काठमाडौं । आफ्नै रेन्टल बाइकको मर्मतसम्भारलाई सहज बनाउने उद्देश्यले स्थापना भएको एसटीआर ग्यारेजले आफ्नो सेवा विस्तार गर्न थालेको छ । आरवाईडी नेपालअन्तर्गत सञ्चालनमा रहेको ग्यारेजले सुरुमा कम्पनीकै बाइकको सर्भिसिङ गर्दै आएकोमा अहिले अन्य ग्राहकका मोटरसाइकललाई समेत सेवा दिन थालेको हो । काठमाडौंको निलो पुल क्षेत्रमा सञ्चालनमा रहेको एसटीआर ग्यारेजमा दैनिक ८ देखि १२ वटासम्म मोटरसाइकल सर्भिसिङ हुने गरेको आरवाईडी नेपालका सञ्चालक सदस्य प्रतिभ आचार्यले जानकारी दिए । उनका अनुसार आरवाईडी नेपालले सुरुमा आफ्ना बाइकको सर्भिसिङका लागि अन्य सर्भिसिङ सेन्टरमा निर्भर रहनुपरेको थियो । तर, कम्पनीका बाइकको संख्या बढ्दै जाँदा सामान्य सर्भिसिङका लागि समेत लामो समय कुर्नुपर्ने अवस्था आएपछि आफ्नै वर्कसप सञ्चालन गर्ने निर्णय गरिएको हो । ‘पहिले हामीले हाम्रा बाइक अन्य सर्भिसिङ सेन्टरमा लगेर सर्भिसिङ गराउँदै आएका थियौँ । बाइकको संख्या बढ्दै जाँदा सामान्य सर्भिसिङका लागि पनि लामो समय लाग्न थालेपछि आफ्नै वर्कसप सञ्चालन गरेका हौँ,’ आचार्यले भने । एसटीआर ग्यारेजमा नियमित सर्भिसिङ, इन्जिन जाँच, ब्रेक तथा टायर परीक्षण र आवश्यक पार्टपुर्जाको मर्मत तथा प्रतिस्थापन सेवा उपलब्ध हुँदै आएको छ । दक्ष प्राविधिक जनशक्तिमार्फत मोटरसाइकलको अवस्था जाँच गरी आवश्यक मर्मतसम्भार गर्ने व्यवस्था मिलाइएको आचार्यले बताए । विशेषगरी आरवाईडी नेपालका बाइक पठाओ र इनड्राइभजस्ता राइड सेयरिङ प्लेटफर्ममा काम गर्ने राइडरले प्रयोग गर्दै आएका छन् । राइडरको आम्दानी नै मोटरसाइकल सञ्चालनसँग जोडिने भएकाले बाइक बिग्रिएर लामो समयसम्म थन्किँदा उनीहरूको दैनिक कमाइ प्रभावित हुने गर्छ । यही समस्यालाई मध्यनजर गर्दै कम्पनीले आफ्नै वर्कसप स्थापना गरेको आचार्यको भनाइ छ । वर्कसप सञ्चालनसँगै कम्पनीले प्राविधिक क्षेत्रमा रोजगारी सिर्जना गर्नसमेत सफल भएको छ । आचार्यका अनुसार ग्यारेजमा पाँच जना मेकानिकसहित प्राविधिक तथा अन्य कर्मचारी गरी करिब ११ जनाले रोजगारी पाएका छन् । सुरुवातमा आफ्नै कम्पनीका बाइकको सर्भिसिङमा केन्द्रित रहेको ग्यारेजलाई अहिले व्यावसायिक सर्भिसिङ सेन्टरका रूपमा विस्तार गर्ने योजना बनाइएको छ । आरवाईडी नेपालका बाइकलाई प्राथमिकतामा राखेर सेवा सञ्चालन भइरहेको भए पनि अन्य ग्राहकका मोटरसाइकलको सर्भिसिङ पनि विस्तार गरिँदै लगिएको आचार्यले बताए । यसका साथै एसटीआर ग्यारेजले इनड्राइभसँग साझेदारीसमेत गरेको कम्पनीले जनाएको छ । राइड सेयरिङ क्षेत्रमा आबद्ध चालकलाई आवश्यक मर्मतसम्भार तथा सर्भिसिङ सेवा सहज बनाउने उद्देश्यले यस्तो सहकार्य अघि बढाइएको बताइएको छ । आरवाईडी नेपालले आगामी दिनमा बाइक भाडा सेवाको दायरा विस्तार गर्ने योजना पनि बनाएको छ । हाल मोटरसाइकल मात्र भाडामा उपलब्ध गराउँदै आएको कम्पनीले भविष्यमा स्कुटरसमेत ल्याउने तयारी गरेको आचार्यले जानकारी दिए । त्यसैगरी, सेवा विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा पनि वर्कसप तथा सेवा केन्द्र सञ्चालन गर्ने कम्पनीको योजना छ । विशेषगरी भक्तपुर र ललितपुरमा शाखा विस्तार गर्ने सम्भावनाबारे कम्पनीले योजना बनाएको आचार्यले बताए । रेन्टल बाइक व्यवसायमा सवारी साधनको अवस्था र उपलब्धता नै सेवाको निरन्तरतासँग जोडिएको हुन्छ । बाइक बिग्रिएर लामो समय थन्किँदा कम्पनीको लगानीसँगै राइडरको आम्दानीसमेत प्रभावित हुन्छ । त्यसैले आफ्नै वर्कसप सञ्चालन गर्नु आरवाईडी नेपालका लागि मर्मतसम्भारको व्यवस्था मात्र नभई सेवा गुणस्तर सुधार र व्यवसाय विस्तारको महत्वपूर्ण आधार बनेको छ । आफ्नै कम्पनीका बाइकको सर्भिसिङबाट सुरु भएको एसटीआर ग्यारेजले अन्य ग्राहकलाई समेत सेवा दिन थालेसँगै छुट्टै अटोमोबाइल सर्भिसिङ व्यवसायका रूपमा स्थापित हुने सम्भावना बढेको छ । आगामी दिनमा सेवा क्षेत्र विस्तार, दक्ष जनशक्ति व्यवस्थापन र गुणस्तरीय सर्भिसिङमार्फत ग्राहकको विश्वास जित्नु ग्यारेजका लागि महत्वपूर्ण हुनेछ ।
आफ्नै रेन्टल बाइकको सर्भिसिङबाट सुरु भएको एसटीआर ग्यारेज, अब अन्य ग्राहकलाई पनि सेवा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






