Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

१३ हिमचुचुराको अवलोकन गर्न सकिने मर्दी पदयात्रा

Share:WhatsAppFacebookX (Twitter)Telegram
१३ हिमचुचुराको अवलोकन गर्न सकिने मर्दी पदयात्रा
Photo / Coverage: केन्द्रबिन्दु

कास्की । छोटो समयमै हिमालको फेदीसम्म पुग्न सकिने, जङ्गलै जङ्गल शान्त वातावरणमा पदयात्रा गर्न पाइने र एकै पदमार्गबाट १३ वटा हिमचुचुराको अवलोकन गर्न सकिने विशेषताले कास्कीको मर्दी हिमाल पदमार्ग लोकप्रिय बनेको छ। पोखराबाट नजिकै रहेको यो पदमार्गमा अन्य कतिपय पदयात्रा मार्गको तुलनामा कम जोखिम छ। छोटो बिदामै हिमाली सौन्दर्यको अनुभव लिन सकिने भएकाले आन्तरिक तथा विदेशी पर्यटक पदयात्रामा आकर्षित छन्। मर्दी हिमाल पदमार्ग व्यवस्थापन समितिका अनुसार पछिल्लो समय दैनिक ६ सयदेखि ७०० जनासम्म पर्यटक यस पदमार्गमा पदयात्राका लागि जाने गरेका छन्। विशेष गरी दसैँ–तिहारको समय र अनुकूल मौसमका कारण पर्यटकको आगमन बढ्दा उनीहरूको आवास तथा अन्य व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन उल्लेख्य बढेको बताए। उनका अनुसार असोजदेखि नै पर्यटकको चाप बढेपछि होटलमा आवास व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ। पर्यटकको संख्या होटलको क्षमताभन्दा बढी हुँदा कतिपयलाई टेन्ट तथा डाइनिङ हलमा समेत राख्नुपर्ने अवस्था आएको उनले बताए। मर्दीको हाइक्याम्पमा १४ वटा होटल सञ्चालनमा छन्। प्रत्येक होटलमा २५ भन्दा बढी शैंया राख्न नपाइने व्यवस्था रहेकाले मुख्य पर्यटकीय याममा पर्यटकले सहजै बास नपाउने समस्या देखिएको छ। “मर्दीमा अघिल्लो वर्षभन्दा यस पटक पर्यटक धेरै आउनु भएको छ। फरेष्ट क्याम्पमाथिका सबै होटल भरिभराउ हुँदा थप पर्यटक राख्न सक्ने अवस्था छैन। यस्तो अवस्थामा पर्यटकले असुविधा भोग्नुपर्दा मर्दीका बारेमा नकारात्मक सन्देश जाने हो कि भन्ने चिन्ता लाग्ने गरेको छ,” अध्यक्ष तामाङले भने। मर्दी हिमाल पदमार्ग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्दछ। एक्यापले होटल तथा कोठाको संख्या निश्चित गरेकाले पर्यटकीय याममा पर्यटकको चापअनुसार आवास व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ। पर्यटकको बढ्दो आकर्षणलाई कायम राख्दै उनीहरूलाई सहज सेवा दिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने अध्यक्ष तामाङको भनाइ छ। माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल पदमार्ग पोखराबाट नजिकै रहेकाले छोटो समयमै हिमाली क्षेत्रको अनुभव लिन चाहने पर्यटकका लागि उपयुक्त गन्तव्य हो। माछापुच्छ्रेको गाउँपालिकाको घलेल, कालीमाटी र सिदिङ तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट तीनदेखि चार दिनमा यो पदयात्रा पूरा गर्न सकिन्छ। जङ्गल, गुराँसे वन, अग्ला पहाड र खुला डाँडाकाँडा हुँदै अघि बढ्दा पदयात्रीले मर्दी हिमालसँगै माछापुच्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम र गङ्गापूर्णलगायत हिमालको मनोरम दृश्य अवलोकन गर्न पाउँछन्। पदयात्राका क्रममा फेरिइरहने प्राकृतिक दृश्य, चिसो हावापानी र शान्त वातावरणले यस क्षेत्रको आकर्षण थप बढाएको छ। आन्तरिक पर्यटक नारायण कँडेलका अनुसार मर्दी हिमाल पदमार्गको मुख्य विशेषता छोटो समयमै हिमालको नजिक पुगेर प्राकृतिक सौन्दर्यको आनन्द लिन पाउनु हो। “यहाँको शान्त वातावरण र मनोरम दृश्यले पदयात्रालाई निकै रमाइलो बनाउँछ। छोटो समयमै हिमाली क्षेत्रको अनुभव लिन पाउनु यसको विशेषता हो,” उनले भने। समुद्री सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा