काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सवारीसाधन धनीलाई ती सवारी हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका सवारीसाधनमध्ये २५ वटा मोटरसाइकल र २५ वटा स्कुटर रहेका छन्। ट्राफिक प्रहरीले विभिन्न समयमा प्राप्त निवेदनका आधारमा खोजतलास गर्दा ती सवारीसाधन फेला पारेको जनाएको छ। कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले सवारीसाधनको सुरक्षामा धनी स्वयं पनि सचेत हुनुपर्ने बताए। सवारीसाधन हराए वा चोरी भएमा तत्काल ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै उनले जथाभावी तथा एकान्त स्थानमा पार्किङ नगर्न, जीपीएसलगायत सुरक्षा उपकरण जडान गर्न र आवश्यक सावधानी अपनाउन सुझाव दिए। ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म हराएका तथा चोरी भएका ३०३ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई बुझाइसकिएको छ। उनका अनुसार चालु आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा ३४ जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा पठाइएको छ। त्यसैगरी, तीनवटा चारपाङ्ग्रे सवारीसाधन र दुईवटा मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ। प्रवक्ता सुवेदीले व्यक्तिगत सतर्कता, प्रविधिको प्रभावकारी प्रयोग र भौतिक सुरक्षाको संयोजनबाट सवारीसाधन चोरी नियन्त्रण गर्न सकिने बताए। आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीलाई प्रभावकारी बनाउँदै ट्राफिक प्रहरीले जनशक्ति र आधुनिक प्रविधिको प्रयोगमार्फत निगरानी बढाइरहेको उनले जानकारी दिए। हराएका तथा चोरी भएका सवारीसाधन खोजी गरी धनीलाई फिर्ता गराउने अभियानले नागरिकमा प्रहरीप्रतिको विश्वास बढाउनुका साथै सवारीसाधन चोरी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। फेला परेका सवारीसाधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन्।
उपत्यकामा हराएका तथा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर फेला

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






