वाशिङ्टन । अमेरिकी वायुसेनाको प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरहरूले अनधिकृत पहुँच बनाएका छन्। यसबाट संवेदनशील सैन्य रणनीति, कर्मचारी विवरण तथा सैन्य सामग्री र आपूर्तिसम्बन्धी ठूलो परिमाणको तथ्यांक जोखिममा पर्न सक्ने तीन जना जानकार व्यक्तिले रोयटर्सलाई बताएका छन्। प्रणाली स्तरोन्नतिको काम भइरहेका बेला करिब एक महिनाअघि क्लाउड वनमा साइबर आक्रमण भएको पत्ता लागेको तीमध्ये दुई जनाले बताए। उनीहरूका अनुसार यस घटनाले प्रणालीका विभिन्न सेवामा अवरोधसमेत सिर्जना गरेको छ। ह्याकर को हुन्, उनीहरूले प्रणालीमा कति पहुँच बनाए वा कुनै तथ्यांक चोरी गरे कि गरेनन् भन्नेबारे भने रोयटर्सले पुष्टि गर्न सकेको छैन। रोयटर्सलाई दिएको प्रतिक्रियामा अमेरिकी वायुसेनाले भनेको छ, ‘हामी निश्चित नेटवर्क तथा प्रणालीको सुरक्षा अवस्था, कमजोरी वा सञ्चालन स्थितिबारे टिप्पणी गर्दैनौं। वायुसेना विभागका सूचना, प्रणाली र सैन्य कार्यक्षमता सुरक्षित राख्न हामी निरन्तर आवश्यक सावधानी अपनाउँछौं।’ सबै सेवाका लागि एउटै प्रणाली सन् २०१७ मा सुरु गरिएको क्लाउड वन अमेरिकी वायुसेनाका सूचना प्रविधिसम्बन्धी आवश्यकता पूरा गर्ने एकीकृत प्रणालीका रूपमा विकास गरिएको थियो। माइक्रोसफ्ट, अमेजन, ओराकल र अल्फाबेट गरी चार कम्पनीका स्रोत तथा प्रविधि एकै ठाउँमा जोडेर यसमार्फत दर्जनौं एप्लिकेसन सञ्चालन गर्ने उद्देश्य राखिएको थियो। ती एप्लिकेसनले कर्मचारीको विवरण र तलबदेखि सैन्य सामग्रीको आपूर्ति तथा मर्मत सम्भारसम्मका काम व्यवस्थापन गर्छन्। तीमध्ये वायुसेनाको ‘क्लाउड बेस्ड कमान्ड एन्ड कन्ट्रोल’ प्रणालीले उत्तर अमेरिकाभरका हवाई प्रतिरक्षा राडार तथा अन्य स्रोतबाट प्राप्त तथ्यांक एकीकृत गर्छ। त्यस्तै, ‘थिएटर इन्टिग्रेटेड कम्ब्याट म्युनिसन्स सिस्टम’ ले विश्वभरका अमेरिकी वायुसेनाका २ सय भन्दा बढी स्थानमा रहेका बम तथा क्षेप्यास्त्रको विवरण राख्छ। सन् २०२६ सम्म क्लाउड वनको मुख्य ठेक्का एसएआईसीसँग थियो। त्यसपछि लिडोसले उक्त जिम्मेवारी लिएको हो। एसएआईसीले रोयटर्सको प्रतिक्रियाका लागि गरिएको आग्रहको जवाफ दिएन। लिडोसले भने प्रश्नहरू अमेरिकी वायुसेनातर्फ पठाएको थियो। दुई जना स्रोतका अनुसार क्लाउड वन अमेरिकी सेनाका सबैभन्दा ठूला क्लाउड कम्प्युटिङ प्रणालीमध्ये एक हो। ‘यहाँ सुरक्षा उल्लंघन हुनु निकै गम्भीर कुरा हो,’ स्रोतहरूमध्ये एकले भने। क्षतिको आकलन गर्न अमेरिकी सेनाको साइबर सुरक्षा निकाय साइबर कमान्डलाई अनुसन्धानमा संलग्न गराइएको एक स्रोतले बतायो। साइबर कमान्डले यसबारे टिप्पणीका लागि गरिएको आग्रहको जवाफ दिएन। विभिन्न सेवामा अवरोध साइबर आक्रमण पत्ता लागेपछि प्रणालीका विभिन्न सेवामा अवरोध आएको