काठमाडौं । बिचौलिया इनम सापकोटाको बयान भन्दै सार्वजनिक भएको अडियोले नेपाली कांग्रेसमा तरंग ल्याएको छ । कांग्रेसको आधिकारिकता विवादमा सभापति गगनकुमार थापाको नामसमेत सापकोटाले मुछेपछि कांग्रेसभित्र तरंग पैदा गरेको हो । नेपाली कांग्रेसका सभापति थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै पनि प्रकारको आर्थिक लेनदेन नभएको दाबी गर्नुभएको छ । बिहीबार एक भिडियो सन्देश सार्वजनिक गर्दै उहाँले पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि आर्थिक लेनदेन नभएको स्पष्ट पार्नुभएको हो । फिक्सर अर्थात् बिचौलियाको रूपमा चर्चामा आएका व्यक्तिहरूले फैलाएका कुरामा कुनै सत्यता नरहेको र यस्ता निराधार भाष्यहरू सुनियोजित रूपमा निर्माण गरिएको आरोप उहाँले लगाउनुभएको छ । पार्टीको आधिकारिकताको विषयलाई लिएर हालै बजारमा आएको अडियो र विभिन्न प्रचारप्रसारप्रति लक्षित गर्दै सभापति थापाले उनी (इनम सापकोटा) अहिले प्रहरी हिरासतमा रहेको र यस विषयमा सम्बन्धित निकायबाट निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिनुभएको छ । इनम सापकोटाको नाम जोडिएको अडियोबारे बोल्दै उहाँले त्यो अडियो कहाँ, कसले र किन बोलिएको हो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको प्रष्ट पार्नुभएको छ । ‘हामीले चाहेको राम्रो अनुसन्धान होस् भन्ने हो । अनुसन्धानले दूधको दूध, पानीको पानी छुट्याउँछ । हामी त्यसकै प्रतीक्षामा छौँ’, भिडियो सन्देशमा उहाँले भन्नुभएको छ । प्रश्नहरू आफूहरूलाई नभई सम्बन्धित निकायलाई सोध्नुपर्ने र अनुसन्धान निष्पक्ष भए नभएको कुरामा सबैको ध्यान जानुपर्ने थापाको भनाइ छ । आफूले यसअघि पनि शक्तिशाली सत्ताका गलत कामविरुद्ध आवाज उठाउँदै आएको स्मरण गराउँदै थापाले आफ्नै पार्टीको सरकार हुँदा पनि गलत कामको विरोध गर्न नछाडेको बताउनुभयो । आफ्नो स्वच्छता, इमानदारिता र नैतिकतामा सम्झौता नगरेकाले नै सत्तासँग लड्ने आँट आएको उहाँको दाबी छ । ‘जब–जब मैले बलियो सत्तासँग प्रश्न गरेको छु, लडेको छु, तब-तब कुनै न कुनै प्रायोजित र म्यानुफ्याक्चर न्यारेटिभ मेरो वरिपरि ल्याइएको छ । कहिले यो भयो, कहिले त्यो भयो भन्दै मेरो चरित्रमाथि प्रश्न गरिएको छ’, उहाँले भन्नुभयो, ‘तर प्रत्येक पटक म लडेर आएको छु, ढलेको छैन । यसको सबैभन्दा ठूलो कारण मेरो नैतिक बल हो ।’ यसअघि, बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पनि पार्टीको वैधानिकताविरुद्ध लगाइएका आरोपहरू पूर्णरूपमा कपोलकल्पित र निराधार रहेको स्पष्ट पार्नुभएको थियो । उहाँले पार्टी र नेतृत्वविरुद्ध चलाइएका यस्ता षड्यन्त्रमूलक प्रचारप्रसारलाई खारेज गर्दै जस्तोसुकै छानविनका लागि पार्टी पूर्णरूपमा तयार रहेको बताउनुभएको थियो । राज्यका निकायलाई दुरुपयोग गरेर भय र भ्रम सिर्जना गर्ने प्रवृत्ति तत्काल बन्द गर्न सरकारलाई कडा चेतावनीसमेत दिनुभएको छ । सरकारको कार्यशैलीप्रति प्रश्नअडियो बाहिरिएलगत्तै आफूहरू डराएर विभिन्न नेताहरूको घरदैलोमा पुगेको भन्ने राजनीतिक बजारमा चलेको हल्लालाई खारेज गर्दै सभापति थापाले आफू नियमित राजनीतिक भेटघाटमै व्यस्त रहेको प्रष्ट पार्नुभएको छ । मधेश प्रदेश सरकारले आगामी केही दिनभित्र विश्वासको मत लिनुपर्ने र अन्य राजनीतिक दलहरूसँग संवाद गर्नुपर्ने