काठमाडौं । लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्स १०५ रनमै समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएको हो । कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले १८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । हुसेन तलतले २२ बलमा २ चौका र १ छक्काको मद्दतमा २४ रन जोडे । त्यस्तै गुल्सन झाले १३ रन बनाए । पवन सर्राफले १२ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका दीपेन्द्र रावत खाता नखोली आउट भए । अरिफुल इस्लाम र दीपक डुम्रेले समान ४, नयाँ कप्तान डेभिड मिलरले ५, मार्क वाटले २ र नन्दन यादवले ३ रन बनाए । १५ रनमै चार विकेट गुमाएको कर्णालीका लागि पवन र सोमपालले पाँचौँ विकेटका लागि ४० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर, नियमित अन्तरालमा विकेट गुमाएपछि कर्णाली ठूलो योगफल बनाउन असफल भयो । लुम्बिनीका लागि अभिषेक गौतम, डार्सी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले समान दुई–दुई विकेट लिए । त्यस्तै रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक–एक विकेट हात पारे ।
लुम्बिनीको उत्कृष्ट बलिङ, कर्णाली याक्स १०५ रनमै अलआउट

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






