काठमाडौं । अभिनेत्री सरिता लामिछानेद्वारा सञ्चालित एभरेष्ट कला केन्द्र, युएसएले तिहार तथा छठ पर्वको अवसरमा अमेरिकाको ओहायोस्थित रेनल्सबर्गमा दीपावली, देउसी-भैलो तथा छठ विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । वेलकम इभेन्ट सेन्टरमा आयोजित कार्यक्रममा बालिकाहरूले नेपाली मौलिक नृत्य तथा देउसी-भैलो प्रस्तुत गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको ओहायो च्याप्टरका अध्यक्ष विजय बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक तथा कलाकार बाबु बोगटीले सांगीतिक प्रस्तुति दिनुभएको थियो । नेपाली चलचित्र तथा टेलिभिजन क्षेत्रमा करिब २५ वर्ष बिताउनुभएकी लामिछानेले अमेरिकामा नेपाली कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सन् २०२५ जुनमा एभरेष्ट कला केन्द्र स्थापना गर्नुभएको हो । हाल केन्द्रमा सयभन्दा बढी बालिका नृत्य तथा सांस्कृतिक प्रशिक्षणमा सहभागी छन् । केन्द्रमार्फत बालबालिकालाई नेपाली मौलिक नृत्यसँगै अनुशासन, समयपालन, आत्मविश्वास र सामूहिक भावनाको विकासमा जोड दिइँदै आएको लामिछानेले बताउनुभयो । उहाँले निकट भविष्यमै केन्द्रमा नेपाली भाषा तथा अभिनयका कक्षा पनि सञ्चालन गर्ने योजना बनाउनुभएको छ । विदेशमा हुर्कंदै गरेका नेपाली बालबालिकालाई भाषा, कला र संस्कृतिसँग जोड्दै नेपाली पहिचानप्रति गर्व गर्ने वातावरण सिर्जना गर्नु केन्द्रको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
अमेरिकामा सरिता लामिछानेको देउसी-भैलो

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






