काठमाडौं । सन् १९९३ मा अमेरिकाको एउटा रेस्टुरेन्टमा ब्रेकफास्ट गर्दै सुरु भएको टेक कम्पनी एनभिडिया आज विश्वको एआई क्रान्तिको केन्द्रमा छ । कुनै समय टाट पल्टिने अवस्थामा पुगेको यही कम्पनी कसरी बन्यो त विश्वकै मूल्यवान् प्रविधि कम्पनी ? यसका संस्थापक जेन्सेन हुआङको संघर्ष, दूरदृष्टि र जोखिम मोल्ने क्षमताबारे तपाईलाई के थाहा छ ? आफैँले ३ दशक लगाएर ट्रिलियन डलरको कम्पनी बनाएका जेन्सेन कसरी भए त एकाएक एनभिडियाबाट बहिर्गमन ? आज तपाईंले ‘च्याटजीपीटी, डिपसिक, ग्रक र क्लड’मा कुनै प्रश्न सोध्नुभयो, एआईबाट तस्बिर बनाउनुभयो वा कुनै एआई प्रणालीले सेकेन्डमै लाखौँ तथ्याङ्क विश्लेषण गर्याे भने त्यसको पछाडि काम गरिरहेको प्रविधिमा एनभिडियाको योगदान हुन सक्छ । विश्वभरका ठूला प्रविधि कम्पनीदेखि अनुसन्धान संस्था र एआई स्टार्टअपसम्म एनभिडियाका चिपमा निर्भर छन् । तर, यो कम्पनीको सुरुवात कुनै विशाल कार्यालय, अत्याधुनिक प्रयोगशाला वा अर्बौं डलरको लगानीबाट भएको थिएन । यसको कथा त अमेरिकाको एउटा सामान्य रेस्टुरेन्टको टेबलबाट सुरु भएको थियो । त्यही टेबलमा बसेर तीन जना कम्प्युटर वैज्ञानिकले एउटा यस्तो कम्पनी खोल्ने सपना देखेका थिए, जसले भविष्यमा विश्वको प्रविधि उद्योग नै परिवर्तन गर्नेछ । ती तीनमध्ये एक थिए जेन्सेन हुआङ । बाँकी दुई क्रिस मालाचोस्की र कर्टिस प्रिम थिए । जेन्सेन हुआङको जन्म सन् १९६३ फेब्रुअरी १७ मा ताइवानको ताइनानमा भएको थियो । उनका बुबा पेट्रोलियम इन्जिनियर र आमा शिक्षिका थिइन् । सानै उमेरदेखि उनको जीवन सहज भने थिएन । उनी ९ वर्षका हुँदा उनका अभिभावकले उनलाई र उनका दाजुलाई अमेरिकाको वासिङ्टन राज्यस्थित टाकोमा पठाएका थिए । त्यहाँ उनीहरू आफन्तसँग बसे । पछि उनलाई केन्टकीस्थित वनाइडा ब्याप्टिस्ट इन्स्टिच्युटमा पढ्न पठाइयो । उनका आफन्तले प्रतिष्ठित बोर्डिङ स्कुल ठानेर पठाएको उक्त संस्था वास्तवमा समस्याग्रस्त बालबालिकालाई अनुशासनमा राख्ने विद्यालय थियो । त्यहाँ उनले कठिन वातावरण, दुव्र्यवहार र अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्यो । विद्यालयको छात्रावासमा सरसफाइ र शौचालय सफा गर्नुपर्ने जिम्मेवारीसमेत उनले निर्वाह गरे । तर, यी अनुभवले उनलाई मेहनत, अनुशासन र आत्मनिर्भर बन्न सिकाए । उनले त्यहीँ आफ्नो विद्यालय शिक्षा पूरा गरे । त्यसपछि ओरेगन स्टेट युनिभर्सिटीबाट विद्युतीय इन्जिनियरिङमा स्नातक गरे । उच्च शिक्षाका लागि उनी प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालय पुगे र सन् १९९२ मा विद्युतीय इन्जिनियरिङमै स्नातकोत्तर गरे र उनको प्रविधि यात्राको जग पनि यहीँबाट तयार भयो । जेन्सेनको जीवनको अर्को रोचक पक्ष के छ भने, पछि उनले स्थापना गरेको