रुपन्देही । राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी सत्संग तथा प्रवचनका लागि भारतबाट रुपन्देही आउनुहुने भएको छ । उहाँ यही कात्तिक २४ गते रुपन्देहीको सेमरहवास्थित राधास्वामी सत्संग ब्यासको आफ्नै परिसरमा आयोजना हुने सत्संग कार्यक्रममा सहभागी हुन नेपाल आउन लाग्नुभएको हो । आयोजकका अनुसार उक्त सत्संग कार्यक्रममा नेपालभरिका भक्तजन, संगत तथा इच्छुक सबैले सहभागी भई प्रवचन सुन्न सक्नेछन् । टाढाबाट आउने भक्तजनका लागि परिसरभित्रै बसोबास र खानपानको व्यवस्था मिलाइएको छ । त्यसैगरी, सत्संगका दिन आसपासका क्षेत्रबाट आउने भक्तजन तथा इच्छुक व्यक्तिका लागि निःशुल्क यातायातको व्यवस्था पनि गरिएको छ । उक्त कार्यक्रममा देश तथा विदेशबाट गरी २५ हजारदेखि ३० हजारसम्म भक्तजन सहभागी हुने आयोजकको अनुमान छ । संस्थाले कार्यक्रमका सम्पूर्ण व्यवस्थापन स्वयंसेवक सेवादारमार्फत गर्दै आएको जनाएको छ । सतगुरु बाबाजीको प्रवचन सुन्न इच्छुक व्यक्तिहरूले कार्यक्रम हुने दिन बिहान ८ बजेभित्रै सत्संग परिसरमा प्रवेश गरिसक्नुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ । राति बस्ने गरी आउने नाबालक, ज्येष्ठ नागरिक तथा महिलाहरू संरक्षक वा रेखदेख गर्ने व्यक्तिसँगै आउनुपर्नेछ । बसोबासका लागि महिला र पुरुषको छुट्टाछुट्टै व्यवस्था गरिएको हुँदा सोहीअनुसार व्यवस्थापन गर्न आयोजकले अनुरोध गरेको छ । दीर्घरोगका औषधि सेवन गरिरहनुभएकाहरूले आफूले नियमित प्रयोग गर्ने औषधि साथमै ल्याउनुपर्नेछ । सरुवा रोग लागेका बिरामी, गम्भीर अशक्त तथा जोखिमपूर्ण शारीरिक समस्या भएका व्यक्तिका लागि विशेष व्यवस्था गर्न नसकिने भएकाले आवश्यक व्यवस्थापन आफैँ गर्न आयोजकले आग्रह गरेको छ । कार्यक्रममा सहभागी हुनेहरूले बहुमूल्य गरगहना, मूल्यवान् वस्तु तथा धनमाल साथमा ल्याउन पाउने छैनन् । मोबाइल फोन लिएर आउनेहरूले सत्संग परिसरबाहिर स्वयंसेवकद्वारा सञ्चालित काउन्टरमा जम्मा गरी टोकन लिएर प्रवेश गर्नुपर्नेछ । कार्यक्रम सकिएपछि टोकनका आधारमा मोबाइल फिर्ता गरिने व्यवस्था मिलाइएको छ । सत्संग सम्पन्न भएपछि सहभागीहरूका लागि निःशुल्क शुद्ध शाकाहारी भोजनको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ । भूकम्प र कोभिड महामारीमा उल्लेखनीय मानवीय सेवा राधास्वामी सत्संग ब्यासले प्राकृतिक विपत्ति तथा महामारीका समयमा मानवीय सेवामा महत्त्वपूर्ण योगदान पुर्याएको छ । संस्थाले सतगुरुको आदेशअनुसार २०७२ सालको विनाशकारी भूकम्पपछि अस्पतालबाट डिस्चार्ज भएका घाइते तथा बिरामी र घरमा बस्न अनुकूल अवस्था नभएका स्थानीय बासिन्दाका लागि खाना तथा बसोबासको व्यवस्था गरेको थियो । त्यसैगरी, नेपाल सरकारका शिक्षा मन्त्रालय तथा सहरी विकास मन्त्रालयसँग सम्झौता गरी भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानमा २७ वटा सामुदायिक भवन तथा विद्यालय निर्माण गरेर समयमै हस्तान्तरण गरेको संस्थाले जनाएको छ । कोरोना महामारीको पहिलो र दोस्रो लहरका समयमा पनि संस्थाले उल्लेखनीय सेवा प्रदान गरेको थियो । भारतबाट पैदल तथा बसलगायतका सवारीसाधनमार्फत नेपाल प्रवेश गरेका नेपाली नागरिक र तेस्रो मुलुकबाट हवाईमार्ग हुँदै आएका नागरिकका लागि कीर्तिपुर र सामाखुसीस्थित सत्संग परिसरमा होल्डिङ सेन्टर तथा कोभिड आइसोलेसन सेन्टर सञ्चालन गरिएको थियो । ती केन्द्रमार्फत बिरामीहरूको उपचारका साथै निःशुल्क खाना र बसोबासको व्यवस्था गरिएको थियो । कोरोना महामारीका कठिन समयमा संस्थाले गरेको उक्त सेवाले काठमाडौंमा मानवीय सहयोग र व्यवस्थापनको उदाहरण प्रस्तुत गरेको थियो । संस्थाको सेवाको उच्च मूल्यांकन गर्दै तत्कालीन प्रधानसेनापतिको तर्फबाट प्रशंसापदक तथा सम्माननीय राष्ट्रपतिबाट धार्मिक तथा सामाजिक संस्थाका रूपमा कीर्तिमय राष्ट्रदीप पदक (चतुर्थ) प्रदान गरिएको थियो । राधास्वामी सत्संग ब्यास नेपाल गैरराजनीतिक, गैरव्यावसायिक, नाफा नकमाउने तथा कुनै सम्प्रदायमा संलग्न नरहेको आध्यात्मिक संस्था भएको जनाएको छ । संस्थाअन्तर्गत नेपालभर रहेका १०६ वटा सत्संग स्थलमा प्रत्येक शनिबार सत्संग तथा प्रवचन कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी रुपन्देही आउँदै

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






