काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन् । नेकपाबाट सरकारमा सहभागी ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरप्रसाद कुशवाहाले राजनीतिक निकासका लागि आफूहरूले सरकार छाडेको बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकार अल्पमतमा परेको अवस्थाको समाधान गर्न र नयाँ सरकार गठनका लागि बाटो सहज बनाउन राजीनामा दिएको स्पष्ट पार्नुभयो । ‘राजनीतिक निकासका लागि हामीले राजीनामा दिएका हौँ । नयाँ सरकार गठनका लागि बाटो खुलोस् र सहज होस् भन्ने हाम्रो उद्देश्य हो । अरू खासै केही होइन,’ उहाँले भन्नुभयो । उहाँले पछिल्लो समय सरकार अल्पमतमा परेको विषयलाई निकास दिन आफूहरूले राजीनामा दिएको पनि बताउनुभयो । ‘पछिल्लो समय सरकारको अल्पमतको जुन समस्या देखिएको छ, त्यसको निकास निकाल्नका लागि हामीले राजीनामा दिएका हौँ । यसलाई अन्यथा नलिनुहोला,’ उहाँले भन्नुभयो । मन्त्री कुशवाहाले नेकपाबाट मधेस प्रदेश सरकारमा सहभागी सबै मन्त्रीले राजीनामा दिएको जानकारीसमेत दिनुभयो ।
राजनीतिक निकासका लागि नेकपा सरकारबाट बाहिरिएको हो : मन्त्री कुशवाहा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