कम्पनीको सुरुवाती कथा जोडिएको रेस्टुरेन्टमै उनले किशोरावस्थामा काम गरेका थिए । १५ वर्षको उमेरमा उनले अमेरिकाको डेनिज रेस्टुरेन्टमा काम सुरु गरेका थिए । त्यहाँ उनी भाँडा माझ्ने, टेबल सफा गर्ने र ग्राहकलाई खाना पुर्याउने काम गर्थे । उनले पछि विभिन्न अन्तर्वार्तामा आफूले त्यहाँ डिशवासर, बसब्वाय र वेटरका रूपमा काम गरेको बताएका छन् । आफूले एकैपटक धेरै कप कफी बोक्न सक्ने भन्दै उनले रमाइलो शैलीमा आफ्नो पुरानो कामसमेत सम्झने गरेका छन् । विडम्बना नै भन्नुपर्छ, किशोरावस्थामा भाँडा माझेर काम गरेको त्यही रेस्टुरेन्ट भविष्यमा उनको जीवनकै सबैभन्दा ठूलो व्यावसायिक निर्णयको साक्षी बन्न पुग्यो । सन् १९९० को दशकको सुरुवातमा कम्प्युटर प्रविधि तीव्र गतिमा विकास भइरहेको थियो । विशेषगरी कम्प्युटर गेम र थ्रीडी ग्राफिक्सको बजार विस्तार हुँदै थियो । तर, कम्प्युटरमा वास्तविकजस्तै देखिने थ्रीडी दृश्य तयार पार्न सक्ने शक्तिशाली प्रोसेसरको आवश्यकता थियो । त्यही सम्भावना तीन जना इन्जिनियरले देखे । जेन्सेन हुआङ त्यसबेला एलएसआई लजिक नामक कम्पनीमा काम गर्थे । क्रिस मालाचोस्की र कर्टिस प्रिम भने सन माइक्रोसिस्टम्समा कार्यरत थिए । उनीहरू तीनै जना कम्प्युटर ग्राफिक्स र चिप प्रविधिको भविष्यबारे जानकार थिए । उनीहरू आफैँले नयाँ कम्पनी स्थापना गरेर कम्प्युटरको ग्राफिक्स प्रशोधन गर्ने प्रविधि विकास गर्ने निष्कर्षमा पुगे । तर, कम्पनी कसरी स्थापना गर्ने ? व्यवसाय कसरी चलाउने ? लगानी कहाँबाट ल्याउने ? उनीहरूसँग यी सबै प्रश्नको स्पष्ट उत्तर थिएन । यही क्रममा उनीहरू अमेरिकाको सिलिकन भ्यालीस्थित डेनिज रेस्टुरेन्टमा भेट्न थाले । सन् १९९३ मा त्यही रेस्टुरेन्टको एउटा टेबलमा बसेर तीनै जनाले नयाँ कम्पनी स्थापना गर्ने निर्णय गरे । हुआङ स्वयंले पछि दिएको अन्तर्वार्तामा आफूहरूलाई कम्पनी कसरी चलाउने भन्ने थाहा नभएको स्वीकार गरेका छन् । तर, उनीहरूसँग एउटा स्पष्ट सोच के थियो भने कम्प्युटरमा थ्रीडी ग्राफिक्सलाई अझ वास्तविक र तीव्र बनाउने चिप निर्माण गर्ने । तीनै जनाको यही सोचबाट जन्मिएको थियो ‘एनभिडिया’ । सन् १९९३ अप्रिल ५ मा एनभिडिया औपचारिक रूपमा स्थापना भयो । कम्पनी स्थापना गर्दा उनीहरूले सुरुमा ‘एनभी’ अक्षर प्रयोग गरेका थिए । यसको अर्थ ‘नेक्स्ट भर्सन’ अर्थात् अर्को संस्करण भन्ने थियो । पछि कम्पनीलाई औपचारिक नाम दिनुपर्ने भएपछि उनीहरूले एनभीबाट सुरु हुने शब्द खोज्न थाले । अन्ततः ल्याटिन भाषाको ‘इनभिडिया’ शब्दबाट एनभिडिया नाम बनाइएको थियो । इनभिडियाको अर्थ ईष्र्या वा डाह भन्ने हुन्छ । यसरी सामान्य रेस्टुरेन्टमा जन्मिएको विचारले एनभिडिया नाम पाएको थियो । एनभिडिया स्थापनाको सुरुवाती उद्देश्य कम्प्युटर