Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । तिहार अर्थात् उज्यालो र झिलिमिलीको पर्व । घरदेखि सडकसम्म झिलिमिली बत्तीले सजाउने तयारी भइरहँदा बजारमा चहलपहल पनि बढेको छ । यद्यपी यस वर्ष गत वर्षको तुलनामा व्यापार अपेक्षाअनुसार उत्साहजनक हुन नसकेको व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार यस वर्ष बाढीपहिरोका कारण आयातमा देखिएको अवरोध, सामानको सीमित उपलब्धता तथा उपभोक्ताको घट्दो क्रयशक्तिले झिलिमिली बत्तीको व्यापार प्रभावित भएको हो । विशेषगरी तातोपानी नाका र रसुवालगायतका नाकाबाट सामान आयातमा समस्या देखिनुका साथै केही सामान सीमा क्षेत्रमा रोकिएका कारण बजारमा पर्याप्त सामग्री उपलब्ध हुन नसकेको उनीहरूको गुनासो छ । नेपाल विद्युत व्यवसायी महासंघका निवर्तमान अध्यक्ष एवं नेपाल लाइट सेन्टरका सञ्चालक रेशमप्रसाद देवकोटाका अनुसार यस वर्ष मूल्यका आधारमा झिलिमिली बत्तीको कारोबार बढेको देखिए पनि बिक्री परिमाण भने घटेको छ । गत वर्षको तुलनामा उपभोक्ताको खरिद उत्साहसमेत केही कम रहेको उनले बताए । उनका अनुसार भोटेकोसी क्षेत्रमा देखिएको समस्याले उपभोक्ताको मनोविज्ञानमा समेत असर पारेको छ । त्यस्तै, आयातमा भएको अवरोध र केही सामान सीमा क्षेत्रमा रोकिँदा बजारमा आपूर्ति प्रभावित भएको छ । सिंगापुरमा कन्टेनर अड्किएका कारण पनि सामान ल्याउन समस्या भएको व्यवसायीहरूको भनाइ छ । साथै यस वर्ष झिलिमिली बत्तीको आयात परिमाण गत वर्षको तुलनामा ४० देखि ६५ प्रतिशतसम्म घटेको हुन सक्ने व्यवसायीहरूको प्रारम्भिक अनुमान छ । यद्यपि, आयातमा आएको वास्तविक गिरावटबारे भन्सारको तथ्यांकबाट पुष्टि हुन बाँकी छ । पुकार इन्टरनेसनलका अध्यक्ष कमल पोखरेल पनि तिहारको सुरुवाती समयमा व्यापार केही सुस्त देखिए पनि दीपावली नजिकिँदै जाँदा बत्तीको बिक्री क्रमशः बढ्ने बताउँछन् । तिहार नजिकिँदै जाँदा बजारमा ग्राहकको चहलपहल र बिक्री दुवै बढ्ने उनको भनाइ छ । ‘अहिले बजारमा नयाँ नयाँ डिजाइनका बत्तीहरु आइरहेको अवस्था छ । यसले गर्दा सुरुवातमा व्यापार सुस्त भएपनि विस्तारै व्यापार बढ्ने अपेक्षा गरिएको छ ।’ यसैगरी पुकार इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर पुष्प सिग्देलले पनि यस वर्ष गत वर्षको तुलनामा झिलिमिली बत्तीको माग केही घटेको बताए । बाढीपहिरोलगायतका कारणले उपभोक्ताको खरिद क्षमता र उत्साह प्रभावित भए पनि नयाँ डिजाइनका बत्तीप्रति ग्राहकको आकर्षण भने कायमै रहेको उनको भनाइ छ । स्मार्ट एलईडी टेप मार्टका सञ्चालक केशव खड्काका अनुसार यस वर्ष झिलिमिली बत्तीको व्यापार गत वर्षको तुलनामा केही सुस्त छ । तातोपानी र रसुवा नाकाबाट आयात प्रभावित हुँदा वीरगञ्ज नाकामार्फत मात्रै सामान ल्याउनुपर्ने अवस्था र बजारमा पर्याप्त सामग्री उपलब्ध नहुँदा व्यापार प्रभावित भएको उनले बताए । मूल्यवृद्धि र आयातमा देखिएको समस्याका बाबजुद नयाँ डिजाइन तथा विभिन्न प्रकारका बत्तीले बजारमा उपभोक्तालाई आकर्षित गरिरहेको व्यसायीहरूको भनाइ छ । झिलिमिलि बत्तीमा १५ देखि २५ प्रतिशतसम्म मूल्य वृद्धि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि, अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुनु तथा ढुवानी खर्च बढ्नुले यस वर्ष झिलिमिली बत्तीको मूल्यसमेत बढाएको व्यवसायीहरूले बताएका छन् । फिनका निवर्तमान अध्यक्ष देवकोटाका अनुसार केही प्रकारका बत्तीको मूल्य गत वर्षको तुलनामा १५ देखि २५ प्रतिशतसम्म वृद्धि भएको छ । यद्यपि, सबै प्रकारका बत्तीको मूल्य समान दरमा नबढेको उनले स्पष्ट पारे । वाटरफल र वार्म लाइटमा बढ्दो आकर्षण यस वर्ष झिलिमिली बत्तीको बजारमा उपभोक्ताको रोजाइमा पनि परिवर्तन देखिएको छ । विगतमा १००, २०० र ३०० एलईडीका सामान्य बत्ती तथा बहुरङ्गी बत्ती बढी बिक्री हुने गरे पनि पछिल्लो समय वाटरफल, पाइप लाइट, वार्म र गोल्डेन लाइटप्रति आकर्षण बढ्दै गएको व्यवसायीहरू बताउँछन् । पुकार इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर सिग्देलका अनुसार यस वर्ष वाटरफल बत्तीको माग अघिल्लो वर्षको तुलनामा बढेको छ । त्यसमा पनि आँखालाई कम असर गर्ने न्यानो प्रकाश दिने वार्म वाटरफल लाइट ग्राहकको रोजाइमा परेको उनले बताए । घरको बाहिरी भाग तथा दुईदेखि तीन तलासम्म सजाउन मिल्ने ठूला आकारका वाटरफल बत्तीको माग राम्रो रहेको उनको भनाइ छ । ‘विशेषगरी २० बाइ २० र २० बाइ ३० साइजका वाटरफल बत्तीप्रति ग्राहकको रुचि बढेको छ ।’ उनले भने । त्यस्तै, देवकोटाका अनुसार तीन लहर भएको वाटरफल लाइटको मूल्य बजारमा करिब १ हजार १०० देखि १ हजार २०० रुपैयाँसम्म पर्छ। आकार, डिजाइन र गुणस्तरअनुसार २ हजार ५०० देखि ४ हजार ५०० रुपैयाँसम्मका झिलिमिली बत्तीसमेत बजारमा उपलब्ध छन्। व्यवसायीहरूका अनुसार पछिल्लो समय युवापुस्ताले परम्परागत बहुरङ्गी बत्तीभन्दा वार्म, गोल्डेन तथा आकर्षक डिजाइनका बत्ती बढी रोज्न थालेका छन् । अनलाइन तथा सामाजिक सञ्जालमार्फत नयाँ डिजाइन र सजावटका सामग्रीबारे जानकारी पाउने प्रवृत्ति बढेसँगै उपभोक्ताको रोजाइमा पनि विविधता आएको उनीहरूको भनाइ छ । सामाजिक सञ्जालले नयाँ डिजाइनका बत्तीप्रति उपभोक्ताको आकर्षण बढाउन सहयोग गरेको देवकोटाले बताए । यद्यपि, केही उपभोक्ताले पुराना बत्ती पुनः प्रयोग गर्ने क्रम पनि जारी रहेको उनले जानकारी दिए । झिलिमिली बत्तीको प्रयोगसँगै विद्युतीय सुरक्षामा ध्यान दिन व्यवसायीहरूले उपभोक्तालाई आग्रह गरेका छन् । गुणस्तरहीन बत्ती तथा असुरक्षित जडानका कारण सर्टसर्किट र आगलागीको जोखिम हुन सक्ने भएकाले सामग्री खरिद गर्दा गुणस्तरमा विशेष ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ । बत्ती बाल्नुअघि घरको एमसीबी, तार तथा सकेटको अवस्था जाँच गर्न, गुणस्तरीय सामग्री प्रयोग गर्न र शीत वा पानी पर्ने समयमा बाहिर जडान गरिएका बत्तीको सुरक्षामा विशेष ध्यान दिन व्यवसायीहरूले आग्रह गरेका छन् । विद्युत प्राधिकरणले लक्ष्मी पूजाको लोड कसरी धान्छ ? नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युत् माग अधिकतम १ हजार ९ सयदेखि २ हजार मेगावाटसम्म पुग्ने अनुमान गरेको छ । गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत् माग करिब १ हजार ७ सय मेगावाट रेकर्ड भएकोमा यस वर्ष माग केही बढ्ने प्राधिकरणको प्रक्षेपण छ । प्राधिकरणका अनुसार तिहारमा घरघरमा झिलिमिली बत्ती तथा विद्युतीय सजावटका सामग्री प्रयोग बढ्ने भएकाले घरेलु विद्युत् खपत बढ्नेछ। यद्यपि, तिहारका बेला केही उद्योग बन्द हुने भएकाले औद्योगिक विद्युत् माग घट्ने र त्यसले घरेलु मागलाई सन्तुलन गर्ने अनुमान गरिएको छ । प्राधिकरणले हाल करिब २ हजार ८ सयदेखि २ हजार ९ सय मेगावाटसम्म विद्युत् आपूर्ति गर्न सक्ने अवस्था रहेकाले तिहारको बढ्दो माग व्यवस्थापन गर्न समस्या नहुने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले बताएका छन् । ‘गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत् माग करिब १ हजार ७ सय मेगावाट रेकर्ड भएको थियो । यस वर्ष भने विद्युत् माग १ हजार ९ सयदेखि २ हजार मेगावाटसम्म पुग्ने प्राधिकरणको अनुमान छ । अहिले त्यति असज छैन । हामीसँग २ हजार ९०० मेगावाट आपूर्ति छ । यसले गर्दा पनि हामीले लक्ष्मिपूजाको लोड सजिलैसँग म्यानेज गर्न सक्छौँ ।’ उनले भने । नियमित तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणले तिहारभन्दा १० दिनअघिदेखि नै तयारी थालेको उनको भनाइ छ । ‘वितरण लाइनको निरीक्षण तथा अनुगमन, ट्रान्सफर्मरको लोड परीक्षण र बढी भार भएका ट्रान्सफर्मरको लोड अन्यत्र स्थानान्तरण गर्ने काम सम्पन्न भइसकेको छ ।’ उनले भने । विद्युत् आपूर्तिमा अवरोध वा ट्रिपिङ भए तत्काल समस्या समाधान गर्न विभिन्न स्थानमा ‘नो लाइट’ कर्मचारीलाई स्ट्यान्डबाइ अवस्थामा राखिएको छ । प्राधिकरणले अवरोध भएको अवस्थामा २० देखि २५ मिनेटभित्र विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने गरी कर्मचारी परिचालनको व्यवस्था मिलाएको जनाएको उनले बताए । यसैबीच, तिहारमा झिलिमिली बत्ती तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा घरको मिटर र एमसीबीको क्षमतामा ध्यान दिन उपभोक्तालाई आग्रह गर्दै प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले झिलिमिली बत्ती जडान गर्दा सर्ट सर्किट तथा आगलागीको जोखिम हुनसक्ने भएकाले सावधानी अपनाउन समेत सचेत गराएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौंविरुद्ध लुम्बिनीले जित्यो टस
Latest NewsJust now

