ५३ वर्षमा लागेकी छन् । सन् १९९४ मा २० वर्षको उमेरमा मिस वर्ल्डको ताज पहिरिएर विश्वभर तहल्का मच्चाएकी ऐश्वर्याको जीवन र करिअर केवल बलिउडका चम्किला पर्दाहरूमा मात्र सीमित छैन । मोडलिङको दुनियाँबाट सुरु भएको उनको करिअर यात्रा हलिउडको रेड कार्पेटसम्म फैलिएको छ । बलिउड प्रवेश गर्नुअघि नै चर्चामा रहेकी ऐश्वर्याले कसरी आफ्नो कला र सौन्दर्यले विश्वको ध्यान आफूतर्फ आकर्षित गर्न सफल भईन् ? विल स्मिथ र ब्राड पिटजस्ता हलिउड हस्तीहरूसँग स्क्रिन सेयर गर्न पाउने सुनौला अफर पनि किन लत्याईन् र पनि आफ्नो क्रेजलाई कहिल्यै खस्कन दिईनन् ? स्वयं ऐश्वर्याका लागि मात्र नभई उनका लाखौं फ्यानका लागि पनि उनको करिअर यात्रा रोचक लाग्छ । मिस वर्ल्ड बन्नुअघि नै फिल्मका अफर ऐश्वर्याको फिल्मी यात्रा केवल सौन्दर्य प्रतियोगिता जितेपछि मात्र सुरु भएको होइन । सन् १९९१ मा फोर्ड सुपरमोडेल प्रतियोगिता जितेपछि उनलाई अमेरिकी ‘भोग म्यागाजिन’ ले कभर मोडल बनाएको थियो । त्यसपछि उनी अन्य फेसन म्यागजिन र ठूला ब्रान्डका विज्ञापनमा छाउन थालिन् । लगत्तै उनलाई फिल्मका प्रस्तावहरू आउन थालिसकेका थिए । सन् २०१२ मा ‘भोग इन्डिया’लाई दिएको अन्तर्वार्तामा उनले मिस इन्डिया र मिस वर्ल्ड प्रतियोगितामा सामेल हुनुअघि नै कम्तीमा चारवटा फिल्मको अफर आइसकेको खुलाएकी थिइन् । यदि उनले समयमै ती प्रस्ताव स्वीकार गरेकी भए, आमिर खानसँगको फिल्म ‘राजा हिन्दुस्तानी’ (१९९६) उनको पहिलो फिल्म हुन सक्थ्यो, जसमा पछि करिश्मा कपूर देखिइन् । त्यसपछि उनलाई आफ्नो ३५ वर्ष लामो र सक्रिय करिअरमा कहिल्यै आमिरसँग काम गर्ने मौका जुरेन । बरु ‘कोकाकोला’ को विज्ञापनसँगसँगै यसैको प्रतिष्पर्धी पेय ‘पेप्सी’ को विज्ञापनमा उनी आमिरसँग ‘हाई आईएम सन्जना’ भन्दै देखिईन् । दक्षिण भारतको कर्नाटकास्थित मंगालोरको एक आदिवासी तुलु हिन्दु परिवारमा जन्मिएकी ऐश्वर्या हिन्दी र अंग्रेजीका अलावा तुलु भाषामा पनि पोख्त थिइन् भने पछि उनले मराठी र तामिल भाषा पनि सिकिन् । ऐश पढाईमा सानैदेखि अब्बल थिइन् । आफ्नो पढाईबारे उनले एक पटक भनेकी थिइन्, ‘७ कक्षामा दोस्रो हुनुबाहेक म सधैं पहिलो नै भएँ । जब १० कक्षामा थिएँ, मेरा साथीभाई, आफन्त सबैजनाले मैले बोर्ड परीक्षा (आईसीएसई) टप गर्नेछु भन्ने सोचेका थिए । तर म सातौं वा आठौं भएँ, त्यो मेरो लागि ठूलो ईगो भईदियो ।’ डीभीजी रुपारेल कलेजबाट उनले १२ कक्षा उत्तीर्ण गरेपछि पढाई अघि बढाउन सकिनन् । उनी विद्यालयमा पढाईमा मात्र अब्बल थिइनन्, सँगसँगै क्लासिकल डान्स र संगीतमा पनि निपूर्ण थिइन् । भरतनाट्यममा उत्तिकै रुची राख्ने उनी भने चिकित्सा क्षेत्रमा करिअर बनाउन चाहन्थिन् । पछि आर्किटेक्चरतर्फ झुकाव पनि राखिन् । तर मोडलिंगको चस्को पसेपछि उनको बाटो नै मोडियो । त्यसो त कक्षा ९ मा पढ्दाताक नै ऐशले क्यामलिन पेन्सिलको टिभी विज्ञापनका लागि खेलिसकेकी थिइन् । पढाईकै क्रममा उनलाई मोडलिंगले कहिल्यै छोडेन । कलेज पढ्दाताक पनि उनकी अंग्रेजी प्रोफेसरले एक फोटो प्रोजेक्टका लागि भनेर ऐशको केही तस्बिर खिचेकी थिइन्, जून फोटोहरूमा झल्केको ऐशको सौन्दर्यताले फेसन उद्योगमा यति सनसनी मच्चायो की त्यसबेलाका चर्चित फेसन फोटोग्राफर गौतम राजाध्यक्षले पोट्रेट र ग्ल्यामर पोर्टफोलियोका लागि फोटोसूट नै गरे । पछि उनले सन् १९९७ मा पनि कफी–टेबल बुक ‘फेसेस’ का लागि पनि ऐशलाई स्थान दिए । अर्का, फेसन फोटोग्राफर फारुख चोथियाले पनि उनी मिस वर्ल्ड बन्नु अघि नै (सन् १९९३) मा खिचेका तस्बिरले निकै चर्चा पाएका थिए । १९९४ मा जब विश्वले चिन्यो जनवरी १९९४ मा मिस इन्डिया प्रतियोगितामा सुष्मिता सेनपछि दोस्रो स्थान हासिल गरेकी ऐश्वर्याले त्यसै वर्षको नोभेम्बरमा दक्षिण अफ्रिकाको सन सिटीमा आयोजित ‘मिस वर्ल्ड’ मा ८६ देशका सुन्दरीलाई पछि पार्दै मिस वर्ल्डको ताज पहिरिइन् । रिता फारियापछि यो उपाधि जित्ने उनी दोस्रो भारतीय महिला थिइन् । मिस वर्ल्ड बनेपछि उनी भारतीय मोडलबाट रातारात अन्तर्राष्ट्रिय सेलिब्रिटीको रूपमा स्थापित भइन् । ‘देवदास’की पारोको जादु सन् १९९७ मा मणिरत्नमको तमिल फिल्म ‘इरुवर’बाट अभिनयमा डेब्यु गरेकी ऐश्वर्याले सोही वर्ष बबी देओलसँग ‘और प्यार हो गया’मार्फत बलिउडमा पनि पाइला राखिन् । फिल्मले बक्स अफिसमा ठूलो सफलता नपाए पनि उनको सौन्दर्य र स्क्रिन प्रेजेन्सको चर्चा भयो । सन् १९९९ मा सन्जयलीला भन्सालीको ‘हम दिल दे चुके सनम’ र सुवास घईको ‘ताल’ ले उनलाई देशव्यापी स्टार बनायो । पहिलो फिल्मका लागि उनले उत्कृष्ट अभिनेत्रीको फिल्मफेयर अवार्ड जितिन् । सन् २००२ मा आएको ‘देवदास’ उनको करिअरका लागि कोशेढुंगा साबित भयो । पारोको भूमिकामा शाहरुख खान र माधुरी दीक्षितसँगको उनको अभिनयले दर्शकको मन जित्यो । यो फिल्म कान्स फिल्म फेस्टिभलमा प्रदर्शन भएपछि उनको अन्तर्राष्ट्रिय पहिचान थप