Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

संसद् अधिवेशन बोलाउन विपक्षीको दबाब

Share:WhatsAppFacebookX (Twitter)Telegram
संसद् अधिवेशन बोलाउन विपक्षीको दबाब
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । विपक्षी दलहरूले संघीय संसद् (प्रतिनिधिसभा-राष्ट्रियसभा) को अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दहरूले संघीय संसद्को हिउँदे अधिवेशन (विधेयक अधिवेशन) बोलाउन सरकार र सभामुखको ध्यानाकर्षण गराएका हुन् । संसद्का विषयगत समितिलाई सक्रिय बनाउन र सरकारका काम कारबाहीमाथि निगरानी बढाउन विपक्षी दलहरूले संसद् अधिवेशन आह्वानको माग गरेका छन् । विपक्षी दलहरूले संघीय संसद्को अधिवेशनसमेत यथाशीघ्र आह्वान गर्न माग गर्दै आएका छन् । गत कात्तिक तेस्रो साता नेपाली कांग्रेसको आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले राष्ट्रिय हित, जनजीविका, लोकतन्त्र, संविधान, विपत्पछिको राहत तथा पुनर्निर्माण लगायतका विषयमा संसद्मा छलफल आवश्यक रहेको निष्कर्ष निकालेको थियो । बैठकले समसामयिक विषयमा छलफल गर्न संघीय संसद्को अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको थियो । पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको भनिएका सहमति र सम्झौताबारे छलफल गर्न आवश्यक रहेको भन्दै विपक्षी दलहरूले संसद् अधिवेशन आह्वान गर्न थप दबाब बढाएका छन् । सुरुमा विषयगत समितिको बैठक माग गर्दै विपक्षी दलहरूले बढाएको दबाब अहिले संसद् अधिवेशन आह्वानमा पुगेको छ । केही समयअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गर्दै निवेदन नै दर्ता गराएको थियो । विपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले पनि राज्य व्यवस्था समितिको बैठक माग गर्दै समिति सभापति हरि ढकाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए । प्रतिनिधिसभा नियमावलीको नियम १८१ मा समितिको बैठक स्थगित भएको अवस्थामा छलफल गर्नुपर्ने विषय र कारण खुलाएर समितिका एक चौथाइ सदस्यले सभापतिसमक्ष लिखित अनुरोध गरेमा पाँच दिनभित्र बैठक बस्ने मिति र समय तोक्नुपर्ने व्यवस्था छ । समितिका एक चौथाइ सदस्यले लिखित रूपमा बैठक माग गरेपछि सभापतिले बैठक बोलाउने प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । यो सभापतिको इच्छामा निर्भर रहने सामान्य आग्रह नभई नियमावलीले तोकेको प्रक्रियागत दायित्व हो । राज्य व्यवस्था तथा सुशासन समितिमा सभापति हरि ढकालसहित २७ सदस्य छन् भने सार्वजनिक लेखा समितिमा सभापति भरतबहादुर खड्कासहित २६ सदस्य छन् । दुवै समितिमा बैठक माग गर्न कम्तीमा सात सदस्यको समर्थन आवश्यक पर्छ । एक चौथाइ सदस्यको लिखित अनुरोध प्राप्त भएपछि समिति सभापतिले पाँच दिनभित्र बैठकको मिति र समय तोक्ने व्यवस्था रहेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ । एक चौथाइभन्दा कम सदस्यले पनि बैठक माग गर्दै निवेदन दिनसक्ने तर त्यस्तो निवेदनले पाँच दिनभित्र बैठक बोलाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना नगर्ने उल्लेख गर्दै प्रवक्ता गिरीले भन्नुभयो, ‘समितिको बैठक नबसिरहेको अवस्थामा तत्कालै कुनै विषयमा छलफल गर्न उपयुक्त छ भनेर समितिका एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा पाँच दिनभित्र बैठक तोक्नुपर्ने व्यवस्था नियमावलीमा छ । एक-दुईजना माननीय सदस्यले दिएको यस्तो लिखित अनुरोधलाई सम्बन्धित समिति सचिवालयले दर्ता गरेर अगाडि बढाउँछ । त्यसको व्यहोरा समिति सभापतिलाई जानकारी गराइन्छ । त्यसपछि बैठक बस्ने वा नबस्ने भन्ने कुरा तय हुन्छ ।’ एक चौथाइ सदस्यले बैठक माग गरेपछि पाँच दिनभित्र मिति र समय तोक्नुपर्ने भए पनि बैठक सञ्चालनका लागि भने गणपूरक संख्या आवश्यक हुन्छ । विपक्षीको लिखित निवेदन दिए पनि समिति सभापति ढकालसहितका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू लामो समयका लागि चीन भ्रमणमा गएकाले प्रक्रिया भने अघि बढेन । सभापति ढकालसहितका रास्वपाका सांसद बिहीबार स्वदेश फर्किएका छन् । संसद् अधिवेशन बोलाउनेबारे छलफल भइरहेको छ : सभामुख अर्यालसभामुख डोलप्रसाद (डिपी) अर्यालले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउनेबारे छलफल भइरहेको जानकारी दिनुभएको छ । नेकपा एमाले संसदीय दलका उपनेता पद्माकुमारी अर्याल र प्रमुख सचेतक ऐन महरसँगको भेटमा सभामुख अर्यालले हिउँदे अधिवेशन बोलाउनेबारे छलफल भइरहेको जानकारी दिनुभएको हो । सभामुख अर्याललाई भेट्न अर्याल र महर सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेका थिए । भेटमा समसामयिक राजनीति, संसद्को हिउँदे अधिवेशन एवं संसदीय प्रक्रिया लगायतका विषयमा छलफल भएको एमाले संसदीय दलका उपनेता अर्यालले जानकारी दिनुभएको छ । एमालेका प्रमुख सचेतक महरले संसद्को हिउँदे अधिवेशन बोलाउने विषयमा भइरहेको छलफलबारे सभामुखले जानकारी दिनुभएको उल्लेख गर्दै भन्नुभयो, ‘सभामुखज्यूले यही मंसिर महिनाको अन्तिम हप्तामा संसद्को हिउँदे अधिवेशन बोलाउने बारेमा छलफल भइरहेको बताउनुभएको छ ।’ संघीय संसद्को अघिल्लो अधिवेशन (बजेट अधिवेशन) १६ असोज २०८३ मा अन्त्य भएको थियो । यस्तो छ विधेयकको अवस्थासंघीय संसद् सचिवालयका अनुसार संघीय संसद्का दुवै सदनमा गरी हाल ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेका छन् । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पाँचवटा, अर्थ समितिमा चारवटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकारमा समितिमा तीन/तीनवटा विधेयक छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा दुई/दुईवटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन छ । राष्ट्रियसभाका विषयगत समितिमा भने अहिले कुनै पनि विधेयक विचाराधीन छैन । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा प्रस्तुत हुन बाँकी रहेको एउटा मात्रै विधेयक रहेको छ । राष्ट्रिय सेवा दल विधेयकको सन्देश राष्ट्रियसभामा प्रस्तुत हुन बाँकी रहेको छ । यसबीचमा थप सातवटा विधेयक दर्ता भएका छन् । अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक २०८३ दर्ता भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेबाट लागू हुनेगरी संघीय संसद्को अधिवेशन अन्त्य गर्नुभएको थियो । संसद् अधिवेशन अन्त्य भएपछि थप ६ वटा विधेयक दर्ता भएका हुन् । संसद् अधिवेशन बन्द भएपछि दर्ता भएका थप ६ नयाँ विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा सञ्चालन) (पहिलो संशोधन), भवन (दोस्रो संशोधन) विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक दर्ता भएको छ । त्यस्तै, सभामा प्रस्तुत भएर मात्रै रहेको एउटा विधेयक छ । डिप्लोमा इञ्जिनियरिङ परिषद् विधेयक सभामा विचाराधीन रहेको प्रवक्ता गिरीले जानकारी दिनुभयो । समितिमा छलफल भएर प्रतिवेदन तयार भइसकेका दुईवटा विधेयक रहेका छन् । संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, सर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को समितिले प्रतिवेदन सभामा पेस गरेर सभामा विचाराधीन छ । स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारीस्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले आवश्यक छलफल तथा गृहकार्यपछि स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ । प्रस्तावित संशोधनमा स्वास्थ्य बीमा कार्यक्रमको योगदान संकलन र सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा समेट्ने तथा आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिने विषयलाई प्राथमिकता दिइएको छ । त्यसैगरी, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोष लगायतका निकायमार्फत उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने, बीमा सेवा प्रवाह सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषय पनि प्रस्तावित सुधारमा समेटिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
Latest NewsJust now

डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२... ...

रातोपाटी
भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस
Latest NewsJust now

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस

काठमाडौं । रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार ९१५ जना स्वदेशी नागरिकलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यसैगरी, सातवटा विदेशी नियोगबाट यकिन भई ...

केन्द्रबिन्दु
निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना
Latest NewsJust now

निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ। पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनर्संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो, ... ...

नेपालखबर
आजका लागि कति तोकियो डलर र अन्य विदेशी मुद्राको विनिमयदर
Latest NewsJust now

आजका लागि कति तोकियो डलर र अन्य विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement