सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुको नजर झ्यालबाहिरका दृश्य, सडकको चहलपहल र सवारीभित्र राखिएका विभिन्न विज्ञापनमा पर्नु स्वाभाविक हो । व्यापारिक प्रचारका लागि बस तथा अन्य सार्वजनिक सवारीसाधनमा विज्ञापन राख्ने चलन पनि नयाँ होइन । तर, यात्रुको ध्यान खिच्ने नाममा सार्वजनिक यातायातमा प्राणघातक हतियारको तस्बिरसहितको विज्ञापन राखेको पाइएपछि त्यसले नयाँ प्रश्न जन्माएको छ । नेपाल न्यूज बैंकले काठमाडौंको एक सावर्जनिक बसको पछाडि टाँसीएको तस्बिरको फोटो खिचेको छ । उक्त तस्बिरमा सार्वजनिक यातायातको सवारीसाधनमा एके–४७ राइफलको तस्बिरसहितको विज्ञापन राखिएको देखिन्छ । विज्ञापनमा एके–४७ उल्लेख गरिएको छ । सार्वजनिक यातायातलाई हतियारको प्रचारको माध्यम बनाइनुले विज्ञापनको सीमा र नियमनमाथि प्रश्न उठाएको छ । विज्ञापन बोर्डका पूर्वअध्यक्ष लक्ष्मण हुमागाईं यस्तो विज्ञापन कानुनविपरीत भएको बताउँछन् । उनका अनुसार विज्ञापन नियमन गर्ने ऐन, २०७६ ले नै हातहतियार तथा विस्फोटक पदार्थको उत्पादन, बिक्री वितरण र प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न निषेध गरेको छ । ऐनको दफा ५ को उपदफा १ को खण्ड (घ) मा हातहतियार वा विस्फोटक पदार्थ अथवा नेपालको सुरक्षा, शान्ति र व्यवस्थामा खतरा उत्पन्न गर्न सक्ने अन्य वस्तु वा पदार्थको उत्पादन, बिक्री वितरण, उपयोग तथा प्रयोग गर्न प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नपाइने व्यवस्था छ । ‘तस्बिरमा स्पष्ट रूपमा एके–४७ लेखिएको छ । एके–४७ प्राणघातक हतियार हो । त्यसकारण यस्तो विज्ञापन अवैध छ र तत्काल हटाउनुपर्छ,’ हुमागाईं भन्छन् । उनका अनुसार यस्तो सामग्रीलाई सामान्य विज्ञापनका रूपमा हेर्न मिल्दैन । यसमा विज्ञापन नियमनसम्बन्धी कानुन आकर्षित हुने भएकाले विज्ञापन बोर्डले तत्काल अनुगमन र कारबाही गर्नुपर्छ । यस्तो विज्ञापन राख्ने सार्वजनिक यातायात सञ्चालक र विज्ञापनदातालाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने उनको धारणा छ । सार्वजनिक यातायातमा विज्ञापन राख्दा त्यसको विषयवस्तु र प्रभावबारे पनि ध्यान दिनुपर्ने हुन्छ । किनकि सार्वजनिक सवारीसाधन निजी प्रचारको माध्यम मात्र होइनन्, दैनिक हजारौं यात्रुले प्रयोग गर्ने साझा सार्वजनिक स्थान पनि हुन् । त्यहाँ राखिने सामग्रीले यात्रुको मनोविज्ञानदेखि सडक सुरक्षासम्म प्रभाव पार्न सक्छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि सवारीसाधनमा चालकको ध्यान विचलित गराउने खालका तस्बिर तथा सामग्री राख्न नहुने जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यस्ता सामग्रीले चालकको ध्यान भंग गराएर दुर्घटनाको जोखिम बढाउन सक्छन् । ‘हामीले मातहतका सबै इन्चार्जहरूको बैठकमा यस विषयमा जानकारी गराइसकेका छौं । त्यस्ता सामग्री हटाउन निर्देशन दिएका छौं र अनुगमन पनि भइरहेको छ,’ सुवेदीले भने । एके–४७ राइफलको तस्बिरसहितको विज्ञापनबारे सोध्दा उनले त्यस्ता सामग्री पनि हटाउनुपर्ने बताए । ट्राफिक प्रहरीको निर्देशन पालना नगरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुने उनको भनाइ छ । यसैगरी यस विषयमा नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले सार्वजनिक यातायातमा यस्ता सामग्री राख्न नहुने बताए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा अध्यक्ष सिटौलाले यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा अश्लील शब्द, अनावश्यक विज्ञापन तथा आपत्तिजनक सामग्री नराख्न आग्रह गरे । उनले महासंघले यस विषयमा स्पष्ट धारणा राख्न सक्ने भए पनि प्रत्यक्ष कारबाही गर्ने अधिकार भने सरकारसँग रहेको बताए । ‘त्यस्तो राख्न हुँदै हुँदैन । नेपालभरि नै यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा यस्ता किसिमका विज्ञापन नराख्न आग्रह गर्नुपर्छ,’ उनले भने । सवारीसाधनमा यस्ता सामग्री राखिएको पाइएमा महासंघले के कारबाही गर्छ भन्ने प्रश्नमा उनले महासंघले आग्रह तथा निर्देशन दिन सक्ने तर कारबाही गर्ने निकाय सरकार भएको स्पष्ट पारे । उनका अनुसार ट्राफिक प्रहरीले पनि यस्ता विषयमा आवश्यक कारबाही गर्न सक्छ । एके–४७ जस्ता हतियारको तस्बिर राखिएको विषयमा पत्रकारले त्यसलाई सामान्य अश्लील सामग्रीभन्दा आपराधिक गतिविधिको प्रचारजस्तो देखिएको भन्दै प्रश्न उठाउँदा अध्यक्ष सिटौलाले त्यस्तो सामग्री हटाउनुपर्नेमा आफू स्पष्ट रहेको बताए । ‘मैले एकै शब्दमा भन्नुपर्दा त्यस्तो सामग्री छ भने हट्नुपर्छ, त्यसमा दुईमत छैन,’ उनले भने । एकातिर विज्ञापन नियमन गर्ने निकायले हतियारको प्रचारलाई कानुनी दृष्टिले हेर्नुपर्ने देखिन्छ भने अर्कातिर ट्राफिक प्रहरीले सडक सुरक्षाको कोणबाट अनुगमन गर्नुपर्ने हुन्छ । एउटै विषयमा दुई निकायको जिम्मेवारी जोडिए पनि प्रभावकारी कार्यान्वयनका लागि समन्वय र नियमित अनुगमन आवश्यक छ । सार्वजनिक यातायातमा विज्ञापन राख्ने अभ्यासलाई व्यवस्थित बनाउनु आवश्यक छ । यात्रुको ध्यान खिच्ने उद्देश्यले राखिने सामग्रीले कानुनी सीमा नाघ्नु हुँदैन । आखिर सार्वजनिक सवारीसाधन विज्ञापनको बजार मात्र होइन, सर्वसाधारणको साझा यात्रा स्थल पनि हो । त्यहाँ के देखाउने भन्ने प्रश्न व्यापारिक स्वार्थभन्दा माथि सार्वजनिक हित र सुरक्षासँग जोडिएको छ ।
सार्वजनिक यातायातमा एके–४७ को विज्ञापन : यात्रुको ध्यान तान्ने कि त्रास फैलाउने ?

Read Complete Original Article
Published originally on पर्दाफास