गेम र मल्टिमिडिया क्षेत्रमा प्रयोग हुने थ्रीडी ग्राफिक्स प्रविधि विकास गर्नु थियो । अर्थात्, आज च्याटजीपीटीजस्ता एआई प्रणालीलाई शक्ति दिने कम्पनीको जन्म एआईबाट होइन, कम्प्युटर गेमलाई अझ आकर्षक बनाउने सपनाबाट भएको थियो । एनभिडियाले सुरुमा एनभी–१ नामको मल्टिमिडिया चिप विकास गर्यो । यसले थ्रीडी ग्राफिक्स, भिडियो र ध्वनिसम्बन्धी काम एउटै चिपबाट गर्ने लक्ष्य राखेको थियो । सन् १९९५ मा सार्वजनिक भएको यो उत्पादनले कम्पनीलाई सेगासँग सहकार्य गर्ने अवसर पनि दिलायो । तर, बजारमा कम्प्युटर ग्राफिक्सका लागि प्रयोग हुने प्रविधिको मानक परिवर्तन भयो । माइक्रोसफ्टले डाइरेक्टएक्स प्रविधि अघि सारेपछि एनभिडियाको पहिलो उत्पादन बजारको आवश्यकताअनुसार कमजोर साबित भयो । सेगासँगको योजनासमेत प्रभावित भयो । यसको परिणाम कम्पनीले ठूलो आर्थिक संकट सामना गर्नुपर्यो । सन् १९९६ सम्म आइपुग्दा एनभिडिया लगभग टाट नै पल्टिने अवस्थामा पुगेको थियो । कम्पनीमा काम गर्ने कर्मचारीको संख्या घटाउनुपर्ने अवस्था आयो । लगानी र भविष्य दुवै अनिश्चित देखिन थाले । तर, हुआङ र उनका सहसंस्थापकले हार मानेनन् । उनीहरूले आफ्नो पहिलो उत्पादनमा भएका कमजोरी स्वीकार गरे र बजारको आवश्यकता बुझेर प्रविधि परिवर्तन गर्ने निर्णय गरे । त्यसपछि एनभिडियाले पोलिगोनमा आधारित ग्राफिक्स प्रविधितर्फ ध्यान केन्द्रित गर्यो । यही रणनीतिक परिवर्तनले कम्पनीलाई पुनः उठ्ने अवसर दियो । सन् १९९७ मा सार्वजनिक भएको रिभा १२८ चिपले कम्पनीलाई नयाँ जीवन दियो । यो उत्पादन बजारमा सफल भएपछि एनभिडियाले आफ्नो भविष्य सुरक्षित गर्ने बाटो भेट्टायो । एनभिडियाको वास्तविक पहिचान निर्माण गर्ने महत्वपूर्ण उपलब्धि भने सन् १९९९ मा आयो । त्यस वर्ष कम्पनीले जिफोर्स २५६ सार्वजनिक गर्यो । यसलाई विश्वको पहिलो ग्राफिक्स प्रोसेसिंग युनिट अर्थात ‘जीपीयू’का रूपमा प्रस्तुत गरिएको थियो । जीपीयू भनेको कम्प्युटरमा ग्राफिक्ससम्बन्धी जटिल गणना तीव्र गतिमा गर्ने विशेष प्रकारको प्रोसेसर हो । सामान्य सीपीयूले विभिन्न किसिमका काम क्रमशः प्रशोधन गर्ने क्षमता राख्छ । तर, जीपीयूले एउटै समयमा धेरै समानान्तर गणना गर्न सक्छ । यही विशेषताले थ्रीडी ग्राफिक्स, भिडियो गेम र पछि कृत्रिम बौद्धिकतासम्बन्धी काममा जीपीयू अत्यन्त उपयोगी बन्यो । सुरुमा यसको मुख्य बजार कम्प्युटर गेम थियो । गेमका दृश्यलाई अझ वास्तविक बनाउने, पात्रको चाल र वातावरणलाई जीवन्त देखाउने तथा उच्च गुणस्तरका ग्राफिक्स निर्माण गर्ने काममा जीपीयूको प्रयोग बढ्न थाल्यो । यससँगै एनभिडिया गेमिङ उद्योगको महत्वपूर्ण कम्पनी बन्यो । तर, जेन्सेन हुआङको सोच गेमिङमा मात्रै सीमित थिएन । उनले जीपीयूलाई कम्प्युटरको ग्राफिक्स बनाउने