छैटौँ पुस्ताको मोबाइल नेटवर्क (सिक्सजी) ले सन् २०४० सम्म विश्व अर्थतन्त्रमा थप १.२४ ट्रिलियन अमेरिकी डलर योगदान गर्न सक्ने एक अध्ययनले देखाएको छ। मोबाइल सञ्चालकहरूको विश्वव्यापी संस्था जीएसएमएको प्रतिवेदनअनुसार सिक्सजी प्रविधिको विस्तारबाट विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सन् २०४० सम्म ०.७ प्रतिशत वृद्धि हुन सक्छ। तर आवश्यक फ्रिक्वेन्सी (स्पेक्ट्रम) उपलब्ध नभए यो आर्थिक अवसरको ठूलो हिस्सा गुम्न सक्ने प्रतिवेदनले चेतावनी दिएको छ। पर्याप्त स्पेक्ट्रम उपलब्ध नहुँदा अनुमानित आर्थिक लाभमध्ये ५२० अर्ब डलर अर्थात् करिब ४२ प्रतिशत जोखिममा पर्न सक्ने जीएसएमएको भनाइ छ। प्रतिवेदनअनुसार कृत्रिम बुद्धिमत्ता (एआई), औद्योगिक स्वचालन, रोबोटिक्स, उन्नत मोबाइल ब्रोडब्यान्ड, डिजिटल सेवा तथा स्याटेलाइटमा आधारित कनेक्टिभिटी सिक्सजीबाट आर्थिक लाभ हासिल गर्ने प्रमुख क्षेत्र हुनेछन्। टेलिकम्स डटकमका अनुसार विशेषगरी उत्पादनमूलक उद्योग र वित्तीय सेवा क्षेत्रले सिक्सजी विस्तारबाट बढी लाभ लिन सक्ने अनुमान गरिएको छ। एआई प्रणाली सञ्चालनका लागि आवश्यक कनेक्टिभिटी, औद्योगिक स्वचालन तथा रोबोटिक्स, मोबाइल ब्रोडब्यान्ड र फिक्स्ड वायरलेस एक्सेस, सञ्चारसँगै वस्तु तथा वातावरणको पहिचान गर्न सक्ने प्रविधि र दुर्गम क्षेत्रमा समेत इन्टरनेट विस्तार गर्ने गैरस्थलीय नेटवर्क यसका पाँच प्रमुख आधार हुने प्रतिवेदनमा उल्लेख छ। क्षेत्रगत रूपमा हेर्दा सन् २०४० सम्म ग्रेटर चाइनाले ३९० अर्ब डलर, उत्तर अमेरिकाले २९० अर्ब डलर र यूरोपले २२५ अर्ब डलर बराबरको थप आर्थिक लाभ प्राप्त गर्न सक्ने अनुमान गरिएको छ। स्पेक्ट्रम अभावले लाभ गुम्ने जोखिम जीएसएमएका अनुसार सिक्सजीको आर्थिक सम्भावना उपयोग गर्न सरकारले समयमै पर्याप्त फ्रिक्वेन्सी उपलब्ध गराउनुपर्नेछ। यसका लागि सन् २०३० सम्म कम्तीमा २ गिगाहर्ज मिड-ब्यान्ड स्पेक्ट्रम उपलब्ध गराउनुपर्ने प्रतिवेदनको सुझाव छ। त्यसमा अपर ६ गिगाहर्ज ब्यान्डसँगै ३.५ गिगाहर्ज, ४.५ गिगाहर्ज र ७ गिगाहर्ज ब्यान्डबाट थप क्षमता उपलब्ध गराउनुपर्ने उल्लेख छ। त्यस्तै, ग्रामीण तथा भवनभित्रको नेटवर्क कभरेज विस्तार गर्न ६०० मेगाहर्ज ब्यान्ड पनि सिक्सजीका लागि उपलब्ध गराउनुपर्ने सुझाव दिइएको छ। उपयुक्त अवस्थामा ५०० मेगाहर्ज ब्यान्डलाई समेत विचार गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। यसका अतिरिक्त सरकारले स्पष्ट राष्ट्रिय स्पेक्ट्रम योजना तयार गरी दूरसञ्चार सेवा प्रदायकलाई लगानी तथा नेटवर्क विस्तारको पूर्वयोजना बनाउन सहज वातावरण सिर्जना गर्नुपर्ने जीएसएमएको सुझाव छ। जीएसएमएका नियामकीय प्रमुख जोन गिउस्तीले सिक्सजीलाई विश्व अर्थतन्त्रका लागि १.२४ ट्रिलियन डलरको अवसर भन्दै यसको लाभ प्राप्त गर्न अहिले नै सरकारले स्पेक्ट्रमसम्बन्धी निर्णय लिनुपर्ने बताएका छन्। उनका अनुसार स्पेक्ट्रम मोबाइल नेटवर्क सञ्चालनका लागि आवश्यक प्राविधिक स्रोत मात्र नभई भविष्यको आर्थिक वृद्धिको आधारसमेत हो। सन् २०२७ मा आयोजना हुने विश्व रेडियो सञ्चार सम्मेलन (डब्लुआरसी–२७) मा हुने स्पेक्ट्रमसम्बन्धी निर्णयले पनि सिक्सजीको भविष्य निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। एआईमा आधारित नेटवर्क हुनेछ सिक्सजी अघिल्ला पुस्ताका मोबाइल प्रविधिभन्दा फरक सिक्सजीलाई सुरुदेखि नै एआईमा आधारित नेटवर्कका रूपमा विकास गरिने अपेक्षा गरिएको छ। यसले डाटा आदानप्रदान गर्ने मात्र नभई वरपरको वातावरण पहिचान गर्ने, बुद्धिमत्तापूर्ण निर्णय प्रक्रियालाई सहयोग गर्ने तथा स्थलीय र स्याटेलाइट नेटवर्कलाई एकीकृत गर्ने क्षमता राख्नेछ। यसैबीच, गत महिना अमेरिकी दूरसञ्चार कम्पनी भेरिजोन र स्विडिस प्रविधि कम्पनी एरिक्सनले ७ गिगाहर्ज ब्यान्डमा प्रारम्भिक चरणको सिक्सजी फिल्ड कल परीक्षण गरेको दाबी गरेका थिए। यो व्यावसायिक सिक्सजी सेवा सुरु भएको घोषणा नभई औपचारिक मापदण्ड तय हुनुअघिको प्रविधिगत परीक्षण थियो। परीक्षणमा बाहिरी क्षेत्रमा कल गर्नुका साथै भवनभित्र सिग्नल प्रवेश गर्ने क्षमतासमेत जाँचिएको थियो। यस क्रममा कभरेज, डाटा गति, विलम्बता (ल्याटेन्सी) र नेटवर्क स्थिरतालाई विभिन्न वातावरणमा परीक्षण गरिएको थियो। सिक्सजीको व्यावसायिक विकासका लागि अझै समय लाग्ने भए पनि यस्ता प्रारम्भिक परीक्षणले यसको विकास प्रक्रिया अघि बढिरहेको संकेत गर्छन्। The post सन् २०४० सम्म सिक्सजीले विश्व अर्थतन्त्रमा १.२४ ट्रिलियन डलर योगदान गर्ने अनुमान appeared first on Technology Khabar.
सन् २०४० सम्म सिक्सजीले विश्व अर्थतन्त्रमा १.२४ ट्रिलियन डलर योगदान गर्ने अनुमान

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






