सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा नेपालका व्यवसायी चन्द्रप्रसाद ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई पर्यटन समितिको संयोजकको जिम्मेवारी दिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेका ढकाल आइएमई समूहका अध्यक्ष हुन् । चन्द्रागिरि हिल्ससहित नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकास, होटल तथा आतिथ्य क्षेत्रमा लगानी र स्वदेशी ‘इला’ होटल चेन ब्रान्डको प्रवर्द्धनमा उनको संलग्नता छ । नवनियुक्त संयोजक ढकालले दक्षिण एसियाको भौगोलिक तथा सांस्कृतिक विविधतालाई विश्व पर्यटन बजारमा स्थापित गर्न सकिने बताएका छन् । सगरमाथासहितका हिमशृङ्खला, हिन्द महासागरका टापु, समुद्री तट, जङ्गल, मरुभूमि तथा धार्मिक र ऐतिहासिक सम्पदाले दक्षिण एसियालाई विशिष्ट पर्यटकीय क्षेत्र बनाएको उनको भनाइ छ । विश्वको करिब एक चौथाइ जनसङ्ख्याको बसोबास रहेको दक्षिण एसिया आफैँमा ठूलो आन्तरिक पर्यटन बजार भएको उल्लेख गर्दै उनले यस सम्भावनाको उपयोग गर्न क्षेत्रीय पर्यटन पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । उनले दक्षिण एसियाका प्रतिष्ठित होटल तथा आतिथ्य ब्रान्डलाई एकअर्काका देशमा विस्तार गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । अन्तरदेशीय लगानीले पुँजीसँगै ज्ञान, सीप र प्रविधिको आदानप्रदानमा समेत सहयोग पुग्ने उनको धारणा छ । नेपालमा पनि सार्क राष्ट्रका लगानीकर्ता र स्थापित होटल चेनलाई पर्यटन पूर्वाधारमा लगानीका लागि आकर्षित गर्न सकिने उनले बताएका छन् । यसबाट नेपाली आतिथ्य क्षेत्रको अनुभवलाई क्षेत्रीय बजारसँग जोड्न मद्दत पुग्ने उनको विश्वास छ । क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘सार्कभित्रै घुमौँ’ अभियान सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । विभिन्न देशका पर्यटकीय गन्तव्य समेटेर साझा पर्यटन सर्किट र प्याकेज निर्माण गर्न सके धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनको आदानप्रदान बढाउन सकिने उनको भनाइ छ । ढकालले क्षेत्रीय पर्यटन विकासका लागि हवाई तथा स्थलमार्गको सम्पर्क विस्तारलाई महत्त्वपूर्ण आधारका रूपमा औँल्याएका छन् । सार्क राष्ट्रका प्रमुख सहरबीच सीधा हवाई तथा स्थल यातायातको पहुँच बढाउन सके पर्यटक, व्यवसायी र लगानीकर्ताको आवागमन सहज हुने उनले बताएका छन् । नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सार्क राष्ट्रका प्रमुख पर्यटकीय गन्तव्यसँग सीधा हवाई सम्पर्कमा जोड्न सके क्षेत्रीय पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने उनको विश्वास छ । यी लक्ष्य पूरा गर्न सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले नीतिगत समन्वय र व्यावसायिक साझेदारी विस्तारमा सार्क चेम्बरजस्ता क्षेत्रीय संस्थाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । समग्र दक्षिण एसियाको पर्यटन विकास र साझा समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको ढकालले बताएका छन् ।
सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल

Read Complete Original Article
Published originally on पर्दाफास






