नोकिया, एनस्केल, स्केलेटन, टेलिया र भेर्डाले नर्डिक तथा बाल्टिक क्षेत्रमा विभिन्न स्थानमा फैलिएको एआई गिगाफ्याक्ट्री निर्माण गरिरहेका छन्। एआई गिगाफ्याक्ट्री नर्दर्न (एआईजीएफ नर्दर्न) नाम दिइएको यो परियोजना युरोपेली शासन व्यवस्थाअन्तर्गत सञ्चालन हुनेछ। यसअन्तर्गत विभिन्न स्थानमा रहेका केन्द्रहरूले ठूलो क्षमताको एआई कम्प्युटिङ पूर्वाधार, सार्वभौम क्लाउड तथा एआई प्लेटफर्म सेवा, उच्च क्षमताको कनेक्टिभिटी र न्यून कार्बन उत्सर्जन गर्ने ऊर्जा संयोजन गर्नेछन्। यसले नर्डिक र बाल्टिक क्षेत्रका विभिन्न स्थानमा रहेका एआई पूर्वाधारलाई एकअर्कासँग जोड्नेछ। यसबाट युरोपभरिका व्यवसाय, अनुसन्धानकर्ता र सार्वजनिक क्षेत्रका संस्थाले विश्वसनीय कम्प्युटिङ, क्लाउड र कनेक्टिभिटी सेवा ठूलो परिमाणमा प्राप्त गर्न सक्नेछन्। परियोजनासम्बन्धी विज्ञप्तिअनुसार विभिन्न देशमा कम्प्युटिङ क्षमता विस्तार गर्दा एउटै स्थानमा निर्भर हुनुपर्ने जोखिम कम हुन्छ। यसले समूहलाई न्यून कार्बन उत्सर्जन गर्ने ऊर्जाका विभिन्न स्रोत उपयोग गर्न, उपलब्ध क्षमता भएका स्थानमा कम्प्युटिङ पूर्वाधार विस्तार गर्न र कुनै एक स्थान वा आपूर्तिकर्तामाथिको निर्भरता घटाउन सहयोग गर्नेछ। टेलिकम्स डटकमका अनुसार यी पूर्वाधार फिनल्यान्डको ओउलु, इस्टोनियाको इरु र लाटभियाको वाल्मिएरामा निर्माण हुनेछन्। स्विडेनमा निर्माण हुने केन्द्रको स्थान भने अझै तय भएको छैन। नर्डिक तथा बाल्टिक क्षेत्र एआई पूर्वाधार निर्माणका लागि उपयुक्त रहेको परियोजनामा संलग्न कम्पनीहरूले बताएका छन्। यस क्षेत्रमा भरपर्दो र न्यून कार्बन उत्सर्जन गर्ने ऊर्जा आपूर्ति, विकसित डिजिटल नेटवर्क र चिसो हावापानी छ। चिसो मौसमका कारण डाटा सेन्टरलाई चिस्याउन कम ऊर्जा आवश्यक पर्छ। यसले डाटा सेन्टरहरूलाई विद्यमान विद्युत् ग्रिड जडानबाटै बढी कम्प्युटिङ क्षमता उपलब्ध गराउन र कम कार्बन उत्सर्जन हुने सञ्चालन प्रणाली कायम राख्न सहयोग गर्ने बताइएको छ। परियोजनामा नोकियाले विभिन्न केन्द्रलाई जोड्न आवश्यक कनेक्टिभिटी तथा नेटवर्क पूर्वाधार उपलब्ध गराउनेछ। एनस्केलले क्लाउड प्लेटफर्म र एआई पूर्वाधार उपलब्ध गराउनेछ। टेलियाले कनेक्टिभिटी, डाटा प्रसारण, पूर्वाधार सञ्चालन र क्लाउड समाधान उपलब्ध गराउनेछ। भेर्डाले ठूलो क्षमतामा एआई मोडेल प्रशिक्षण र इन्फरेन्स सञ्चालनका लागि एआईमा आधारित पूर्वाधार तथा क्लाउडसम्बन्धी विशेषज्ञता उपलब्ध गराउनेछ। स्केलेटनले भने ठूलो क्षमतामा डाटा सेन्टरको दक्षता र स्थिरता बढाउने उच्च क्षमताका प्रणाली उपलब्ध गराउनेछ। यसले विद्युत् ग्रिडमाथिको दबाब घटाउन र कम कार्बन उत्सर्जन हुने सञ्चालनमा सहयोग गर्ने कम्पनीले जनाएको छ। यस परियोजनामा अन्य संस्थाहरू पनि सहभागी छन्। फिनल्यान्डको भीटीटी टेक्निकल रिसर्च सेन्टरले क्वान्टम कम्प्युटिङ, सेमिकन्डक्टर, भौतिक एआई र फोटोनिक्ससम्बन्धी प्रविधिमा योगदान गर्नेछ। त्यस्तै, केटीएच रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीले एआई अनुसन्धान, शिक्षा र सीप विकासमा बहुविषयगत विशेषज्ञता उपलब्ध गराउनेछ। नोकियाका प्रमुख भूराजनीतिक तथा सरकारी सम्बन्ध अधिकारी मिक्को हाउतालाले भने, “यूरोपको एआईसम्बन्धी महत्वाकांक्षा उसले विश्वास गर्न, नियन्त्रण गर्न र विस्तार गर्न सक्ने पूर्वाधारमा निर्भर छ। एआईजीएफ नर्दर्नले त्यो महत्वाकांक्षालाई वास्तविकतामा बदल्न आवश्यक कनेक्टिभिटी, कम्प्युटिङ, क्लाउड र ऊर्जा क्षमता एकै ठाउँमा ल्याउँछ। विभिन्न देशका क्षमतालाई जोडेर हामी युरोपेली नवप्रवर्तन, प्रतिस्पर्धात्मक क्षमता र प्राविधिक आत्मनिर्भरताका लागि थप बलियो आधार निर्माण गर्न सक्छौँ।” गत साता नोकियाले फिनल्यान्डको आल्टो विश्वविद्यालयसँगको सहकार्य विस्तार गरेको थियो। उक्त सहकार्य एआई, सिक्सजी, बुद्धिमान तथा लचिलो नेटवर्क र सेमिकन्डक्टरजस्ता क्षेत्रमा केन्द्रित परियोजनामा आधारित छ। उनीहरूले सार्वजनिक अनुदानमा सञ्चालित अनुसन्धानमार्फत लचिलो कनेक्टिभिटीका क्षेत्रमा पनि सहकार्य गर्नेछन्। फिनल्यान्ड र स्विडेनका शैक्षिक संस्था तथा उद्योग क्षेत्रको सहभागितामा हुने यो अनुसन्धानले सार्वजनिक दूरसञ्चार सेवा प्रदायक, औद्योगिक क्षेत्र, सार्वजनिक सुरक्षा र रक्षा नेटवर्कजस्ता विभिन्न नेटवर्क वातावरणका लागि आवश्यक लचिलोपनका मापदण्डबारे अध्ययन गर्नेछ। The post यूरोपेली समूहले नर्डिक र बाल्टिक क्षेत्रमा एआई गिगाफ्याक्ट्री निर्माण गर्दै appeared first on Technology Khabar.
यूरोपेली समूहले नर्डिक र बाल्टिक क्षेत्रमा एआई गिगाफ्याक्ट्री निर्माण गर्दै

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






