काठमाडौं । बंगलादेशले साफ च्याम्पियनसिपको १५औँ संस्करणमा भुटानलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । बिहीबार नै भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतले पनि विजयी सुरुआत गरेको हो । बंगलादेशका प्रशिक्षक थोमस डुलीको टोलीलाई भुटानले खेलभर दबाबमा राखेको थियो । खेलको ६४औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मोहम्मद इब्राहिमले पाँच मिनेटभित्रै गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । जयान अहमदको क्रसमा सामित सोमले हेडरमार्फत मिलाएको बललाई इब्राहिमले भली प्रहार गर्दै जाली चुमाएका थिए । त्यही गोल बंगलादेशको जितका लागि निर्णायक बन्यो । खेलअघि भुटानविरुद्ध सहज जित निकाल्ने बंगलादेशी समर्थकको अपेक्षा थियो । तर, एक गोलको जितले उनीहरू सन्तुष्ट हुन सकेनन् । खेलका क्रममा पाएका अवसर सदुपयोग गर्न नसक्दा समर्थकमा निराशा देखिएको थियो । यसअघि नै महँगो टिकट मूल्य र व्यवस्थापनमा देखिएको कमजोरीलाई लिएर बंगलादेशको फुटबल वृत्तमा असन्तुष्टि थियो । बिहीबार नै ढाकामा सुरु भएको प्रतियोगितामा भारतले पाकिस्तानलाई ३–२ ले हराएको हो । समूह ‘बी’ को खेलमा भारतका लागि सुहिल अहमदले दुई गोल गरे भने माङ्गलेनथान किपगेनले एक गोल थपे । पाकिस्तानले खेलको अन्त्यतिर दुई गोल गरेको थियो । नजीव खान र अलागमिर अलिले एक–एक गोल फर्काए । भारत तीन अंकसहित समूहको शीर्ष स्थानमा रह्यो । यो समूहको अर्को टिम माल्दिभ्स रहेको छ । अर्को समूहमा आयोजक बंगलादेश, भुटान र श्रीलंका छन् ।
साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






