वीरगन्ज । सभामुख डोलप्रसाद (डिपी) अर्याल छठ पर्वका अवसरमा वीरगन्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा आज सहभागी भएका छन् । श्रद्धा र आस्थाको प्रतीकका रुपमा लिइने सांस्कृतिक पर्व छठका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरी परिसरको अवलोकन तथा स्थानीय श्रद्धालुहरूसँग भेट गरे । त्यसैगरी, छठ पर्वका अवसरमा वीरगन्ज महानगरपालिका–१६ स्थित नगवा पोखरीको छठ पूजामा पनि उनी सहभागी भएका थिए । लोकआस्थाको पर्व छठ पर्वका अवसरमा वीरगन्जस्थित पोखरी, नदी, सरोवर तथा जलाशयलगायत छठघाट साजसज्जाले झकिझकाउ गरिएका छन् । वीरगन्जका ऐतिहासिक घडिअर्वा, लाछुमनवा र ‘स्वीमिङ पुल’लगायत छठ घाटलाई साजसज्जासहित सुन्दर बनाइएको छ । खरना मनाई सकिएको छ भने आज अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिइने छ । घडिअर्वा छठघाटमा भारतको कोलकाताबाट आएका कारिगरले विशेष सजावट गरिएको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह कानुले जानकारी दिए । उनका अनुसार घडिअर्वा छठघाटमा पाँच हजार ५०० व्रतालु र हजारौँ दर्शनार्थी आउने अपेक्षा गरिएको छ । त्यसैगरी, घडिअर्वासति अन्य घाटहरुमा सुरक्षाका लागि २४सै घण्टा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
सभामुख अर्याल घडिअर्वा पोखरीको छठ पूजामा सहभागी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