छ। लामो समयदेखि सेनाको प्राथमिकतामा रहेको कार्यालय सञ्चालनसम्बन्धी एप्लिकेसनहरू क्लाउड वनमा सार्ने काम रोकिएको दुई स्रोत र घटनाबारे जानकार अर्का एक व्यक्तिले बताए। क्लाउड वनमा पहिल्यै सञ्चालनमा रहेका एप्लिकेसनमा अद्यावधिक गर्नसमेत रोक लगाइएको छ। यसले अमेरिकी वायुसेनाका कर्मचारीलाई सफ्टवेयरका कमजोरी सच्याउनबाट रोकेको छ। यस्तो बेला प्रविधि क्षेत्रमा नयाँ चरणका गम्भीर सफ्टवेयर कमजोरी सार्वजनिक भएका छन्। अर्का एक स्रोतका अनुसार केही प्रयोगकर्ताको प्रशासकीय पहुँचसमेत खोसिएको छ। यी पाँचै जना स्रोतले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा रोयटर्ससँग कुरा गरेका हुन्।एक स्रोतका अनुसार ह्याकरहरूले सफ्टवेयरको कमजोरीको फाइदा उठाएर प्रणालीको ‘कन्ट्रोल प्लेन’ सम्म पहुँच बनाएका थिए। उक्त स्रोतले कन्ट्रोल प्यानललाई सबै उपकरण नियन्त्रण गर्न सकिने एउटै रिमोटसँग तुलना गरे। यसमा पहुँच पाएपछि आक्रमणकारीले सैन्य विमानको सञ्चालन अवस्था वा पार्टपुर्जाको आवागमनसमेत निगरानी गर्न सक्ने सैद्धान्तिक सम्भावना हुन्छ। तर यस घटनामा ह्याकरहरूले त्यस्तो पहुँच प्रयोग गरे वा गरेनन् भन्ने स्पष्ट भइसकेको छैन।ह्याकरहरूले प्रयोग गरेको सफ्टवेयरको कमजोरी कुन थियो भन्ने पहिचान गर्न रोयटर्सले सकेको छैन। साइबर आक्रमणका शृंखला कृत्रिम बुद्धिमत्ता (एआई) को सहायताबाट हुने साइबर आक्रमणबारे चिन्ता बढिरहेका बेला क्लाउड वनमा भएको घटना सार्वजनिक भएको हो। क्लाउडमा आधारित नेटवर्कका लागि यस्तो आक्रमण विशेष जोखिमपूर्ण हुन्छ। किनभने एआई मोडलले ठूलो क्षेत्रका प्रणालीमा रहेका कमजोरी छिटो पहिचान गर्न सक्छन्। अमेरिकी सरकारले पछिल्लो समय सार्वजनिक भएका कम्तीमा अन्य छ वटा साइबर घटनाको असर पनि सामना गरिरहेको छ। तीमध्ये संघीय अनुसन्धान ब्युरो (एफबीआई) का दुई घटना, पेन्टागनको तथ्यांकमा यसअघि भएको साइबर आक्रमण, गृह सुरक्षा विभागका कर्मचारीको विवरण चुहिएको पछिल्लो घटना, कम्तीमा दुई वटा गुप्तचर निकायलाई प्रभावित पारेको साइबर आक्रमण र अमेरिकी अर्थ मन्त्रालयको प्रणालीमा भएको आक्रमण छन्। क्लाउड वन लामो समयदेखि ह्याकरहरूको निशानामा रहँदै आएको छ। अनलाइन प्रकाशन ‘फेडस्कुप’ मा सन् २०२३ मा प्रकाशित टिप्पणीमा क्लाउड वनका नेतृत्वकर्ताहरूले प्रणालीमा अनधिकृत प्रवेशका ‘असंख्य’ प्रयासलाई विफल पार्दै ‘शतप्रतिशत सफलता दर’ हासिल गरेको दाबी गरेका थिए।‘सुरक्षाको मामिलामा गल्ती गर्ने कुनै ठाउँ हुँदैन,’ क्लाउड वनका नेतृत्वकर्ताहरूले उक्त टिप्पणीमा लेखेका थिए। रोयटर्स
अमेरिकी वायुसेना प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरको पहुँच

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






