काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि निरोशन डिकवेलाको अर्धशतकीय इनिङ्स खेल्नुभयो । डिकवेला ३७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ५९ रनमा अविजित रहनुभयो । रोहित पौडेलले २८ बलमा एक चौकासहित २१ रन बनाउनुभयो । डार्सी शर्ट खाता नखोली आउट हुँदा आसिफ शेखले ४ रन बनाउनुभएको थियो । सुदूरपश्चिमका थारिन्दु रत्नायकेले २ तथा स्कट कुगेलेइन र हेमन्त धामीले एक-एक विकेट लिनुभयो । यसअघि लुम्बिनीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो । सुदूरपश्चिम रोयल्सका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५२ रनको योगदान गर्नुभयो । लामो समय क्रिजमा टिक्नुभएका उहाँले ५१ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काउनुभयो । एनपिएलको तेस्रो संस्करणमा दीपेन्द्रले बनाएको यो तेस्रो अर्धशतक हो । यसअघि, उहाँले पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाजविरुद्ध पनि अर्धशतकीय पाली खेल्नुभएको थियो । सुदूरपश्चिम रोयल्सले पालीको निराशाजनक सुरुवात गरेको थियो । प्रारम्भदेखि नै सुदूरपश्चिमका ब्याटर लुम्बिनी लायन्सका बलरसामू निरीह देखिएका थिए । सुदूरपश्चिमले शुरूआती चार ओभरमै तीन महत्त््वपूर्ण विकेट गुमाइसकेको थियो । सुदूरपश्चिमले पहिलो ओभरको पहिलो बलमै विकेट गुमायो । लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पलम्यानले सुदूरपश्चिम रोयल्सका ओपनर ब्याट्सम्यान जर्ज मन्सेलाई खाता खोल्नुअघि नै बोल्ड गर्नुभएको थियो । सुदूरपश्चिमले तेस्रो ओभरको पाँचौं बलमा अर्को विकेट गुमायो । ट्रम्लम्यानले नै सुदूरपश्चिमका ब्याटर थानुका दबारे (तीन रन)लाई विकेटकिपर निरोशन डिकवेल्लामार्फत् क्याच गराउनुभएको थियो । त्यसपछि, चौथो ओभरको पहिलो बलमा ओपनर ब्याट्सम्यान विनोद भण्डारी (तीन रन) पनि पेभेलियन फर्किउनुभयो । उहाँलाई लुम्बिनीका बलर अभिशेष गौतमले डिकवेल्लामार्फत नै क्याच गराउनुभयो ।त्यसपछि, अप्ठ्यारो स्थितिमा पुगेको सुदूरपश्चिम रोयल्सलाई कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेको साझेदारीले केही राहत दियो । दीपेन्द्र र इशानले चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्नुभयो । चौथो नम्बरमा क्रिज समाल्न आएका इशान ३३ बलमा तीन चौकाको मद्दतले २७ रन बनाउँदै दूर्भाग्यपूर्ण तरिकाले रन आउट हुनुभयो । सुदूरपश्चिम रोयल्सका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । पावरप्लेमा समेत सुदूरपश्चिम रोयल्सले केवल ३.३३ को रन रेटमा रन बनाउन सकेको थियो । शुरूआती ६ ओभरको खेल सकिँदासम्म सुदूरपश्चिम रोयल्सले तीन महत्त्वपूर्ण विकेट गुमाएर २० रनमात्र बनाउन सकेको थियो । लुम्बिनीका बलर रुवेन ट्रम्पलम्यान र शेर मल्लले दुई-दुई विकेट लिनुभयो । अभिशेष गौतम र किशोर महतोले एक-एक विकेट हात पार्नुभयो । लुम्बिनी साविक विजेता र सुदूरपश्चिम दुईपटकको साविक उपविजेता हो । हारका बाबजुत पनि सुदूरपश्चिमले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । एलिमिनेटरमा आज (बुधबार) काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्नेछन् । खेल साँझ ५ बजेबाट शुरु हुनेछ ।
सुदूरपश्चिमलाई हराउँदै डिफेन्डिङ च्याम्पियन लुम्बिनी एनपिएलको फाइनलमा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