काठमाडौंविरुद्ध लुम्बिनीले जित्यो टस

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज कीर्तिपुरमा भइरहेको १८औँ खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । टस जितेर लुम्बिनी लायन्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ, जससँगै काठमाडौं गोर्खाजले ब्याटिङ गर्ने निम्तो पाएको छ। ...

केन्द्रबिन्दु
तिहार र छठ लक्षित सुरक्षा कडा, सवा करोडको पटका बरामद
Latest NewsJust now

तिहार र छठ लक्षित सुरक्षा कडा, सवा करोडको पटका बरामद

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २१ गते । तिहार तथा छठ पर्वलाई लक्षित गरी सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाएको सशस्त्र प्रहरी बल, नेपालले अवैध रूपमा भित्र्याइएका पटका बरामद ग... ...

गोरखापत्र
काठमान्डु र लुम्बिनी भिड्दै LIVE UPDATES
Latest NewsJust now

काठमान्डु र लुम्बिनी भिड्दै LIVE UPDATES

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार हुने खेलमा लुम्बिनी लायन्स र काठमान्डु गोर्खाज भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा काठमान्डु र लुम्बिनी भिड्ने भएका हुन्... ...

रातोपाटी
आयुर्वेद चिकित्सा प्रणालीमा आकर्षण बढ्दो, जनशक्ति न्यून
Latest NewsJust now

आयुर्वेद चिकित्सा प्रणालीमा आकर्षण बढ्दो, जनशक्ति न्यून

आयुर्वेद चिकित्सा प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै गए पनि त्यसअनुसार जनशक्ति व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या देखिएको छ । २०७९ साल असोजदेखि कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा ५० शय्याको सुविधासम्पन्न आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको हो । देश संघीयतामा जानुअघि नै निर्माण सुरु गरिएको चिकित्सालय संघीय व्यवस्था लागू भएपछि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । तर अस्पताल सञ्चालन भएको चार वर्ष पुग्न लाग्दासमेत चिकित्सालयमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play