काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको कम स्कोरको रोमाञ्चक खेलमा सुदूरपश्चिम रोएल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ । बलरहरूले उत्कृष्ट प्रदर्शन गरेको खेलमा सुदूरपश्चिमले पहिलो संस्करणको विजेता जनकपुरलाई हराउँदै प्रतियोगितामा छैटौँ खेलबाट चौथो जित निकालेको हो । सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रनमै समेटियो । यस जितसँगै ६ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक रहेको शीर्ष स्थानको काठमान्डु गोर्खाजभन्दा सुदूरपश्चिम रनरेटमा पछि छ । जितसँगै सुदूरपश्चिमको प्लेअफ सम्भावना पनि बलियो बनेको छ । यता जनकपुरको भने प्लेअफ यात्रा कठिन बनेको छ । ६ खेलमा चौथो हार बेहोरेको जनकपुर ४ अंकसहित पाँचौँ स्थानमा छ । पहिलो संस्करणको च्याम्पियन जनकपुरलाई अब प्लेअफमा पुग्न बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब बढेको छ ।
सुदूरपश्चिमसँग २७ रनले हार्यो जनकपुर, प्लेअफ यात्रा कठिन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






