कैलाली । सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्री र मन्त्रीहरूको राजीनामा माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । चालु आर्थिक वर्षको बजेटमा अनियमितता तथा बेथिति भएको सरकारका जिम्मेवार पदाधिकारीले नै स्वीकार गरिसकेको भन्दै कांग्रेसले नैतिक जिम्मेवारी लिएर मुख्यमन्त्री र मन्त्रीहरूले राजीनामा दिनुपर्ने माग गरेको हो । शनिबार बसेको प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेसका प्रदेशसभा सदस्य विक्रमसिंह धामीले बजेटमा बेथिति भएको विषय सरकार, अर्थमन्त्री र सभामुखले समेत स्वीकार गरिसकेको बताउनुभयो । यस्तो अवस्थामा नैतिक जिम्मेवारी लिएर मुख्यमन्त्री र मन्त्रीहरूले पदबाट राजीनामा दिनुपर्ने उहाँको माग थियो । धामीले धारणा राखेपछि कांग्रेसका सांसदहरूले बैठकमा नाराबाजी गर्दै राजीनामाको माग गरेका थिए । प्रतिपक्षी दलको अवरोधपछि प्रदेशसभा बैठक स्थगित भएको छ । यसअघि बजेटमा देखिएका विवादित विषय छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय भएको थियो । गत असोज २७ गते बजेट पारित गर्ने क्रममा सभामुख भीमबहादुर भण्डारीले दलीय प्रतिनिधित्वका आधारमा सात सदस्यीय छानबिन समिति गठन गर्ने घोषणा गर्नुभएको थियो । उक्त समितिलाई कात्तिक २० गतेभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको थियो । तर, निर्धारित समयसीमा सकिँदासमेत दलहरूबीच सहमति जुट्न नसक्दा समिति गठन हुन सकेको छैन । छानबिन समिति गठन गर्ने निर्णयसमेत कार्यान्वयन नभएको भन्दै कांग्रेसले सरकारको नैतिक जिम्मेवारीमाथि प्रश्न उठाउँदै आएको छ ।
सुदूरपश्चिम प्रदेशसभामा पनि कांग्रेसको अवरोध, मुख्यमन्त्री र मन्त्रीहरूको राजीनामा माग

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






