काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना सिटिजन्स म्युचुअल फण्ड-२ ले आफ्नो सातवर्षे निर्धारित अवधि सफलतापूर्वक पूरा गरी खारेजी प्रक्रिया सम्पन्न गरेको छ । ५६ करोड कोष आकार रहेको उक्त योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएकोमा २०८३ असार २१ गते अवधि पूरा गरी परिपक्व भएको थियो । योजनाले आफ्नो सञ्चालन अवधिभर इकाईधनीलाई वार्षिक नगद लाभांश वितरण गर्दै औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको हो । कम्पनीका अनुसार योजनाको खारेजीसम्बन्धी प्रक्रिया सम्पन्नसँगै इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम वितरण गर्ने कार्यसमेत प्रारम्भ भइसकेको छ । नेपाली धितोपत्र बजारमा विभिन्न समयमा देखिएका उतार-चढाव, बजार मूल्यमा आएको गिरावट तथा चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद योजना निरन्तर प्रतिफल वितरण गर्न सफल हुनु क्यापिटलको व्यावसायिक लगानी व्यवस्थापन क्षमताको महत्त्वपूर्ण उपलब्धि भएको कम्पनीको भनाइ छ । यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड-१ मार्फत् समेत औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गर्न क्यापिटल सफल भएको थियो । सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष व्यवस्थापनमार्फत् लगानीकर्तालाई राम्रो प्रतिफल प्रदान गर्दै व्यवस्थित तथा दीर्घकालीन लगानी संस्कृतिको विकासमा योगदान पुर्याउँदै आएको छ । हाल कम्पनीले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना तथा सिटिजन्स सन्तुलित योजनासहित विभिन्न योजना व्यवस्थापन गरिरहेको जनाएको छ । जसको निरन्तरतास्वरूप कम्पनीले नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना सिटिजन्स सुपर ५० नामक योजना सञ्चालनमा ल्याउने भएको छ । कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त उक्त योजनाको इकाई निष्कासन २०८३ मंसिर २ गतेदेखि सुरु हुने तय गरिएको छ । १० वर्षे अवधि रहेको योजनाको प्रारम्भिक योजनाको आकार एक अर्ब रहेको छ भने माग तथा आवेदनको अवस्थाअनुसार अधिकतम एक अर्ब २५ करोडसम्मको योजना आकार कायम गर्न सकिने व्यवस्था रहेको छ । कम्पनीले आफ्नो सामूहिक लगानी कोष व्यवस्थापन क्षमता तथा सेवाको गुणस्तरका लागि इक्रा नेपालबाट एएमसी क्वालिटी ३ रेटिङ प्राप्त गरेको छ । विगतका सामूहिक लगानी योजनाहरूको व्यवस्थापनबाट हासिल गरेको अनुभव, संस्थागत क्षमता तथा व्यावसायिक दक्षता उपयोग गर्दै सिटिजन्स सुपर ५० योजनाको लगानी व्यवस्थापनलाई समेत व्यवस्थित, अनुशासित तथा व्यावसायिक बनाउने कम्पनीको लक्ष्य रहेको छ ।
सिटिजन्स म्युचुअल फण्ड-२ को १०.४० प्रतिशत लाभांश

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






