काभ्रे । सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको सम्झना तथा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै काभ्रेपलाञ्चोकको धुलिखेलमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । विश्व सडक दुर्घटना पीडित स्मृति दिवस २०२६ को अवसरमा आइतबार धुलिखेलस्थित सरस्वती बजारमा कार्यक्रम आयोजना गरिएको हो । नासा फाउन्डेसन नेपालको आयोजनामा नेपाल अटोमोबाइल्स एसोसिएसन र नयाँ दिशा क्रियाशील समूहको सहयोगमा सम्पन्न कार्यक्रममा सडक दुर्घटनाबाट प्रभावित परिवारका सदस्य, स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवा तथा सडक सुरक्षा अभियानमा संलग्न व्यक्तिहरूको सहभागिता थियो । ‘रिमेम्बर, सपोर्ट, एक्ट’ अर्थात् ‘सम्झौँ, सहयोग गरौँ र कार्य गरौँ’ भन्ने नाराका साथ हरेक वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबार यो दिवस मनाइन्छ । सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको स्मरण गर्नुका साथै घाइते, प्रभावित व्यक्ति र शोकमा रहेका परिवारप्रति सहानुभूति तथा ऐक्यबद्धता प्रकट गर्नु दिवसको मुख्य उद्देश्य हो । कार्यक्रममा सडक दुर्घटनाबाट प्रभावित परिवारका सदस्य श्याम दर्शन गनेजुलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो । उनले दुर्घटनाका कारण परिवारले भोग्नुपरेको पीडा, पारिवारिक विछोड र त्यसले जीवनमा पारेको प्रभावबारे अनुभव सुनाएका थिए । उनको अनुभवले सडक दुर्घटनाले एक व्यक्तिको जीवन मात्र नभई सिंगो परिवारको खुसी, सपना र भविष्यसमेत प्रभावित बनाउने यथार्थ उजागर गरेको थियो । कार्यक्रममा सहभागीहरूले सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका थिए । दुर्घटनामा घाइते भएका तथा आफन्त गुमाएर शोकमा रहेका परिवारप्रति सहानुभूति र ऐक्यबद्धता पनि व्यक्त गरिएको थियो । युथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धितालले सडक दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना र जिम्मेवार व्यवहार आवश्यक रहेको बताए । सडक सुरक्षा सरकार वा ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको उनको भनाइ थियो । त्यस्तै, नासा फाउन्डेसन नेपालकी संयोजक डा. टीका ढकालले सडक दुर्घटनालाई तथ्यांक वा समाचारका रूपमा मात्र हेर्न नहुने बताइन् । दुर्घटनाले व्यक्तिको जीवनसँगै परिवार, समाज र भविष्यका सम्भावनासमेत प्रभावित पार्ने भएकाले रोकथाम र सचेतनालाई प्राथमिकता दिनुपर्ने उनले उल्लेख गरिन् । उनले सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु हुँदा परिवारका सपना, आशा र खुसीसमेत समाप्त हुन सक्ने भन्दै सडक सुरक्षा अभियानलाई दुर्घटनापछिको शोकमा मात्र सीमित नराखी दुर्घटना हुन नदिन सक्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने बताइन् । सवारी चालक, यात्रु, पैदलयात्री, विद्यालय, स्थानीय सरकार र नागरिक समाज सबैले सडक सुरक्षाप्रति जिम्मेवार बन्नुपर्ने उनको जोड थियो । ट्राफिक नियमको पालना, तीव्र गति नियन्त्रण, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने तथा हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोगमा ध्यान दिनुपर्ने उनले बताइन् । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ३ का अध्यक्ष गणेश आचार्य, स्थानीय समाजसेवी सर्वश्री अधिकारीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो । सहभागीहरूले सडक दुर्घटना न्यूनीकरणका लागि स्थानीय समुदायको सक्रियता, नागरिक सचेतना र सामूहिक पहल आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रमले दुर्घटनाबाट प्रभावित परिवारको पीडा र उनीहरूको सामाजिक तथा भावनात्मक अवस्थाप्रति समाजको ध्यानाकर्षण गराएको आयोजकले जनाएको छ । पीडित परिवारलाई एक्लो महसुस हुन नदिन राज्य, समुदाय र सामाजिक संघसंस्थाले सहयोग तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिइएको थियो । नासा फाउन्डेसन नेपालले सडक सुरक्षा मानव जीवन र मानव अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस्ता अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । स्थानीय तह, विद्यालय, युवा समूह, नागरिक समाज र सरोकारवाला निकायसँग सहकार्य गर्दै सडक सुरक्षा सचेतना अभियान अघि बढाउने फाउन्डेसनको भनाइ छ । कार्यक्रमको अन्त्यमा सडक दुर्घटनामा ज्यान गुमाएका सबैको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । सहभागीहरूले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि आफू पनि सचेत रहने र समुदायमा सडक सुरक्षा अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।
सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा धुलिखेलमा श्रद्धाञ्जली सभा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






