काठमाडौं । माओवादी जनयुद्धका क्रममा चर्चित गोरखा जेल ब्रेक गरेर चर्चामा आएकी उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ । मंगलबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा दुई पार्टीबीच एकता सहमतिमा हस्ताक्षर भएको हो । एकता सहमतिमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेकपाकी महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन् । २०६९ सालमा तत्कालीन एकीकृत नेकपा (माओवादी) विभाजन हुँदा भुजेल मोहन वैद्य ‘किरण’ नेतृत्वको समूहमा लागेकी थिइन् । त्यसपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अघि बढाएको एकीकृत क्रान्तिमा पनि उनी सक्रिय सहभागी भएकी थिइन् । विप्लव नेतृत्वको पुनर्गठित नेकपा (माओवादी)ले असार १ गते उनलाई पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि भुजेलले नेकपा पुनर्गठन गरेकी थिइन् । नेकपा माओवादीबाट अलग भएको १४ वर्षपछि उनी फेरि पुरानै राजनीतिक घरमा फर्किएकी हुन् । जनयुद्धकालमा भुजेल २०५६ साल कात्तिक १३ गते राति संगठनकै कामका सिलसिलामा लमजुङको तान्द्राङबाट पक्राउ परेकी थिइन् । प्रहरीले उनलाई गोरखाको घ्याम्पेसाल हुँदै गोरखा कारागारमा पुर्याएको थियो । गोरखा कारागारमा उनलाई यातना दिइएको थियो । चार दिनसम्म कारागारमा राखेपछि प्रहरीले राति आँखामा कालोपट्टी बाँधेर उनलाई तनहुँ लगेको थियो । त्यसपछि अदालतले तारिखमा छोडे पनि अदालतबाट छुटेलगत्तै प्रहरीले पुनः पक्राउ गरी गोरखा ल्याएको थियो । गोरखा जेलमै रहेका बेला भुजेलसहित पाँच जनाले २०५७ साल चैत १७ गते राति जेल ब्रेक गरी भागेका थिए । यही घटनापछि उनी माओवादी जनयुद्धकी चर्चित ‘जेल ब्रेकर’का रूपमा परिचित भएकी थिइन् ।
१४ वर्षपछि पुरानै घर फर्किइन् जनयुद्धकी चर्चित ‘जेल ब्रेकर’ उमा भुजेल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






