यो वर्षका मुख्य चाडहरूले हामी सामुबाट बिदा लिइसकेका छन् । आजबाट सूर्यको उपासना गर्ने महान् पर्व छठको पनि समापन भएको छ । विशेषगरी तराई क्षेत्रमा भव्यताका साथ मनाइने यो पर्व विगत केही दशकदेखि अन्य समुदायका मानिसहरूका बीचमा लोकप्रिय बन्दै गइरहेको छ । तराईमा बसोवास गर्ने पहाडी मूलका मानिसहरूले पनि छठलाई श्रद्धा र भक्तिका साथ मनाउँदै आएका छन् । पछिल्लो समयमा सबैतिरका मानिस सबैतिर गएर व्यवसाय, पेशा, शिक्षा आर्जन आदि सन्दर्भमा अरू ठाउँमा गएर बस्ने गरेका हुँदा काठमाडौं उपत्यकामा पनि तराई मूलका मानिसहरूको हालका दिनहरूमा बाक्लो उपस्थिति छ । यसका साथै अन्य समुदायका मानिसहरूले पनि छठ पर्वलाई सम्मानका साथ ग्रहण गर्दै गएका हुँदा काठमाडौं उपत्यकाका पोखरी तथा नदी किनारहरूमा छटको व्रत बसी सूर्य उपासना गर्नेहरूको बाक्लो उपस्थिति रहँदै आएको छ । तराई मधेसदेखि पहाड हुँदै हिमालसम्म छठ्को सुवास पुगेको छ । व्रत बस्नुभन्दा अगाडिको दिन भक्तिपूर्वक खरना र ठकुवाको मात्र सेवन गर्ने तथा अघिल्लो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर र छठको दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्वको समापन हुने गरेको छ । छठ पर्वमा मांसाहार नहुने, शुद्ध सहकारी भोजन ग्रहण गर्ने र त्यो पनि निष्ठापूर्वक सावधानीका साथ ग्रहण गर्ने हुँदा यस पर्वलाई श्रद्धा र निष्ठाको सात्विक पर्व मान्ने गरिन्छ । अब छठका साथै शारदीय पर्वहरू सकिएका छन् । दशैँ, तिहार, म्हःपूजा, नेपाल संवत्लगायत पर्वहरूको समापनसँगै अरू पर्वहरू भने अब बिस्तारै आउने गर्छन् । अबको चार महिनासम्म उधौली पर्व, माघी, श्रीपञ्चमी र ल्होसारहरू मनाउने गरिन्छ । यी पर्वहरूलाई पनि सरकारले राष्ट्रिय पर्वका रूपमा मान्यता दिएको छ र ती पर्व मनाउने दिनहरूमा सार्वजनिक बिदा दिने गर्दै आएको छ । दशैँ अघिका विभिन्न अकल्पनीय प्राकृतिक प्रकोप, बाढी पहिरोले गर्दा दशैँ पर्व शोकमा परिणत हुन पुग्यो । तिहारको खुशियाली सकिएर छठ पर्व मनाउन घर फर्किने क्रममा गाडी दुर्घटना परी केही व्यक्तिहरूको दुःखद् निधन हुन पुग्यो । यस्ता प्राकृतिक तथा दुर्घटनाजन्य घटना पटकपटक दोहोरिने गरेका छन् तर यिनलाई बिर्सिएर पनि अब सबैजना आफ्ना दैनिकीमा फर्किनुपर्ने बेला भएको छ । राष्ट्रिय राजनीतिमा पनि अब कुनै प्रकारको असहज परिस्थिति सिर्जना भएको छैन, किनभने एक पार्टीको पूर्णबहुमत भएका कारणले अरू पार्टीहरू जिम्मेवार प्रतिपक्षमा रहनुको विकल्प छैन । हुन त नेपाली राजनीतिमा अकल्पनीय घटनाहरू नै हुँदै आएका छन् । यता केही दिनदेखि केही व्यक्ति र पार्टीहरू सरकार गिराउने अभियानमा लागेका भन्ने हल्ला हुनेगरेको छ तर त्यस्तो सम्भावना देखिँदैन । किनभने जेन–जी विद्रोह जसरी नै कुनै ठूलो आकस्मिक, अकल्पनीय र अनियन्त्रित घटना भयो भने फरक कुरा हो नत्र कुनै अवस्थामा यस सरकारलाई हटाउन सकिने अवस्थाको विद्यमानता छैन । हो, बरू सरकारका कमीकमजोरी केलाउनु र अनियमितता र भ्रष्टाचारजन्य घटनाहरूको चिरफार गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रयास हुनुलाई भने अस्वाभाविक मानिँदैन, किनभने यी हुनैपर्ने कुरा हुन् । नेपालको राजनीतिलाई बिचौलियाहरूले आफ्नो कब्जामा लिएको र