रहेको मर्दी हिमाल आधार शिविर यस पदयात्राको मुख्य आकर्षण हो। फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प हुँदै आधार शिविर पुग्ने पदयात्रीले यात्राभरि हिमाली दृश्यको आनन्द लिन पाउँछन्। विशेष गरी बिहान सूर्योदयका समयमा हिमालमा देखिने सुनौलो दृश्य पर्यटकका लागि अविस्मरणीय बन्ने गरेको छ। मर्दी हिमालको भ्रमणमा रहेकी पर्यटक निकिता कार्कीले यहाँको प्राकृतिक सुन्दरता र पदयात्राको अनुभवले आफूलाई आकर्षित गरेको बताइन्। “मर्दी हिमालको प्राकृतिक सुन्दरता निकै आकर्षक छ। पदयात्राका क्रममा देखिने हिमाल र यहाँको वातावरणले थकान पनि बिर्साइदिन्छ,” उनले भनिन्। इटलीबाट आएका पर्यटक इन्ट्राले पनि मर्दी हिमालको प्राकृतिक वातावरण र हिमाली दृश्य निकै आकर्षक रहेको बताए। पदयात्राका क्रममा देखिने हिमाल र शान्त वातावरणले आफूलाई विशेष अनुभव दिएको उनको भनाइ छ। पर्यटकको बढ्दो आगमनले पदमार्ग आसपासका बस्तीमा आर्थिक गतिविधि समेत विस्तार हुँदै गएको छ। होटल, रेस्टुरेन्ट, चिया पसल तथा अन्य पर्यटनसम्बन्धी व्यवसायमा चहलपहल बढेसँगै स्थानीयवासीले रोजगारी र आम्दानीका अवसर प्राप्त गरेका छन्। विशेष गरी लो क्याम्प, हाइक्याम्प तथा आसपासका क्षेत्रमा सञ्चालित होटल व्यवसाय पर्यटकको आगमनबाट लाभान्वित भएका छन्। हाइक्याम्पस्थित होटल व्यवसायी कविता अर्याल गौतमका अनुसार पछिल्लो समय मर्दी हिमाल आउने पर्यटकको संख्या बढ्दै गएको छ। “पर्यटकको आगमन बढ्दा होटल व्यवसायसँगै स्थानीयको आम्दानी र रोजगारीका अवसर पनि बढेका छन्। यसले यहाँका पर्यटन व्यवसायीलाई थप उत्साहित बनाएको छ,” उनले भनिन्। प्राकृतिक सौन्दर्य र साहसिक पदयात्राका लागि उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको मर्दी हिमालमा पर्यटकको आकर्षणसँगै संरक्षण र व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। पर्यटकको बढ्दो चापलाई दृष्टिगत गर्दै पदमार्गको स्तरोन्नति, फोहोर व्यवस्थापन, सरसफाइ, पर्यटक सूचना प्रणाली तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनु पर्नेमा व्यवसायीले जोड दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मी पूजाको रात झिलिमिली काठमाण्डु
Latest NewsJust now

लक्ष्मी पूजाको रात झिलिमिली काठमाण्डु

काठमाण्डु – हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आईतबार लक्ष्मी पूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ। लक्ष्मी पूजाको अवसरमा काठमाण्डु उपत्यका झिलिमिली बनेको छ। धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले सजावट गरिएपछि उपत्यकाका […] ...

काठमाण्डुपाटी
कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, भोटेकोसी बाढीलाई उदाहरण बनाएर क्षतिपूर्ति माग
Latest NewsJust now

कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, भोटेकोसी बाढीलाई उदाहरण बनाएर क्षतिपूर्ति माग

नेपालले ठूलो मात्रामा जलवायु वित्तको परिचालन हुनुपर्ने, जलवायु जन्य नोक्सानीमा नेपालले क्षतिपूर्ति पाउनुपर्ने, विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्नुपर्ने अडान सहित कोप–३१ मा पेस गर्ने ‘पोजिसन पेपर’ तयार गरेको छ।  संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मे... ...

नेपालखबर
राइफलको गोलीसहित राजधानीको कलंकीबाट एक जना पक्राउ
Latest NewsJust now

राइफलको गोलीसहित राजधानीको कलंकीबाट एक जना पक्राउ

काठमाडौँ । थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play