बलियो भएको थियो । सन् २००३ मा उनी कान्स फिल्म फेस्टिभलको जुरीमा सामेल हुने पहिलो भारतीय अभिनेत्री बनिन् । सन् २००४ मा ‘टाइम’ म्यागजिनले उनलाई विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा समेत सूचीकृत गर्यो । हलिउडका ठूला प्रोजेक्ट अफर तर अस्वीकार ऐश्वर्याको ग्लोबल पहिचान देखेर हलिउडका ठूला निर्देशकहरू पनि आकर्षित भएका थिए । निर्देशक ब्रेट रेटनरले ‘रश ओभर’ फ्रेन्चाइजका लागि दुई पटक उनीसँग सम्पर्क गरेका थिए । ब्राड पिटको फिल्म ‘ट्रोय’ मा ‘हेलेन’ को भूमिकाका लागि पनि उनको चर्चा भएको थियो । तर यसले सार्थकता पाएन । हलिउड अभिनेता माइकल डगलसले भारत आएर आफू ऐश्वर्याकहाँ फिल्मको स्क्रिप्ट लिएर पुगेको कुरा गरेका थिए भने त्यस्तै, विल स्मिथले पनि ‘ह्यानकक’ र ‘सेभेन पाउन्ड्स’ जस्ता फिल्मका लागि उनीसँग दुई पटकसम्म कुरा गरेका थिए । तर, ऐश्वर्याले यी सबै ठूला प्रोजेक्टहरू गरिनन्, हलिउडप्रति अनिच्छा भएन नभई भारतीय फिल्मकै उनको व्यस्त सेड्युलका कारण । मातृत्वसँगसँगै करिअर सन् २०११ मा छोरी आराध्याको जन्म भएपछि ऐश्वर्याले फिल्मबाट लामो ब्रेक लिइन् । २०१० को ‘गुजारिश’ पछि उनी करिब पाँच वर्ष पर्दाबाट हराईन् । २०१५ मा ‘जज्बा’ बाट कमब्याक गरेपछि उनले तीन वर्षभित्र ‘सरबजीत’, ‘ऐ दिल है मुश्किल’ र ‘फन्नी खान’ मा देखिइन् । हिन्दी फिल्ममा लामो समयदेखि दूरी राखेकी ऐश्वर्याले चार वर्षपछि उनले पुनः दक्षिण भारतीय सिनेमाबाट धमाकेदार पुनरागमन गरिन् । सन् २०२२ र २०२३ मा प्रदर्शित मणिरत्नमको ऐतिहासिक फिल्म ‘पोन्नियिन सेल्भन’ (भाग १ र २) मा ‘नन्दिनी’ र ‘मन्दाकिनी देवी’को दोहोरो भूमिका निभाएर उनले आफ्नो अभिनय क्षमता फेरि एकपटक साबित गरिन् । यसै फिल्मका लागि उनले २०२४ को साइमा र आईआईएफए महोत्सवममा उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेकी थिइन् ।कान्सको रेड कार्पेटमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर भारतको प्रतिनिधित्व गर्दै आएकी ऐश्वर्या आज पनि फेसन, सौन्दर्य र ग्लोबल सांस्कृतिक मन्चमा भारतको सबैभन्दा रुचाइएको अनुहार बनेकी छन् । निर्देशक बन्ने चाहना सन् २०१९ तिर ऐश्वर्याले फिल्म निर्देशनमा हात हाल्ने खबरहरू बाहिरिएका थिए । एक प्रश्नको जवाफमा उनले भनेकी थिइन्, ‘म भविष्यमा कुनै दिन फिल्म निर्देशन गर्न चाहन्छु । मेरा सहकर्मीहरूले पनि मलाई सधैं आफैं निर्माता वा निर्देशक बनेर किन फिल्म बनाउँदिनौ भनेर जिस्क्याउँछन् । केही वर्षपछि म यसलाई साकार पार्न सक्छु ।’ ‘म्याडम टुसाड’ र ‘ऐश्वर्या राय टुलिप’ अन्तर्राष्ट्रिय मञ्चमा भारतीय फिल्मको प्रतिनिधित्व गर्ने मामलामा ऐश्वर्या सधैं अग्रपंक्तिमा रहिन् । सन् २००३ मा उनी फ्रान्सको प्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा जुरी बन्ने पहिलो भारतीय अभिनेत्री हुनुका साथै, ससुरा अमिताभ बच्चनपछि प्रसिद्ध ‘म्याडम टुसाड’ मा मैनको मुर्ति राखिने उनी दोस्रो भारतीय कलाकार पनि हुन् । सन् २००५ मा नेदरल्यान्ड्सको विश्वप्रसिद्ध ‘कुकनहोफ’ बगैंचामा टुलिप फूलको एउटा विशेष प्रजातिको नाम ऐश्वर्या रायको नामबाट ’ऐश्वर्या राय टुलिप’ राखिएको थियो । नेदरल्यान्ड्स पर्यटन बोर्डका कार्यकारी निर्देशक हान्स भान ड्रिमका अनुसार ऐश्वर्याको सुन्दरताको सम्मानस्वरूप उक्त फूलको नामकरण गरिएको थियो । घरकी ‘गुल्लु मामी’र डाइटिङमा अरुची अन्तर्राष्ट्रिय स्तरमै ‘ऐश’ नामले चिनिने ऐश्वर्याको घरमा भने निकै अनौठो र प्यारो उपनाम छ । उनकी भाउजू श्रीमा रायका अनुसार ऐश्वर्याको स्टारडमको घरभित्र कहिल्यै चर्चा हुँदैन । उनी आफ्ना भतिजाहरूका लागि केवल प्यारी ‘गुल्लु मामी’ हुन् । भारतीय परिकार निकै रुचाउने ऐश्वर्या आफूलाई खानामा नखरा नगर्ने मान्छिन् । अभिषेक बच्चनले एक अन्तर्वार्तामा भनेका थिए, ‘हामी दुवैजना डाइटिङका मामलामा साह्रै कमजोर छौं ।’ यसमा थप्दै ऐश्वर्याले भनेकी थिइन्, ‘म क्यालोरी क्याल्कुलेट गरेर खाने पुरुषसँग बस्न सक्दिनँ ।’ उनी कडा डाइटिङ नगरे पनि जंक र प्रोसेस गरिएको खानाबाट भने टाढै रहन्छिन् । अभिषेकसँगको पहिलो प्रेम प्रस्ताव अभिषेक र ऐश्वर्याको इन्गेजमेन्टको खबर सन् २००७ मा निकै चर्चामा रहेको थियो । ‘द ओप्रा विन्फ्रे शो’मा अभिषेकले आफ्नो विवाहको प्रस्ताव प्रसंग खुलाउँदै भनेका थिए, ‘न्युयोर्कमा एउटा फिल्मको सुटिङका क्रममा होटलको बाल्कोनीमा उभिँदा म सधैं ऐश्वर्यासँग विवाह भइदिए हुन्थ्यो भनेर सोच्थें । पछि मैले उनलाई तिनै बाल्कोनीमा लगेर विवाहको प्रस्ताव राखेको थिएँ ।’ अभिषेकले ऐश्वर्यालाई उनीहरू दुवैले अभिनय गरेको फिल्म ‘गुरु’को सुटिङमा प्रयोग गरिएको औंठी नै दिएर प्रस्ताव राखेका थिए ।
ऐश्वर्या राय बच्चन : मिस वर्ल्डदेखि ‘म्याडम टुसाड’ र ‘ऐश्वर्या राय टुलिप’सम्म

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






