काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा नियमित रूपमा रैथाने मेला तथा प्रदर्शनी आयोजना गर्नुपर्ने बताउनुभएको छ । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजित तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभामुख अर्यालले रैथाने मेला काठमाडौंमा मात्र सीमित नगरी ठूला बजार भएका देशका विभिन्न शहरमा विस्तार गर्नुपर्ने बताउनुभयो । यस्ता मेलाले दुर्गम क्षेत्रका किसानलाई आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउने अवसर प्रदान गर्नुका साथै स्थानीय उत्पादनको प्रचारप्रसारमा समेत सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँले रैथाने मेलालाई तिहार तथा अन्य चाडपर्वमा मात्र सीमित नगरी शनिबार, आइतबार र सार्वजनिक बिदाका दिनसमेत नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले नै यस्ता मेलालाई प्राथमिकतामा राखेर आयोजना गरे किसान तथा उत्पादकले बजार र उपभोक्तासम्म पहुँच विस्तार गर्न सक्ने उहाँले बताउनुभयो । सभामुख अर्यालले काठमाडौं उपत्यकामा परिचित उत्पादनभन्दा दुर्गम क्षेत्रका मौलिक उत्पादन उपभोक्ताका लागि नयाँ स्वाद र जानकारीको स्रोत बन्न सक्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘रैथाने मेलाहरू सरकारले नै निरन्तर रूपमा सञ्चालन गर्नुपर्छ । जनताका उत्पादनलाई देशभर देखाउन सकियो भने कहाँबाट कस्ता वस्तु आउँछन् भन्ने जानकारी पनि हुन्छ । काठमाडौं उपत्यकामा बस्ने नागरिकका लागि काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र धादिङका उत्पादन त्यति नौला हुँदैनन् । तर, दुर्गम क्षेत्रका उत्पादन आउँदा उपभोक्ताका लागि नयाँ अनुभव हुन्छ । त्यहाँ पनि राम्रा उत्पादन हुने रहेछन् भन्ने जानकारी हुन्छ र किसानका उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्छ ।’ उहाँले खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङलगायत सरकारी निकाय र सञ्चारमाध्यमले किसानका उत्पादनको प्रचारप्रसारमा सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो । किसान उत्पादनमा व्यस्त हुने भएकाले उनीहरूका उत्पादनलाई बजारसम्म चिनाउने जिम्मेवारी सरकार र सम्बन्धित संस्थाहरूले लिनुपर्ने उहाँको भनाइ थियो । तिहार विशेष रैथाने मेलामा करिब २६ वटा स्टल रहेका छन् । मेलाको अवलोकनका क्रममा सभामुख अर्यालले व्यक्तिगत रूपमा करिब सात हजार रुपैयाँ बराबरका सामग्री खरिद गर्नुभएको थियो । मेलामा सहभागी स्टल सञ्चालकहरूले एकै दिनमा ५५ हजार रुपैयाँसम्मको कारोबार गरेको जानकारी दिएको पनि उहाँले बताउनुभयो ।
रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्न सभामुख अर्यालको सुझाव

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