उपकरणबाट वैज्ञानिक अनुसन्धान र अन्य जटिल गणनाका लागि प्रयोग गर्न सकिने प्रविधिका रूपमा विकास गर्ने दीर्घकालीन योजना बनाएका थिए । यहि योजनालाई चरितार्थ गर्न सन् २००६ मा कम्पनीले कुडा नामक कम्प्युटिङ प्लेटफर्म सार्वजनिक गर्यो । यसले वैज्ञानिक, अनुसन्धानकर्ता र सफ्टवेयर विकासकर्तालाई जीपीयूको समानान्तर प्रशोधन क्षमता प्रयोग गरेर विभिन्न प्रकारका गणना गर्न सहज बनायो । यसअघि जीपीयू मुख्यतः ग्राफिक्स प्रशोधनका लागि प्रयोग हुन्थ्यो । कुडा आएपछि यसको प्रयोग वैज्ञानिक अनुसन्धान, मौसम पूर्वानुमान, औषधि विकास, डेटा विश्लेषण र कृत्रिम बौद्धिकतासम्म विस्तार हुन थाल्यो । यसको सबैभन्दा ठूलो विशेषता के थियो भने, एनभिडियाले चिप मात्रै बेचेन, ती चिपमा आधारित सफ्टवेयर विकास गर्ने वातावरणसमेत निर्माण गर्यो । यसले विकासकर्तालाई एनभिडियाको प्रविधिसँग जोड्यो । विस्तारै कम्पनीको हार्डवेयर र सफ्टवेयर दुवैमा निर्भर रहने ठूलो इकोसिस्टम नै तयार भयो । आज एनभिडियाको बजार शक्तिको एउटा प्रमुख आधार यही कुडा प्लेटफर्म हो । त्यसैगरी सन् २०१२ एनभिडियाको इतिहासमा अर्को महत्वपूर्ण वर्ष बन्यो । त्यस वर्ष एलेक्सनेट नामक न्युरल नेटवर्कले इमेजनेट प्रतिस्पर्धामा उल्लेखनीय सफलता हासिल गर्यो । यसले गहिरो सिकाइ प्रविधिमा जीपीयूको क्षमता कति शक्तिशाली हुन सक्छ भन्ने प्रमाणित गर्यो । एलेक्सनेटको विकासमा एनभिडियाका जीपीयू प्रयोग गरिएको थियो । ठूलो परिमाणमा तस्बिर प्रशोधन गरेर कम्प्युटरलाई वस्तु पहिचान गर्न सिकाउने काममा जीपीयू प्रभावकारी देखियो । यसपछि विश्वभरका अनुसन्धानकर्ताले एआई मोडेल तालिम दिन जीपीयूको प्रयोग बढाउन थाले । एनभिडियाका लागि यो ठूलो अवसर थियो । किनभने, कम्पनीले वर्षौँदेखि विकास गरिरहेको जीपीयू र कुडा प्रविधि अब एआईको भविष्यसँग जोडिन थालेको थियो । तर, त्यतिबेला च्याटजीपीटीजस्तो एआई प्रणाली विश्वव्यापी रूपमा लोकप्रिय भइसकेको थिएन । हुआङले भने भविष्यमा कम्प्युटिङको ठूलो हिस्सा एआईले ओगट्ने विश्वासका साथ प्रविधि विकासमा लगानी जारी राखे । सन् २०२२ को नोभेम्बरमा ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेपछि विश्वभर कृत्रिम बौद्धिकताप्रति चासो तीव्र रूपमा बढ्यो । त्यसपछि ठूला प्रविधि कम्पनीहरू आफ्नै एआई मोडेल निर्माण गर्ने प्रतिस्पर्धामा लागे । गुगल, माइक्रोसफ्ट, मेटा, अमेजन र ओपनएआईजस्ता कम्पनीलाई विशाल डेटा प्रशोधन गर्न सक्ने शक्तिशाली कम्प्युटिङ प्रणाली आवश्यक पर्न थाल्यो । यस्ता एआई मोडेललाई तालिम दिन र सञ्चालन गर्न ठूलो संख्यामा जीपीयू आवश्यक पर्छ । यही ठाउँमा एनभिडिया विश्व बजारको केन्द्रमा आइपुग्यो । कम्पनीका एच१००, एच२०० र ब्ल्याकवेलजस्ता अत्याधुनिक चिपहरू एआई