काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले ‘निकै ठूलो’ सम्झौताको तयारी भइरहेको बताएका छन् । ह्वाइट हाउसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रिभसँग अनौपचारिक भेटवार्ता गरेपछि बिहीबार ट्रम्पले यस्तो बताएका हुन् । पत्रकारहरूसँग ट्रम्पले रुस–युक्रेन युद्ध समाधानको नजिक पुगेको र त्यसका लागि युरोपका सबै देशसमेत सहभागी हुन सक्ने बताए । “मैले के विषयमा कुरा गरेँ भनेर भन्न सक्दिनँ । तर, एउटा सम्झौता हुुँदै छ । त्यो निकै ठूलो हुनेछ,” उनले ओभल अफिसमा भने । “यसले युक्रेनभन्दा बाहिरका क्षेत्रलाई समेत समेट्नेछ । यसमा पूरै युरोप सहभागी हुन सक्छ । यो ठूलो र भव्य सम्झौता हुनेछ र सबैजना उत्साहित हुनेछन्,” ट्रम्पले भने । उनले बिहीबार ह्वाइट हाउसमा उपस्थित युक्रेनी अधिकारीहरूसँग भने भेट नगरेको स्पष्ट पारे । यसैबीच, ट्रम्पका ज्वाइँ तथा अमेरिकी दूत ज्यारेड कुश्नरले अमेरिका, नेटो र युरोपेली साझेदारहरूले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा बिहीबार अर्थपूर्ण छलफल गरेको बताएका छन् । “व्यावहारिक र आपसी सहमतिमा आधारित व्यवस्थामार्फत सबै पक्षका सुरक्षा चासोलाई सम्बोधन गर्नु र भविष्यमा द्वन्द्वको जोखिम घटाउनु हाम्रो उद्देश्य हो,” उनले आगामी साता आबुधाबीमा युक्रेन र रुसबीच हुने छलफलअघि सामाजिक सञ्जाल एक्समा लेखेका छन् । डीडब्ल्यू
रुस–युक्रेन युद्ध अन्त्य गर्न ‘ठूलो र भव्य’ सम्झौताको तयारी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






