काठमाडौं । पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । मंगलबार भएको खेलमा पोखरालाई आठ विकेटले हराउँदै लुम्बिनी दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लेको हो । पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको लुम्बिनीले दोस्रो खेलमा भने वर्षाका कारण चितवनसँग अंक बाँडेको थियो । शीर्ष स्थानमा उक्लेको लुम्बिनीको तालिकामा पाँच अंक छ । लगातार तीन खेलमा पराजित पोखरा भने अंकविहीन भएर तालिकाको पुछारमा छ । जारी एनपीएलमा पोखरा मात्र जित र अंकविहीन टोली हो । एनपीएलको पहिलो सिजनमा पोखराले लुम्बिनीलाई १० विकेटले हराएको थियो । दोस्रो सिजनमा भने लुम्बिनीले पोखरालाई तीन विकेटले हराएको थियो । पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो । लुम्बिनीका ओपनर आशिफ शेख सात रनमा रनआउट हुनुभयो । डार्सी सर्ट १३ रन बनाउँदा विपिन खत्रीको बलमा आकाश चन्दको हातबाट क्याच आउट हुनुभयो । कप्तान राहित पौडेल ४७ र निरोशन डिकवेल्ला २७ रनमा अविजित रहनुभयो । तेस्रो विकेटका लागि रोहित र निरोसनले ७७ रनको अविजित साझेदारी गर्नुभयो । पोखराका लागि विपिन खत्रीले एक विकेट लिनुभयो । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ९७ रनको योगफल तयार पारेको थियो । पोखराका लागि चमिका करुणारत्नेले बनाएको २५ रन नै सर्वाधिक रह्यो । उहाँले १७ बलमा दुई छक्का हान्दा रनआउट हुनुभयो भने विपिन खत्री छ र आकाश चन्द एक रनमा अविजित रहनुभयो । कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाउनुभयो भने सदिराले सात, अर्जुन घर्ती छ र सकिब अल हसनले तीन रन बनाउँदै पेभेलियन फर्किनुभयो । लुम्बिनीका लागि रुवेन ट्रम्पलम्यानले चार विकेट लिनुभयो भने तिलक भण्डारीले दुई तथा शेर मल्ल, अविनास गौतम र रोहित पौडेलले समान एक विकेट लिनुभयो । एनपीएलमा बुधबार विश्रामको दिन रहेको छ । बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा काठमाडौ गोर्खाज र विराटनगर किग्स खेल्ने तालिका छ । रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगरको लगातार दोस्रो जितयसैबीच मंगलबार भएको एनपिएलको पहिलो खेलमा आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगर किंग्सले लगातार दोस्रो जित निकालेको छ । विराटनगरले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको हो । विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरसम्म रोमाञ्चक बनेको खेलमा जनकपुर जितनजिक पुगे पनि लक्ष्य भेट्टाउन असफल रह्यो । जनकपुरका लागि सैफ हसनले सर्वाधिक ५० रन बनाउनुभयो । उहाँले विशाल सुस्लिङसँग चौथो विकेटका लागि ७६ रनको महत्त्वपूर्ण साझेदारी गर्नुभएको थियो । ३० बलमा दुई चौका र तीन छक्काको मद्दतमा ४३ रन बनाउनुभएका विशाल एंगेलो म्याथ्युजको बलमा बसिर अहमदबाट क्याच आउट हुनुभयो । पाँचौँ विकेटका लागि सैफ र जिम्मी निसमले ५६ रनको साझेदारी गर्दै जनकपुरलाई जितको नजिक पुर्याउनुभएको थियो । तर, १५ बलमा तीन छक्कासहित २७ रन बनाउनुभएका निसमलाई रूपेश सिंहले आउट गरेपछि विराटनगर खेलमा फर्किएको थियो । ओपनर मोइन अली १० रनमा आउट हुँदा तृतराज दासले ६ र अनिल शाहले शून्य रन बनाउनुभयो । जनकपुरको जित रोक्ने क्रममा विराटनगरका रसेलले चार विकेट लिनुभयो । म्याथ्युजले दुई तथा रूपेश सिंहले एक विकेट हात पार्नुभयो । त्यसअघि टस जितेर बलिङ रोजेको जनकपुरविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको थियो । विराटनगरका लागि तीन ब्याटरले अर्धशतक पूरा गरे । एनपिएलको एकै इनिङ्समा तीन खेलाडीले अर्धशतक बनाएको यो पहिलो अवसर हो । इमरान शेखले सर्वाधिक ५६ रनको योगदान दिनुभयो । उहाँले ४५ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्नुभयो । आन्द्रे रसेल २९ बलमा दुई चौका र पाँच छक्कासहित ५२ रनमा अविजित रहनुभयो । शुभम रन्जाने सात रनमा नटआउट रहनुभयो । लोकेश बमले पनि अर्धशतक बनाउनुभयो । उहाँले ४० बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५० रन जोड्नुभयो । उहाँलाई राहुल यादवको बलमा ललित राजवंशीले क्याच गर्नुभयो । लोकेश एनपिएलमा दुई अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बन्नुभएको छ । जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिनुभयो । जारी एनपिएलमा अर्धशतकको संख्या आठ पुगेको छ । यसअघि तृतराज दास, सोमपाल कामी, डेविड मलान, मोइन अली, दीपेन्द्रसिंह ऐरी र लोकेश बमले अर्धशतक प्रहार गर्नुभएको थियो ।
एनपिएल : पोखरालाई हराउँदै लुम्बिनी शीर्षस्थानमा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स


_MKMgNkhqCx.jpg)



