काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १२ वर्षको कार्यकालमा विदेश भ्रमणका क्रममा ९ अर्ब भारुभन्दा बढी खर्च गरेका छन्। सन् २०१४ जुनदेखि २०२६ जुलाईसम्मको अवधिमा उनले ८१ देशको १८३ पटक भ्रमण गर्दा उक्त रकम खर्च भएको हो। भारतको विदेश मन्त्रालयले लोकसभा र राज्यसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो विवरण सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार प्रधानमन्त्रीका विदेश भ्रमण अन्य मुलुकसँगको सम्बन्ध सुदृढ बनाउने र द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा भारतको सहभागिता बढाउने उद्देश्यले हुने गरेका छन्। हाल मोदी दुईदिने भ्रमणका क्रममा फिलिपिन्समा छन्। मनिलामा आयोजना हुने आसियान–भारत शिखर सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका उनले त्यसपछि क्वाड सम्मेलनमा पनि सहभागिता जनाउने कार्यक्रम छ। यसअघि गत अगस्टमा उनी द्विपक्षीय भ्रमणका लागि उज्बेकिस्तान पुगेका थिए भने त्यसलगत्तै किर्गिस्तानमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) को वार्षिक शिखर सम्मेलनमा सहभागी भएका थिए। विदेश भ्रमणको खर्चबारे मन्त्रालयले प्रधानमन्त्री अर्को देशको भ्रमणमा जाँदा उनलाई सम्बन्धित मुलुकको अतिथिका रूपमा लिइने स्पष्ट पारेको छ। यस्तो अवस्थामा आतिथ्य गर्ने देशले प्रधानमन्त्रीको बसोबास र अन्य सुविधाको खर्च बेहोर्ने गर्छ। तर, भ्रमणमा सहभागी भारतीय अधिकारी, सुरक्षा व्यवस्था र सञ्चारमाध्यमका प्रतिनिधिमण्डलको खर्च भने भारत सरकारले नै व्यहोर्ने गरेको छ। विदेश मन्त्रालयले सन् २०२५ मार्चमा संसदमा दिएको अर्को जवाफमा सन् २०२२ देखि २०२४ सम्म प्रधानमन्त्रीको विदेश भ्रमणमा भएको खर्चको विस्तृत विवरण सार्वजनिक गरेको थियो। उक्त अवधिमा बसोबास व्यवस्थापनमा मात्रै करिब १०४ करोड भारु खर्च भएको थियो। अन्य शीर्षकमा ७५.७ करोड भारु, यातायातमा ७१ करोड भारु तथा कार्यक्रम स्थल, सुरक्षा र उपकरण व्यवस्थापनमा करिब चार–चार करोड भारु खर्च भएको उल्लेख छ। तर, मोदीको सम्पूर्ण १२ वर्षे कार्यकालका लागि यस्तै विस्तृत विवरण उपलब्ध छैन। त्यसैले समग्र खर्चको विश्लेषण गर्दा प्रत्येक भ्रमणमा भएको कुल खर्चलाई आधार बनाइएको छ। सन् २०२६ जुलाईसम्म मोदीले १६ वटा विदेश भ्रमण गरिसकेका थिए। ती भ्रमणमा कम्तीमा ७४.६ करोड भारु खर्च भएको देखिन्छ। यद्यपि सार्वजनिक अभिलेखमा विवरण उपलब्ध नभएकाले उनका पछिल्ला तीन भ्रमणको खर्च यसमा समावेश गरिएको छैन। मोदीको कार्यकालमा सबैभन्दा बढी विदेश भ्रमण सन् २०१५ मा भएको थियो। त्यस वर्ष उनले २८ पटक विदेश यात्रा गरेका थिए। अमेरिका, बेलायत र चीनलगायत देश पुगेका उनले रुस, फ्रान्स र सिंगापुरको भने दुई–दुई पटक भ्रमण गरेका थिए। यही वर्ष उनले अचानक पाकिस्तानको लाहोर पुगेर तत्कालीन प्रधानमन्त्री नवाज सरिफसँग भेटवार्ता गरेका थिए। त्यसपछि सबैभन्दा धेरै विदेश भ्रमण सन् २०२५ मा भएको थियो। उक्त वर्ष मोदीले २३ देशको यात्रा गरेका थिए। भ्रमण संख्यासँगै खर्च पनि उल्लेख्य बढेको देखिन्छ। सन् २०२५ मा उनको विदेश भ्रमणमा कम्तीमा १८७.८ करोड भारु खर्च भएको थियो। सन् २०१५ मा यस्तो खर्च ९१.५ करोड भारु मात्रै थियो। मुद्रास्फीतिलाई समायोजन गरेर सन् २०१५ को खर्चलाई सन् २०२५ को मूल्यमा रूपान्तरण गर्दा करिब १४५ करोड भारु हुन आउँछ। मोदीले आफ्नो कार्यकालमा सबैभन्दा धेरै अमेरिका भ्रमण गरेका छन्। उनी हालसम्म १० पटक अमेरिका पुगिसकेका छन्। त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई), जापान र फ्रान्स रहेका छन्। यी तीनवटै देशको उनले आठ–आठ पटक भ्रमण गरेका छन्। केही भ्रमणमा भने खर्च निकै उच्च देखिएको छ। सन् २०१९ मा भएको अमेरिका भ्रमणमा मात्रै ३७.७ करोड भारु खर्च भएको थियो। उक्त भ्रमणका क्रममा उनले टेक्ससको ह्युस्टनमा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा सहभागिता जनाएका थिए, जहाँ करिब ५० हजार मानिस उपस्थित थिए। सन् २०२५ को फ्रान्स भ्रमण तथा सन् २०२३ र २०२१ का अमेरिका भ्रमण पनि सबैभन्दा बढी खर्च भएका यात्रामध्येमा परेका छन्। प्रधानमन्त्री कार्यालयको तथ्यांक विश्लेषणअनुसार पूर्वप्रधानमन्त्री मनमोहन सिंहले सन् २००४ मेदेखि २०१४ मेसम्मको १० वर्षे कार्यकालमा ९६ देशको भ्रमण गरेका थिए। त्यस्तै, मोदीले सन् २०१४ मेदेखि २०२४ मेसम्मको आफ्नो पहिलो १० वर्षमा १३३ पटक विदेश भ्रमण गरेका थिए। मनमोहन सिंहले सबैभन्दा बढी १० पटक अमेरिका भ्रमण गरेका थिए। त्यसपछि रुसको नौ पटक तथा जापान र जर्मनीको पाँच–पाँच पटक यात्रा गरेका थिए। उनको विदेश भ्रमणमा भएको कुल खर्चको पूर्ण विवरण उपलब्ध नभए पनि १० वर्षे कार्यकालमा चार्टर्ड विमान प्रयोगमा मात्रै करिब ७९५ करोड भारु खर्च भएको उल्लेख छ।
मोदीको १२ वर्षे कार्यकालमा विदेश भ्रमणमै ९ अर्ब भारुभन्दा बढी खर्च

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






