काठमाडौं । सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदै छ । स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने बताए । अभिभावकहरुले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा समय मिलाएर लगेर ती औषधि खुवाउन उहाँले आग्रह गरे । थापाका अनुसार कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिँदै छन् । सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ । बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि विस २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र विस २०५६ देखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ । रासस
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






