काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक पृष्ठभूमि र विभिन्न गैरसरकारी संस्थासँगको सम्बन्धबारे प्रश्न उठाउनुभएको छ। शनिबार शेरबहादुर देउवा पक्षीय कांग्रेसको ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले शर्माको एनजीओ र आईएनजीओसँगको आबद्धताबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभएको हो। शर्माले आफू मन्त्रीसमेत नभएको अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै बस्नेतले उहाँको राजनीतिक भूमिका र विभिन्न संस्थासँगको सम्बन्धबारे प्रश्न उठाउनुभएको थियो। बस्नेतले कांग्रेस सभापति गगन थापा स्वास्थ्यमन्त्री हुँदा भएका भनिएका आर्थिक अनियमितता तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व चयन प्रक्रियासम्बन्धी विषयको समेत निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभयो। पार्टीभित्र आर्थिक चलखेल, बिचौलियाको प्रभाव र सीमित व्यक्तिको नियन्त्रण बढ्दै गएको आरोप लगाउँदै उहाँले व्यवसायीको आडमा पार्टी कब्जा गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘विश्वप्रकाशजीले आफू मन्त्रीसमेत नभएको बताउनुभएको रहेछ। तर उहाँको राजनीतिक पृष्ठभूमि, विभिन्न संस्थासँगको सम्बन्ध र पार्टीभित्रको भूमिकाबारे पनि प्रश्न उठाउन आवश्यक छ। तपाईं कुन एनजीओ, आईएनजीओमा हुनुहुन्छ, हामीलाई थाहा छ।’ बस्नेतले सञ्चारमाध्यममा १८ करोड, ३६ करोड हुँदै ५०–५१ करोड रुपैयाँसम्मका आर्थिक लेनदेनसम्बन्धी कुरा सार्वजनिक भएको उल्लेख गर्दै सम्बन्धित व्यक्तिले त्यसबारे स्पष्ट पार्नुपर्ने बताउनुभयो। उहाँले मधेश प्रदेशको सरकार जोगाउन गएको भन्ने दाबीको विश्वसनीयतामाथि समेत प्रश्न उठाउनुभयो। उहाँले पार्टी कुनै व्यक्तिको निजी सम्पत्ति नभएको भन्दै आर्थिक स्वार्थ र बिचौलियाको प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिनुभयो। उठेका आरोपको निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही गर्नुपर्ने उहाँको भनाइ थियो। बस्नेतले विनोद चौधरी र उमेश श्रेष्ठलगायत व्यवसायीलाई आफ्नो पेसा तथा व्यवसाय सञ्चालन गर्न स्वागतयोग्य रहेको बताउँदै व्यवसायको आडमा पार्टी, अदालत र निर्वाचन आयोगमाथि नियन्त्रण कायम गर्न खोजिए त्यसको प्रतिवाद गर्ने चेतावनीसमेत दिनुभयो।
विश्वप्रकाश शर्मामाथि जितजंग बस्नेतको प्रश्न– ‘तपाईं कुन एनजीओ, आईएनजीओमा हुनुहुन्छ, हामीलाई थाहा छ’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






