काठमाडौं । टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले ‘टाटा बीएस–६ तालिम प्रशिक्षण कार्यक्रम’ सुरु गरेका छन् । नेपालका लागि टाटा जेन्युइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा कार्तिक १५ गतेदेखि सुरु भएको उक्त तालिम कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । देशका विभिन्न १४ स्थानमा आयोजना हुने तालिम हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा, टाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ–घोराही र वीरगञ्जमा सञ्चालन गरिनेछ । तालिममा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक तथा इलेक्ट्रिसियनहरूलाई आधुनिक सवारी प्रविधि र भारत स्टेज–६ (बीएस–६) प्रविधिबारे व्यावहारिक तथा प्राविधिक ज्ञान प्रदान गरिनेछ । प्रशिक्षणमा विद्युतीय प्रणाली, ब्याट्रीको संरचना तथा कार्यप्रणाली, भोल्टेज, करेन्ट, रेसिस्टेन्स, विद्युतीय सर्किट, मल्टिमिटरको प्रयोग तथा स्टार्टिङ र चार्जिङ सिस्टमसम्बन्धी विषय समेटिएका छन् । त्यस्तै, बीएस–६ इन्जिन म्यानेजमेन्ट सिस्टमअन्तर्गत सेन्सर, ईसीयू र एक्टुएटरको कार्यप्रणालीबारे समेत प्रशिक्षण दिइनेछ । यसैगरी, सवारीसाधनको उत्सर्जन नियन्त्रण प्रणालीअन्तर्गत एससीआर तथा एलएनटी सिस्टम, विभिन्न कम्पोनेन्टको पहिचान, रिजेनेरेसन प्रक्रिया र डायग्नोस्टिक टुल्सको प्रयोगमार्फत प्राविधिक समस्या पहिचान तथा समाधान गर्ने सीप प्रदान गरिने कम्पनीले जनाएको छ । तालिमले टाटा गुरुहरूलाई नवीनतम सवारी प्रविधिसँग परिचित गराउनुका साथै मर्मतसम्भारमा देखिने प्राविधिक समस्या समाधान गर्ने क्षमता र व्यावसायिक दक्षता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
१४ स्थानमा टाटा गुरुहरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



.jpg)


