काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको दुईतिहाइ बहुमत प्राप्त सरकारका काम कारबाहीप्रति आलोचनाको ग्राफ बढ्ने क्रममा छ । गत फागुन १३ गते गठन भएको सरकारप्रति प्रारम्भमा देखिएको आशा र अपेक्षा तीव्र गतिमा क्षयीकरण भइरहेको छ । सरकारप्रति विपक्षी दलहरू कडा बन्दै गएका छन् । गठनको प्रारम्भिक दिनहरूमा सरकारप्रति नरम देखिनुभएका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापाले समेत सरकार स्वेच्छाचारी र हुकुमी शैलीतर्फ अग्रसर भएको आरोप लगाउनुभएको छ । पार्टी कार्यालय सानेपामा आइतबार आयोजित विशेष पत्रकार सम्मेलनमा सभापति थापाले संविधान, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकारले देखाएको पछिल्लो व्यवहारले आफूहरूलाई चिन्तित बनाएको टिप्पणी गर्नुभएको हो । मिडिया हाउसमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने र चौतर्फी विवाद भएपछि उन्मुक्ति दिने सरकारको शैली आपत्तिजनक रहेको टिप्पणी गर्दै सभापति थापाले भन्नुभयो, ‘हामीले जे बोल्यौँ, त्यही नै हुकुम हो र सरकारको इच्छा नै कानुन हो भन्ने सोच जब शासकमा आउँछ, तब देशमा समस्या सुरु हुन्छ । सरकारको यो प्रवृत्तिले साँच्चिकै हामीलाई चिन्तित बनाएको छ ।’ काण्ड र प्रकरणहरूको छानविन निष्पक्ष गर्छ भन्नेमा शंकासरकारले विभिन्न अनुसन्धानको विषयमा निष्पक्ष गर्छ कि गर्दैन ? भन्दै सभापति थापाले प्रश्न उठाउनुभएको छ । विभिन्न काण्ड र प्रकरणहरूको अनुसन्धान निष्पक्ष हुन्छ भन्नेमा प्रश्न उठाउँदै सभापति थापाले भन्नुभयो, ‘काण्ड र प्रकरणहरू सार्वजनिक भएका छन् सबै केलाइयोस् । हाम्रो साथ समर्थन रहन्छ । तर, हाम्रो प्रश्न छ- अनुसन्धान निष्पक्ष हुन्छ ? सेलेक्टिभ भइरहेको छ । अनुसन्धान भइरहेको छ । केही बाहिरिन्छ अनि पब्लिक प्रतिक्रिया के आउँछ भनेर हेरिन्छ । अनि कसरी निष्पक्ष हुन्छ ? अब छानविन समिति पनि के माग्ने ?’ विगतमा गठन भएका विभिन्न छानविन समितिका प्रतिवेदनहरूको खोजी गर्दै सभापति थापाले भन्नुभयो, ‘गृहमन्त्रीको सम्पत्तिबारे प्रश्न उठेपछि छानविन समिति बनेको होइन ? खै त्यसको प्रतिवेदन कहाँ छ ? त्यस्तै भदौ २४ को घटना र सुनसरीको कप्तानगञ्ज घटनाबारे बनेका समितिका प्रतिवेदनहरू अहिले कहाँ छन् ? आफूलाई जे चाहिएको छ, त्यो मात्र प्रयोग गरिएको छ, बाँकी सबै प्रतिवेदनहरू थन्क्याइएको छ । यसरी नागरिकलाई गुमराहमा राखेर सरासर हेप्ने काम भएको छ ।’ स्वेच्छाचारिताले हद नाघ्यो, वक्तव्य होइन परिणाम चाहिन्छ : सभापति थापासभापति थापाले वर्तमान सरकारको स्वेच्छाचारिताले सीमा नाघेको आरोप पनि लगाउनुभएको छ । सरकारका गलत काम कारबाहीप्रति सत्तारूढ दल मौन बसेको टिप्पणी गर्नुभएका थापाले रास्वपाले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै भन्नुभयो, ‘हामी विगतमा गठबन्धन सरकारमा हुँदा पनि सरकारले कुनै नराम्रो काम गरे त्यसको विरुद्धमा प्रष्ट रूपमा आवाज उठाउँथ्यौँ । त्यसबेला रास्वपाका नेता तथा सांसदहरूले कांग्रेसले गल्ती गर्यो, यसको जवाफ दिनुपर्छ भन्नुहुन्थ्यो । तर, आज आफ्नै पार्टी संलग्न रहेको सरकारको हकमा चाहिँ यो विषय किन लागू भएन ?’ रास्वपाले सरकारका गलत कदमप्रति केवल औपचारिक वक्तव्य निकालेर पन्छिन नमिल्ने जिकिर गर्नुभएका थापाले चुनौती दिँदै भन्नुभयो, ‘हामीलाई औपचारिकता निभाउने वक्तव्य होइन, ठोस परिणाम चाहिएको छ । साँच्चिकै निष्ठा बाँकी छ भने रास्वपा संसदीय दलको बैठक बसोस्, त्यहाँ प्रधानमन्त्रीलाई बोलाइयोस्, उहाँलाई स्पष्ट निर्देशन दिइयोस् र त्यो निर्देशन बोकेर कार्यान्वयनमा लगियोस् । हामीले हेर्न चाहेको त्यो हो ।’ हामीले जे बोल्यौँ त्यो नै हुकुम हो भन्ने सरकारको सोच चिन्ताजनकसभापति थापाले सिँचाइ विभागका महानिर्देशकसहितका कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर दबाब दिइएको घटनाप्रति गम्भीर आपत्ति जनाउनुभएको छ । कर्मचारीबाट गल्ती भएको भए कानुनी प्रक्रिया र स्थापित निकायमार्फत अनुसन्धान हुनुपर्नेमा सिधै प्रधानमन्त्री कार्यालयबाट स्वेच्छाचारी शैली अपनाइएको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘एउटा कर्मचारीले नियमविपरीत काम गरेमा त्यसबारे अध्ययन तथा छानविन गर्ने राष्ट्रिय सतर्कता केन्द्र छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । ती निकायलाई छलेर हुकुमी शैली चलाउन मिल्दैन । कर्मचारीले कुनै गल्ती गरे प्रधानमन्त्री कार्यालयमा बोलाएर थुन्ने होइन, सरोकारवाला आधिकारिक निकायबाट विधिसम्मत अनुसन्धान अगाडि बढाउने हो । सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र अर्को योजनाका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको र दबाब दिएको घटना बाहिर आएको छ । यो अत्यन्तै आपत्तिजनक विषय हो ।’ मुलुकको अर्थतन्त्र सही बनाउन नसकेको टिप्पणीसभापति थापाले सरकारले मुलुकको अर्थतन्त्र सही बनाउन नसकेको टिप्पणी गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दलको तर्फबाट सरकारबारे धारणा सार्वजनिक गर्नुभएका थापाले सरकारको ध्यान अर्थतन्त्र सुधार गर्नेमा भन्दा बाहिरी कुरामा भएको टिप्पणी गर्दै भन्नुभयो, ‘अहिले हाम्रो अर्थतन्त्र ठीक छैन । फागुन अगाडि ठीक थियो म भन्दिनँ ठीक थिएन । प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटी दबाबमा छ । यस्तो बेलामा फोकस अर्थतन्त्रमा हुनुपर्ने हैन ? यी सबको कारण विश्वासको संकट हो । सरकारको पोलिसी यस्तो छैन । सब थुरथुर छन् कर्मचारी थुरथर, व्यवसायी थुरथर । शिथिल भएको इकोनोमीलाई तर्साएर हैन भरोसा र विश्वास दिनुपर्ने हो । अहिले गञ्जागोल बनाइदिएर कहीँ कतै केही गर्न सक्दैनौँ ।’ प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुने भनाइसभापति थापाले बलियो सरकार बन्न प्रधानमन्त्री मात्र शक्तिशाली भएर नहुने उल्लेख गर्नुभएको छ । बलियो सरकार बन्नका लागि राज्यका संस्थाहरू, नियम र कानुन बलियो हुनुपर्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘बलियो सरकार भनेको प्रधानमन्त्री बलियो हुनु होइन, संस्थाहरू बलियो बनाउनु हो । नियम र कानुन बलियो बनाउनु हो । ती सबै बलिया भएपछि प्रधानमन्त्री आफैँ बलियो हुन्छन् । सानो समूहले वि आर द स्टेट भन्न थालेको छ । हामीले बोलेको कुरा स्टेट हुँदैन, हुकुम हो । अड्डा अदालत हाम्रो अड्डा हो भन्ने सोच्न थाल्यो ।’ पत्रकार धरपकडबारे गगनको टिप्पणी : ‘पञ्चायती शासनकालको याद दिलायो’सभापति थापाले हालै विभिन्न मिडिया हाउसको समाचार कक्षमा प्रहरी पुगेको र पत्रकार पक्राउको घटनाप्रति आपत्ति जनाउनुभएको छ । सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेको घटनाप्रति आपत्ति जनाउँदै उहाँले भन्नुभयो, ‘मिडिया हाउसहरूमा प्रहरी प्रवेशले पञ्चायती शासनकालको याद दिलाएको छ । विरोध भएपछि पत्रकारहरूलाई छोडिएको हो । विचित्रको विषय बाहिर आएको छ ।’ प्रहरीले यस घटनाबारे दुईपटक विज्ञप्ति जारी गरेको उल्लेख गर्नुभएका थापाले सुरुमा सामान्य विषयमा प्रहरीले आफ्नो काम गरेको भनेको भए पनि शुक्रबार राति जारी गरिएको दोस्रो विज्ञप्तिमा प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको दबाबमा पत्रकारहरू पक्राउ गरिएको उल्लेख भएको बताउनुभयो । प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति लक्षित गर्दै सभापति थापाले व्यंग्यात्मक शैलीमा भन्नुभयो, ‘के अनुमान गर्न सकिन्छ भने केही ठाउँमा साथीहरू बस्नुभयो, पत्रपत्रिकामा आएका समाचारबारे कुराकानी गर्नुभयो । कुराकानी गर्दागर्दै ल केटाहरू हो उठाइदेऊ, उठाइदेऊ केटाहरूलाई आज । यसो नाम हेर, यी आठ-दश जनालाई आजै उठाइदेऊ भनेर फोन गयो र उठाउने काम भयो । लाइक घट्यो, छोडिदेऊ भन्ने कुरा आयो होला, फेरि छोडिदियो । त्यसपछि फेरि अर्को कुरा व्यापक आएपश्चात् विषयान्तर गर्न नयाँ विषय हालिदिऊँ भन्ने कुरा आयो । केही पत्रकार साथी पक्राउ पर्नुभयो, छुट्नुभयो । के अब सकियो ? यहाँ सकिँदैन र सकिनुहुँदैन भन्ने कांग्रेसको धारणा हो ।’ सरकारलाई सभापति थापाका पाँच सन्देश-सत्तारूढ रास्वपाको वक्तव्य होइन, सरकारको जवाफदेहिता चाहिन्छ । -सरकारका राम्रा-नराम्रा दुवै कामको जिम्मेवारी रास्वपाले लिनुपर्छ । -व्यक्तिको इच्छालाई कानुन नठानियोस्, स्वेच्छाचारिता बन्द होस् । -अनियमितता र काण्डहरूको अनुसन्धान निष्पक्ष होस्, छानविन चयनात्मक बन्नुहुन्न । – प्रधानमन्त्री होइन, राज्यका संस्था बलिया बन्नुपर्छ । कांग्रेस संसदीय दलको बैठक आज, लगत्तै विपक्षी दलसँग छलफलविकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज (सोमबार) बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा मिडिया हाउसमा प्रवेश गरेर पत्रकारको गिरफ्तारी, सरकारी आयोजनाका प्रमुखलाई नियन्त्रणमा लिएर ठेक्का रद्द गरिएको घटनालगायत विषयमा बैठकमा छलफल हुनेछ । यस्तै, सर्वोच्चका न्यायाधीशहरूलाई विवादमा तान्ने गरी आएको इनम सापकोटा प्रकरण लगायतबारे बैठकमा छलफल हुनेछ । संसदीय दलको बैठकपछि कांग्रेसले संसद्का विपक्षी दलसँगको बैठक राखेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला स्वेच्छाचारी निर्णयका बारेमा विपक्षी दलको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्ने बताउनुभयो ।
सरकारको नियतमाथि गगनको प्रश्न

Read Complete Original Article
Published originally on हिमालय टाइम्स




