काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, टक्सार, आपूर्ति, ढुवानी तथा सम्बन्धित सेवा खरिद गर्न पूर्वयोग्यता प्राप्त कम्पनीसँग बोलपत्र माग गरेको हो। आइतबार प्रकाशित सूचनाअनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियाबाट सिक्का छपाइको काम अघि बढाउन लागिएको हो। बोलपत्रदाताले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा राखी एउटै सिलबन्दी खामभित्र पेस गर्नुपर्नेछ। यसअघि सन् २०२६ मार्च १२ मा ‘द राइजिङ नेपाल’मा प्रकाशित सूचनाअनुसार पूर्वयोग्यता प्राप्त कम्पनीले मात्रै बोलपत्र प्रक्रियामा सहभागी हुन पाउनेछन्। सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कालोसूचीमा परेका कम्पनी तथा तिनका सञ्चालक वा लगानीकर्ताले नयाँ कम्पनीमार्फत समेत बोलपत्रमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ। बोलपत्र कागजात खरिद गर्न इच्छुक कम्पनीले डिसेम्बर २८ सम्म थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टक्सार महाशाखामा निवेदन दिन सक्नेछन्। कागजात खरिदका लागि २० हजार रुपैयाँ, १३२ अमेरिकी डलर वा ११८ युरो शुल्क तोकिएको छ। इच्छुक कम्पनीले इमेलमार्फत पनि कागजात प्राप्त गर्न सक्नेछन्। बोलपत्रसम्बन्धी पूर्वबैठक डिसेम्बर ११ मा मध्याह्न १२ बजे मुद्रा व्यवस्थापन विभागमा हुनेछ। बोलपत्र पेस गर्ने अन्तिम समय डिसेम्बर २९ को मध्याह्न १२ बजेसम्म तोकिएको छ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिने राष्ट्र बैंकले जनाएको छ। बोलपत्रको मान्य अवधि पेस गरेको मितिदेखि १२० दिन हुनेछ। यसका लागि कम्तीमा एक लाख २७ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी पेस गर्नुपर्नेछ। उक्त सुरक्षणको अवधि सन् २०२७ मे २८ सम्म कायम हुनुपर्नेछ। बोलपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार राष्ट्र बैंकमा सुरक्षित रहने सूचनामा उल्लेख छ।
५ रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्दै राष्ट्र बैंक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