पूर्वाधार निर्माणका लागि महत्वपूर्ण बने । यी चिपलाई एकआपसमा जोडेर विशाल डेटा सेन्टरमा प्रयोग गर्न सकिने भएकाले ठूला एआई कम्पनीको माग तीव्र रूपमा बढ्यो । एनभिडियाले चिपसँगै नेटवर्किङ प्रविधि, सफ्टवेयर र डेटा सेन्टरका लागि आवश्यक सम्पूर्ण कम्प्युटिङ प्रणाली विकास गर्न थाल्यो । यसले कम्पनीलाई सामान्य चिप निर्माता मात्र नभई एआई पूर्वाधारको प्रमुख आपूर्तिकर्ता बनायो । कम्पनीको आम्दानीमा समेत यसको प्रभाव देखियो । सन् २०२६ अगस्टमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार एनभिडियाले आर्थिक वर्ष २०२७ को दोस्रो त्रैमासिकमा ९६ अर्ब २२ करोड अमेरिकी डलर आम्दानी गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १०६ प्रतिशत बढी थियो । त्यसमध्ये डेटा सेन्टरबाट मात्रै ८९ अर्ब डलर आम्दानी भएको थियो । यसले एआई उद्योगमा एनभिडियाको भूमिका कति महत्वपूर्ण बनिसकेको छ भन्ने देखाउँछ । कम्पनीको बजार मूल्य बढ्नुको पछाडि यसको प्रविधि मात्रै होइन, भविष्यप्रतिको लगानीकर्ताको विश्वास पनि ठूलो कारण हो । एनभिडियाले जीपीयू निर्माणमा गरेको लामो समयको अनुसन्धान, कुडा सफ्टवेयर, एआई अनुसन्धानमा समयमै गरेको लगानी र विश्वभरका प्रविधि कम्पनीसँग बनाएको सम्बन्धले यसको बजार विस्तारमा महत्वपूर्ण भूमिका खेले । सन् २०२३ मेमा एनभिडियाको बजार पुँजीकरण पहिलोपटक एक ट्रिलियन अमेरिकी डलर नाघ्यो । त्यसपछि कम्पनीको मूल्यांकन तीव्र गतिमा बढ्दै गयो । एआईको माग बढेसँगै सन् २०२४ मा दुई ट्रिलियन र तीन ट्रिलियन डलरको बजार मूल्य पार गर्ने कम्पनीको यात्रा पनि चर्चामा रह्यो । त्यस्तै, सन् २०२५ मा यसको बजार मूल्य पाँच ट्रिलियन डलरको ऐतिहासिक उचाइसम्म पुगेको थियो । यसको अर्थ कम्पनीले आफ्नो सम्पूर्ण आम्दानी बैंकमा राखेर त्यति पैसा जम्मा गरेको भने होइन । बजार पुँजीकरण भनेको कम्पनीको कारोबार भइरहेको सेयर मूल्य र कुल सेयर संख्याका आधारमा निकालिने मूल्यांकन हो । एनभिडियाको सफलताको कथा त्यसैले केवल एउटा कम्पनीको आर्थिक वृद्धिको कथा होइन । यो कम्प्युटर गेमिङबाट सुरु भएको प्रविधि कसरी विश्वको सबैभन्दा ठूलो प्रविधिगत परिवर्तनमध्ये एक एआई क्रान्तिको आधार बन्यो भन्ने उदाहरण पनि हो । यसरी हेर्दा जेन्सेन हुआङलाई केवल सफल व्यवसायीका रूपमा मात्र हेरिँदैन । उनी प्रविधिको भविष्य अनुमान गर्न सक्ने र लामो समयसम्म एउटै लक्ष्यमा केन्द्रित भएर काम गर्ने नेतृत्वकर्ताका रूपमा पनि परिचित छन् । उनको पहिचानसँग जोडिएको अर्को विशेषता हो– कालो छालाको ज्याकेट । उनी प्रायः सार्वजनिक कार्यक्रम, प्रविधि सम्मेलन र उत्पादन सार्वजनिक गर्ने कार्यक्रममा कालो छालाको ज्याकेट लगाएर उपस्थित हुने गर्छन् । उनको नेतृत्वमा एनभिडियाले गेमिङ चिपबाट सुरु गरेर सुपरकम्प्युटिङ, वैज्ञानिक अनुसन्धान, स्वचालित सवारी, रोबोटिक्स र जेनेरेटिभ एआईसम्म आफ्नो प्रविधि विस्तार गर्यो । सन् २०१७ मा फच्र्युनले उनलाई वर्षकै उत्कृष्ट व्यवसायी घोषित गरेको थियो । त्यस्तै सन् २०१९ मा हार्वर्ड बिजनेस रिभ्युले कार्यकालभरको प्रदर्शनका आधारमा विश्वका उत्कृष्ट सीईओको सूचीमा उनलाई पहिलो स्थान दिएको थियो । तर, उनको नेतृत्व यात्रा अब नयाँ मोडमा पुगेको छ । एनभिडियाको सञ्चालक समितिले सन् २०२६ नोभेम्बर १२ मा जारी गरेको विज्ञप्तिअनुसार जेन्सेन हुआङले कम्पनीको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समिति सदस्य पदबाट तत्काल लागू हुने गरी राजीनामा दिएका छन् । उनको राजीनामापछि कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको छ । उनले सीएफओको जिम्मेवारीसमेत निरन्तर सम्हाल्नेछिन् । कम्पनीले स्थायी सीईओका लागि आन्तरिक तथा बाह्य उम्मेदवार खोज्ने जनाएको छ । हुआङको बहिर्गमनसँगै कम्पनीको सञ्चालक समितिको पहिलो अध्यक्षका रूपमा हार्भी सी जोन्स नियुक्त भएका छन् । हुआङको राजीनामाको पृष्ठभूमिमा व्यक्तिगत सम्बन्धसम्बन्धी समाचार र राष्ट्रिय सुरक्षा चासो जोडिएका विवाद सार्वजनिक भएका थिए । सिंगापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग उनको सम्बन्ध रहेको समाचार सार्वजनिक भएको थियो । उनीमाथि चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंकासमेत उठेको थियो । तर, अमेरिकी न्याय विभागले एलिसमाथि लागेको जासुसीसम्बन्धी आरोप पुष्टि भएको निष्कर्ष सार्वजनिक गरेको छैन । त्यस्तै एनभिडियाकै उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि हुआङको कथित सम्बन्ध रहेको समाचार सार्वजनिक भएको थियो । कम्पनीको सञ्चालक समितिले यसअघि स्वतन्त्र अनुसन्धान सुरु गरेको जनाएको थियो । यद्यपि, व्यक्तिगत सम्बन्धसम्बन्धी आरोप र राष्ट्रिय सुरक्षा जोखिमबीच प्रत्यक्ष सम्बन्ध स्थापित भएको छैन । समग्रमा ३३ वर्षअघि एउटा सामान्य रेस्टुरेन्टको टेबलमा बसेर तीन जना इन्जिनियरले देखेको सपना आज विश्वको एआई पूर्वाधारको केन्द्रमा पुगेको छ । जेन्सेन हुआङको व्यक्तिगत नेतृत्व यात्रा भने राजीनामासँगै नयाँ चरणमा प्रवेश गरेको छ । तर, उनले स्थापना गरेको कम्पनीको भविष्य अब कसरी अघि बढ्छ भन्ने प्रश्न विश्व प्रविधि उद्योगका लागि महत्वपूर्ण बनेको छ ।
रेस्टुरेन्टमा भाँडा माझ्ने ती जेन्सेन, कसरी बनाए ५ ट्रिलियन डलरको साम्राज्य ? [भिडियो]
![रेस्टुरेन्टमा भाँडा माझ्ने ती जेन्सेन, कसरी बनाए ५ ट्रिलियन डलरको साम्राज्य ? [भिडियो]](https://kendrabindu.com/wp-content/uploads/2026/11/NVidea-web.jpg)
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






