काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले शासकीय अराजकता मच्याएको आरोप लगाएको छ । कांग्रेसले सरकारलाई आफ्ना गलत निर्णय र कार्यशैली सच्याउन, संवैधानिक मर्यादामा फर्कन र विधिको शासन सुनिश्चित गर्न आग्रह पनि गरेको छ । शनिबार केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी महामन्त्री प्रदीप पौडेलले भन्नुभयो, ‘प्रधानमन्त्रीले संसद् छल्ने काम गर्नुभएको छ, त्यसले संसद्को अपमान गरेको छ । शक्ति पृथकीकरणको सिद्धान्तविपरीत कार्यपालिकाले आफ्नो संवैधानिक सीमाभन्दा बाहिर गएर व्यवस्थापिका, संवैधानिक निकाय तथा राज्यका विभिन्न अंगमाथि हस्तक्षेप र नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।’ प्रधानमन्त्री साहले राष्ट्रपति जस्तो गरिमामय संवैधानिक संस्थाको अवमूल्यन गर्ने व्यवहार देखाएको आरोप लगाउँदै महामन्त्री पौडेलले भन्नुभयो, ‘संविधानका अक्षरको मात्र होइन, त्यसको भावना, स्थापित लोकतान्त्रिक परम्परा, संस्थागत मर्यादा र विधि प्रक्रियाको सम्मान गर्नु सरकारको कर्तव्य हो । यो सबैलाई पटक-पटक उल्लंघन गर्नु सामान्य कमजोरी होइन, शासकीय अराजकता हो ।’ संसद्, राष्ट्रपति, संवैधानिक निकाय तथा राज्यका अंगहरूको अवमूल्यन र मानमर्दन गर्ने सरकारको प्रवृत्तिप्रति कांग्रेसले आपत्ति जनाएको छ । प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्श बिना ल्याइएका विभिन्न अध्यादेश तत्काल फिर्ता लिन पनि कांग्रेसले माग गरेको छ । सरकारले गरेका कमीकमजोरी, संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि गरिएको प्रहारको भण्डाफोर गर्ने पनि कांग्रेसले चेतावनी दिएको छ । कांग्रेसले सशक्त प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउने दाबी गर्दै महामन्त्री पौडेलले भन्नुभयो, ‘सरकारले गरेका कमीकमजोरी संवैधानिक व्यवस्थामाथि गरिएको प्रहार, लोकतन्त्रमाथि गरिएको प्रहारको कांग्रेसले भण्डाफोर गर्नेछ । यी विषयलाई संसद्मा सशक्त ढंगले उठाउन केन्द्रीय कार्यसमितिको यो बैठक संसदीय दललाई निर्देश गर्दछ । हामी नागरिकलाई नागरिकको पक्षमा काम गर्नेगरी सबै विषय प्रस्तुत गर्नेछौं ।’ सरकारले गरेका कमीकमजोरी लिएर नागरिकसमक्ष जाने पनि निर्णय भएको जानकारी दिँदै महामन्त्री पौडेलले भन्नुभयो, ‘सामाजिक सञ्जालमार्फत भ्रम छर्ने जुन कोसिस गरिएको छ, त्यो भ्रमलाई हामीले तोड्नेछौं ।’ ‘सरकारको नियतमै खोट’कांग्रेसले निर्वाचनपछि नयाँ सरकार गठन हुँदा प्रारम्भिक चरणमा देखिएका कमजोरीलाई अनुभवको कमी ठानेर संयमता अपनाएको स्मरण गराएको छ । सरकारका पछिल्ला गतिविधि र कार्यशैली हेर्दा अनुभवको कमी वा संयोगमात्र नभई सरकार सञ्चालन गर्ने नेतृत्वको सोच, चरित्र र प्रवृत्तिकै अभिव्यक्ति भएको गम्भीर आशंका उत्पन्न भएको कांग्रेसको ठहर छ । संविधान, लोकतन्त्र, विधिको शासन, राष्ट्रिय स्वाभिमान, अर्थतन्त्र र जनजीविकाका सवालमा सरकार गलत बाटोमा अग्रसर भएको भन्दै त्यसप्रति मौन बस्नु देश र जनताप्रतिको जिम्मेवारीबाट विमुख हुनुसरह हुने कांग्रेसले प्रष्ट पारेको छ । राज्य संयन्त्र र कानुनी प्रक्रियाको चयनात्मक दुरुपयोग भइरहेको विषयमा कांग्रेसले कडा आपत्ति जनाएको छ । कानुनभन्दा माथि कोही नरहेको र अपराधमा संलग्न जोसुकै व्यक्ति कानुनसम्मत प्रक्रिया अनुसार अनुसन्धान तथा कारबाहीको दायरामा आउनुपर्ने भन्दै कांग्रेसले आफ्ना विरोधीलाई फसाउने र निकटस्थलाई उन्मुक्ति दिने ध्याउन्नमा सरकार लागेको आरोप लगाएको छ । भारत भ्रमणको क्रममा सीमाको विषय नउठाएकोमा आपत्तिकांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहको हालै सम्पन्न भारत भ्रमणमा सीमाको विषय नउठेकोमा आपत्ति जनाएको छ । प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि सीमाका विषयमा वर्तमान प्रधानमन्त्रीले देखाएको प्रस्तुतिलाई कांग्रेसले अपरिपक्व र उत्तेजक भनी टिप्पणी गरेको हो । विगतमा लोकप्रियता कमाउनमात्रै ती विषय उठाइएको र त्यो नक्कली राष्ट्रवाद भएको आरोप लगाउँदै महामन्त्री प्रदीप पौडेलले भन्नुभयो, ‘कूटनीतिक संवादमार्फत ती विषयलाई निर्णायक रूपमा उठाउने अवसर पाउँदासमेत छलफलमै प्रवेश नगराई फर्कनुले प्रधानमन्त्रीको दोहोरो चरित्र उदाँगो पारेको छ ।’ कांग्रेसले भ्रमणका क्रममा भएका सहमतिमध्ये भैरहवा हवाई मार्ग ‘बी ३४५’लाई दुईतर्फी सञ्चालन गर्ने सहमतिलाई स्वागतयोग्य उपलब्धि मानेको छ । देउवा समूहलाई कारबाही गर्ने चेतावनीकांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह गरेको छ । देउवा समूहले रूख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह गरेको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले भन्नुभयो, ‘कांग्रेसको नाम, लेटर प्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रूखको अनधिकृत प्रयोगले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्याउनुका साथै आमनागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ ।’ आग्रहविपरित पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन गरे कानुनी प्रक्रियामा जाने चेतावनी दिँदै निर्णयमा भनिएको छ, ‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रुपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुन बमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ ।’ विश्वप्रकाशको प्रश्न : ‘प्रधानमन्त्रीज्यू, उजुरी झुटो हो कि राज्यकै आडमा षड्यन्त्र ?’नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाकी श्रीमतीले मानव अधिकार आयोगमा दिएको उजुरीबारे प्रधानमन्त्री बालेन्द्र साहसँग प्रश्न गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएका शर्माले लेख्नुभएको छ, ‘कांग्रेस सभापति गगन थापालगायत व्यक्तिहरूविरुद्ध बयान दिए छोडिदिने, नत्र फसाइदिने ! इनम सापकोटाकी श्रीमतीको उजुरीमा उल्लेखित विषयको वास्तविकता के हो प्रधानमन्त्रीज्यू ? मानव अधिकार आयोगमा उनले दिएको उजुरी झुटो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरू क्रमशः एकपछि अर्को बन्दैछन् ?’ प्रधानमन्त्रीलाई महामन्त्री पौडेलको प्रश्न, ‘सरकार चलाइरहनुभएको छ कि गुण्डाराज ?’कांग्रेस महामन्त्री प्रदीप पौडेलले जेलभित्र रहेका व्यक्तिलाई धम्की दिएर बयान लिन खोजिएको भन्दै प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको छ । सरकार बनेको आठ महिनाको अवधिमा राज्यसत्ताको दुरुपयोगका घटनाहरू दोहोरिरहेका आरोप लगाउनुभएका पौडेलले प्रधानमन्त्रीलाई सरकार सञ्चालन गरिरहेको हो कि गुण्डाराज भनेर प्रश्न गर्दै भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं सरकार चलाइरहनुभएको छ कि गुण्डाराज गरिरहनुभएको छ ? सरकार यस्तो हुन्छ ? तपाईंको अधीनस्थ, तपाईंको मातहतमा रहेको जेलभित्र कसैलाई ज्यानको धम्की दिएर बयान दिइँदो रहेछ । तपाईंको निर्देशनमा भएको हो कि त्यो भन्नेले आफैं भनेको हो ?’ मोहनबहादुर बस्नेतले महामन्त्रीमा उम्मेदवारी दिनेकांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको महाधिवेशनमा नेता मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणाका क्रममा उहाँले कांग्रेसका पार्टी सभापति गगन थापा पार्टी कब्जा गर्ने शैलीमा अघि बढेको आरोप पनि लगाउनुभएको थियो । त्यसकारणले आफूहरूले अर्को महाधिवेशन गर्नु परेको उहाँको जिकिर छ । देउवा समूहले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा समानान्तर महाधिवेशन गर्दैछ । कांग्रेस देउवा समूहको १५औं महाधिवेशनको तयारी तीव्रनेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औं महाधिवेशनको तयारी तीव्र पारेको छ । देउवा समूहको १५औं केन्द्रीय महाधिवेशनको प्रचारप्रसार तथा सञ्चार व्यवस्थापनका लागि स्थापना गरिएको मिडिया सेन्टर शनिबार शुभारम्भ गरिएको छ । प्रचारप्रसार समितिका संयोजक एवं समूहका प्रवक्ता डा.प्रकाशशरण महतले शनिबार मिडिया सेन्टरको उद्घाटन गर्नुभएको हो । मिडिया सेन्टर शुभारम्भ गर्दै नेता महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ । सामाजिक सञ्जालको प्रभाव र विभिन्न भ्रमका कारण पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पुनः मूलधारमा फर्किन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘हामी आधिकारिक कांग्रेस हौं भनेर मैदानमा निस्किएका छौं । नेपाली कांग्रेसको रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन । सामाजिक सञ्जालको प्रभावमा परेर बहकिनुभएका साथीहरूलाई पनि हामी स्वागत गर्छौं । हाम्रो उद्देश्य एकीकृत पार्टी निर्माण गर्नु हो ।’
सरकारले अराजकता मच्याएको कांग्रेसको आरोप

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





.jpg)
