भक्तपुर । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताउनुभएको छ । मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्नु महत्वपूर्ण उपलब्धि भएपनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाल संवत वर्ष गणना गर्ने आधार मात्र नभई नेपालको ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक भएको उल्लेख गर्नुभयो । नेपाल संवत्को प्रभावकारी कार्यान्वयनका लागि सरकारले स्पष्ट नीति, आवश्यक बजेट र कार्ययोजना बनाउनुपर्ने उहाँको भनाइ छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले आफ्नो व्यक्तिगत सम्पत्ति जनताको हितमा समर्पण गरी ऋणमा डुबेका सर्वसाधारणलाई ऋणमुक्त गराएको योगदान सामाजिक न्याय र लोककल्याणको अनुपम उदाहरण भएको सभामुख अर्यालले बताउनु भयो । शङ्खधर साख्वाको जीवनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हितमा काम गर्नुपर्ने सन्देश दिएको उल्लेख गर्दै उहाँले उक्त मूल्यलाई आजको राजनीति, प्रशासन र सामाजिक जीवनमा समेत आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । सभामुख अर्यालले नेपाल संवत् आन्दोलनले भाषा, लिपि र संस्कृतिको संरक्षणसँगै लोकतान्त्रिक चेतना अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो । आन्दोलनका अग्रज तथा अभियन्ताहरूको योगदानलाई राज्यले उचित सम्मान गर्नुपर्ने उहाँको भनाइ छ । सभामुख अर्यालले भन्नुभयो, ‘नेपाल सम्वत केवल वर्ष गणना गर्ने आधार मात्र नभई हाम्रो ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको प्रतीक हो । यसका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःले आफ्नो सम्पत्ति जनताको हितमा समर्पण गरी ऋणमा डुबेका सर्वसाधारणलाई ऋणमुक्त गराउनुभएको योगदान सामाजिक न्याय र परोपकारको अनुपम उदाहरण हो । उहाँको जीवनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हितमा काम गर्नुपर्ने प्रेरणा दिएको छ । यस मूल्यलाई आजको राजनीति, प्रशासन र सामाजिक जीवनमा आत्मसात गर्न आवश्यक छ । नेपाल सम्वत आन्दोलनले भाषा, लिपि, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणसँगै लोकतान्त्रिक चेतना अभिवृद्धिमा पनि महत्वपूर्ण योगदान पु¥याएको छ । यसका अग्रज तथा अभियन्ताहरूको योगदानलाई राज्यले उचित सम्मान गर्नुपर्छ । नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिनु महत्वपूर्ण उपलब्धि हो । तर यसको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र तथा डिजिटल प्रणालीमा समेत विस्तार गर्न आवश्यक छ । साथै, शङ्खधर साख्वाःको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र नेपाल भाषा तथा लिपिको संरक्षण गर्न राज्यले प्रभावकारी नीति र कार्यक्रम ल्याउनुपर्छ ।’ उहाँले शङ्खधर साख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन तथा नेपाल भाषा र नेपाल लिपिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । आधुनिक विकाससँगै मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्नु आवश्यक रहेको उल्लेख गर्दै उहाँले विविधताबीचको एकता र सामाजिक सद्भावलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल संवत् ११४७ ले नेपालीबीच नयाँ उत्साह, एकता, समृद्धि र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।
सरकारी कामकाज र डिजिटल प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






