काठमाडौं । गैरदलीय स्थानीय सरकार निर्माण अभियानले आगामी स्थानीय तहको निर्वाचन दलीय आधारमा नभई गैरदलीय र स्वतन्त्र रूपमा गराउन माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ । अभियानका प्रतिनिधिहरूले बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय तहको निर्वाचन स्वतन्त्र र गैरदलीय प्रणालीबाट हुनुपर्ने माग गरेका हुन् । ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त कार्कीले अभियानले संविधान, कानुन, निर्वाचन प्रणाली र अभ्यासलाई आधार बनाएर विषय उठाएको भन्दै यसबारे आयोगले अध्ययन तथा छलफल गर्ने बताउनुभयो । उहाँले अभियानले उठाएका विषयमा आयोगले आवश्यक अध्ययन गर्ने र उपयुक्त निष्कर्षमा पुग्न छलफल अघि बढाउने बताउनुभयो । ‘तपाईंहरूले संविधान, कानुन, हाम्रो व्यवस्था र अभ्यास सबै हेरेर यहाँ विषय उठाउनुभएको छ । हामी पनि हेर्छौं, बुझ्छौं र अध्ययन गर्छौं,’ उहाँले भन्नुभयो, ‘विषय उठान भएपछि के गर्दा उपयुक्त हुन्छ भन्नेबारे अघि बढ्नुपर्छ । हामीलाई बल्ल यस विषयमा जानकारी भएको छ । आगामी दिनमा छलफल गर्छौं । आवश्यक परे तपाईंहरूलाई फेरि बोलाउँछौं ।’ गैरदलीय स्थानीय सरकार निर्माण अभियानका संयोजक दिनेश सुवेदीले नेपालको संविधानले स्थानीय तहको निर्वाचन दलीय आधारमा हुनुपर्ने परिकल्पना नगरेको दाबी गर्नुभयो । उहाँले केही ऐन तथा कानुनी व्यवस्थाका कारण स्थानीय तहको निर्वाचन दलीय आधारमा हुँदै आएको उल्लेख गर्दै ती कानुन संशोधन गरेर गैरदलीय निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताउनुभयो । संविधानको मर्म र मान्यताअनुसार स्थानीय तहको निर्वाचन स्वतन्त्र तथा गैरदलीय हुनुपर्ने अभियानको माग रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘गैरदलीय स्थानीय सरकार नेपाली जनताको अधिकारसँग जोडिएको विषय हो । हामीसँग यस अभियानमा थुप्रै साथीहरू पनि हुनुहुन्छ । देशमा छिट्टै स्थानीय निर्वाचन हुँदैछ । स्थानीय चुनाव गैरदलीय र स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता अधिकांश नेपाली जनताको माग हो,’ उहाँले भन्नुभयो । उहाँले संविधानले स्थानीय तहको निर्वाचन दलीय आधारमा गर्ने व्यवस्था नगरेको दाबी गर्दै केही ऐन तथा कानुनी व्यवस्थामार्फत यस्तो निर्वाचन प्रणाली लागू गरिएको बताउनुभयो । ‘केही ऐन तथा कानुनको व्यवस्था गरेर नेपालमा दलीय आधारमा निर्वाचन हुँदै आएको छ । ती कानुन संशोधन गर्न पनि सकिन्छ । त्यसैले कानुन संशोधन गरेर अब गैरदलीय स्थानीय तहको निर्वाचन प्रणाली लागू गर्नुपर्छ भन्ने मागसहित हामीले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाएका हौँ,’ उहाँले भन्नुभयो ।
स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






