काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी रहेकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवाल पक्राउ परेकी छन्। इन्डोनेसिया जान लागेकी उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। पक्राउ परेकी डा. अग्रवाललाई बुधबार भने रिहा गरिएको छ। सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार अदालतमा उपस्थित हुने सर्तमा उनलाई हाजिर जमानीमा छाडिएको हो। जटिल स्वास्थ्य समस्याका कारण उनलाई हाजिर जमानीमा रिहा गरिएको उनले जानकारी दिए। विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल मुख्य प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दामा डा. ज्योति पनि प्रतिवादी रहेकी छन्। उनी दीपेन्द्रकी दिदी हुन्। अनुसन्धानका क्रममा डा. ज्योतिको बैंक खाताबाट दीपेन्द्रको खातामा रकम कारोबार भएको देखिएपछि उनलाई पनि उक्त मुद्दामा प्रतिवादी बनाइएको थियो। उनीविरुद्ध अदालतमा फरार प्रतिवादीका रूपमा मुद्दा पेस गरिएको थियो। यसअघि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल गत कात्तिक १९ गते काठमाडौं जिल्ला अदालतबाट १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवाल विमानस्थलबाट पक्राउ, भोलिपल्टै रिहा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