राजनीतिक व्यक्तिहरूलाई आफ्नो इसारामा नचाहेको कुरा भने विभिन्न समयमा देखिएका घटनाले पुष्टि गर्दै लगेको छ । पछिल्लो चरणमा इनम सापकोटा नामका व्यक्तिले विभिन्न राजनीतिक व्यक्तिहरूसँग सम्बन्ध स्थापित गरी राजनीतिको बाटो मोड्ने र न्यायलाई दिगभ्रमित बनाउने काम गर्दै आएको देखिएको छ । हुन त यस्ता सन्दर्भ र प्रसंगहरू जुनसुकै युग र समयमा पनि आएकै हुन्, आउँछन् तर तीबाट जिम्मेवारीमा बस्नेहरू प्रभावित हुनु चाहिँ गलत हो । आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारी सम्झेर सबैले काम गर्ने हो भने यस्ता कुनै गतिविधिले नकारात्मक प्रभाव पार्न सक्दैनथे तर हाम्रोमा सुरुदेखि त्यस्तो हुँदै आएको पाइएको छैन । पद, प्रतिष्ठा र पैसाका लागि जसले जस्तोसुकै कार्य गर्न पनि पछि नपरेको देखिएको छ । पृथ्वीनारायण शाहले ‘घुस दिन्या र घुस लिन्या राष्ट्रका शतुर हुन् । यस्ताको जिउ ज्यान गरे पनि कमै हुन्छ’ भनेका थिए । भानुभक्त आचार्यले आफूलाई छिमेकी गिरिधारी भाट नामका व्यक्तिले दिएको मुद्दा र उनलाई लागेको भ्रष्टाचारको आरोपमा न्यायिक निकायमा हाँसो, ठट्टा र मजाकमात्र गर्ने समयमा न्याय निरुपण नगर्ने प्रवृत्तिका विरुद्ध कविता लेखेर राणा सरकारसमक्ष पेश गरेका थिए । उनले ‘भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली’ भनेका थिए । यी उदाहरणहरूबाट त्यस समयमा पनि घुस खाने, घुस दिने र आनो जिम्मेवारीमा ढिलासुस्ती गर्ने प्रवृत्ति रहेछ भन्ने देखिन आउँछ । त्यस्ता कुराहरू त्यस समयदेखि अहिलेसम्म आइपुग्दा कम हुँदै गएर ती समाप्त नै हुनुपर्थ्यो तर ठीकविपरीत त्यसबेलादेखि नै रोपिएका बिउहरू झांगिँदै फैलिँदै र झन्झन् विकसित बन्दै अहिलेको समयसम्म आइपुग्दा विकराल बनेर सम्हाल्नै नसकिने अवस्थामा पुगेका छन् । वर्तमान सरकारले यसतर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता छ । हिजोका सरकारहरूले जसरी मेरो र तेरो मान्छे भनेर होइन जसको मान्छे भए पनि गल्ती गर्नेलाई कानुनको कठघरामा उभ्याउनै पर्छ र दोषीलाई कानुन बमोजिम करबाही गर्नैपर्छ । चाडपर्वले पनि हुनसक्छ हालका दिनमा राजनीतिक घटनाहरू त्यति चर्चामा छैनन् । नेपाली कांग्रेसको अधिवेशन सकिएको छ तर नेपाली कांग्रेसकै असहमत पक्षले महाधिवेशनका विभिन्न प्रक्रिया पूरा गर्दैछ । स्थानीय तह चरणको अधिवेशनहरू समापन गरी जिल्ला अधिवेशनको तयारीमा छ र मानिसको ध्यानाकर्षण भइरहेको देखिन्छ । मिलिजुली सरकार भएका बेलामा तिनीहरूको गठबन्धन र सरकार बनाउने र गिराउने खेलमा सक्रियता बढ्ने थियो तर अहिले त्यस्तो अवस्था छैन । नेपालका राजनीतिक पार्टीहरू अहिले चुप लागेर बसेका छन्, त्यसको कुनै विकल्प पनि छैन । अबको समय भनेको आपसी सद्भाव कायम गरी मेलमिलापपूर्ण वातावरण सिर्जना गरेर रचनात्मक कार्यमा संलग्न हुँदै देशको उन्नति र विकासमा सबै एक भएर लाग्नुपर्ने अवस्था हो । यसतर्फ सबैको ध्यान जाओस् र अबका दिनहरू सुख, समृद्धि र सद्भावका साथ अगाडि बढ्न सकून् । आउँदा दिनहरू द्वन्द्वरहीत सिर्जनशील हुन् । यो हाम्रो पहिलो आवश्यकता हो । सिर्जनात्मक अपेक्षा पनि यही नै हो ।
सिर्जनात्मकताको अपेक्षा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स


_bwmLIOJRof.jpg)



