हेटौँडा । तराई–मधेशको मौलिक सांस्कृतिक तथा धार्मिक पर्व छठ पछिल्लो समय पहाडी क्षेत्रमा पनि लोकप्रिय बन्दै गएको छ । मधेशी समुदायको प्रमुख पर्वका रूपमा परिचित छठले हेटौँडामा समेत सामुदायिक उत्सवको स्वरूप लिँदै गएको छ । दसैँ र तिहारको उल्लास सकिएसँगै बागमती प्रदेशको राजधानी हेटौँडास्थित राप्ती खोला किनारमा छठ पर्वको तयारीले तीव्रता पाएको छ । हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोला किनारमा यस वर्ष छठ पूजाका लागि ६५ वटा पण्डाल निर्माण भइरहेका छन् । संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुर र छठ पूजा समारोह समितिको आयोजनामा घाट निर्माण, सरसफाइ, सजावट तथा पूजास्थल व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । आयोजकले यस वर्ष राप्ती तटमा ५० देखि ६० हजारभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरेको छ । संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासका अनुसार सामूहिक पूजाका लागि २० फिट चौडा र सात सय फिट लम्बाइका ६५ वटा पण्डाल निर्माण भइरहेको छ । व्रतालु तथा भक्तजनलाई सहज रूपमा पूजाआजा गर्न टेन्ट र पण्डालको व्यवस्था गरिएको छ । खोलामा आवतजावतका लागि मुख्य र सहायक प्रवेशद्वार निर्माण गरिएका छन् । हेटौँडा बजारको राप्तीरोडदेखि राप्ती पुलसम्म झिलिमिली बत्ती जडान गरेर क्षेत्रलाई आकर्षक बनाउने तयारीसमेत गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसमेत घाट निर्माण तथा व्यवस्थापनमा खटिएका छन् । छठका दिन राप्ती तटमा भक्तजनको ठूलो भीड लाग्ने भएकाले सुरक्षा र आवागमन व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको दासले बताउनुभयो । सूर्यलाई अर्घ्य दिन व्रतालुहरू खोलामा प्रवेश गर्नुपर्ने भएकाले आवतजावत सहज बनाउने व्यवस्था मिलाइएको छ । हेटौँडा अस्पताललगायत स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने तथा भक्तजनका लागि पिउने पानीको व्यवस्था गर्ने तयारी पनि भइरहेको आयोजकले जनाएको छ । हेटौँडामा छठ पर्वको विस्तारसँगै यसको सामाजिक र सांस्कृतिक महत्त्वसमेत बढ्दै गएको छ । केही वर्षअघिसम्म मुख्यतः मधेशी समुदायमा सीमित रहेको यो पर्व अहिले पहाडी समुदायका हिन्दु धर्मावलम्बीले पनि उत्तिकै उत्साहका साथ मनाउन थालेका छन् । एउटै घाटमा विभिन्न समुदायका मानिसको सहभागिताले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सामुदायिक एकताको सन्देश प्रवाह गरिरहेको छ । छठको तयारीसँगै बजारमा पूजासामग्रीको किनमेल पनि बढेको छ । पर्वका लागि आवश्यक केरा, नरिवल, उखु, अदुवा, विभिन्न फलफूल तथा मिठाईको जोहो गर्न व्रतालुहरू जुटेका छन् । बाँस र माटोबाट बनेका पूजासामग्रीको मागसमेत बढेको छ । छठमा चढाइने ठेकुवा, भुसुवालगायत परम्परागत प्रसाद तयार गर्ने चटारो पनि सुरु भएको छ । चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व आज शुक्रबार नहाय–खायबाट सुरु भएको छ । पहिलो दिन व्रतालुहरूले स्नान गरी शुद्ध भोजन ग्रहण गरेर पर्वको सुरुआत गरेका छन् । दोस्रो दिन शनिबार खरना विधि गरिन्छ । यस दिन दिनभर उपवास बसेर साँझ पूजा गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । त्यसपछि रातभर जाग्राम बसेर चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन गरिन्छ । सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वमा वंशवृद्धि, पारिवारिक सुख–शान्ति, आरोग्यता तथा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । छठको अन्तिम दिन सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने मैथिल परम्परा छ । बिहान दिइने उक्त अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घ्यका क्रममा जटासहितको नरिवल, ठेकुवा, भुसुवालगायत मिष्ठान्न परिकार तथा केरा र अन्य फलफूल सूर्यदेवलाई अर्पण गरिन्छ ।
हेटौँडामा छठको रौनक, राप्ती तटमा ६५ पण्डाल तयार हुँदै

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