भएकाले विभिन्न नेताबीच भेटघाट भएको उहाँले जानकारी दिनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूसँग भएका भेटघाटहरू पूर्णरूपमा खुला र स्वाभाविक राजनीतिक प्रक्रियाअन्तर्गत भएको उहाँले प्रष्ट पार्नुभएको छ । वर्तमान सरकार पाँच वर्षको जनादेश लिएर आएको भए पनि सरकार आफ्ना मूल एजेण्डाबाट विचलित भइरहेको थापाको आरोप छ । देशमा बढ्दो आर्थिक संकट, युवाहरूको विदेश पलायन, रोजगारीको अभाव तथा हालैका विपत्हरूबाट पीडित नागरिकहरूको पुनःस्थापना र सुकुम्बासी व्यवस्थापनमा सरकार पूर्णरूपमा असफल भएको उहाँले औँल्याउनुभएको छ । लोकतान्त्रिक अधिकार र संस्थाहरूलाई कमजोर बनाउने प्रयास भए कांग्रेस मूकदर्शक भएर नबस्ने र जस्तोसुकै अवस्थामा पनि त्यसको प्रतिवाद गर्ने थापाको चेतावनी छ । ‘मेरो हात सफा, मनमा कुनै कालो छैन र मेरो आत्मामा कुनै दाग छैन’, भन्दै सभापति थापाले आफू कुनै पनि किसिमको कमजोर नैतिक धरातलमा नरहेको दाबी गर्नुभएको छ । बलियो सत्तासँग यसअघि पनि निरन्तर प्रश्न गर्दै आएको र आफ्नै पार्टीको सरकार हुँदासमेत गलत निर्णयको विरोध गरेको स्मरण गराउँदै उहाँले आफूहरू सधैँ सत्य, निष्ठा र इमानदारीको बाटोमा अडिग रहेको स्पष्ट पार्नुभएको छ । राज्यको दमनप्रति सहमहामन्त्री शिवाकोटीको आपत्तियसैबीच, नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पनि सरकारको अलोकतान्त्रिक शैलीविरुद्ध कडा प्रतिक्रिया दिनुभएको छ । पारिवारिक भ्रमणका क्रममा भारतमा रहेका बेला साइबर ब्युरोबाट बोलाइएको खबर पाएपछि उहाँ तुरुन्त नेपाल फर्किंदै हुनुहुन्छ । सरकारले भय र भ्रम सिर्जना गरेर प्रतिपक्षी दलका नेताहरूलाई तर्साउन खोजेको आरोप लगाउँदै शिवाकोटीले यस्ता धम्कीबाट कांग्रेस कहिल्यै अविचलित हुने स्पष्ट पार्नुभएको छ । सरकारमा बस्नेले जतिसुकै तानाशाही शैली अपनाए पनि कांग्रेस सत्यको मार्गबाट पछि नहट्ने उहाँको भनाइ छ । कांग्रेस पार्टी पंक्तिले राज्य नियन्त्रित अफवाह र षड्यन्त्रपूर्ण भाष्यबाट प्रभावित नभई जनताका ज्वलन्त मुद्दाहरूमा केन्द्रित हुन अपिल गरेको छ । दलगत स्वार्थका लागि लोकतान्त्रिक मूल्यमान्यता र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कुनै पनि कदम सह्य नहुने कांग्रेसको निष्कर्ष छ । सिंहदरबारमा रमिता चलिरहेको छ : आङ्देम्बेप्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्कीलाई कुन मुद्दा, तथ्य र प्रमाणका आधारमा हटाइएको हो भन्नेबारे सरकारले जवाफ दिनुपर्ने बताउनुभएको छ । सरकारका प्रवक्ता र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ताको अभिव्यक्तिमा विरोधाभास देखिएको भन्दै उहाँले सरकार कसको निर्देशनमा चलिरहेको छ भन्ने प्रश्न गर्नुभयो । ‘सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्छन् तर, रास्वपाकै प्रवक्ता पार्टीको निर्देशन नभएको बताउँछन् । आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ ? सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ?’ आङ्देम्बेले प्रश्न गर्नुभयो । १७ महिना कार्यकाल बाँकी छँदै प्रहरी महानिरीक्षकबाट कार्कीलाई हटाइएको उहाँले बताउनुभयो । आङ्देम्बेले नागरिक बाढीपहिरो, विस्थापन र महँगीको मारमा परिरहेका बेला सरकार भने प्रहरी नेतृत्व परिवर्तनमा केन्द्रित भएको भन्दै असन्तुष्टि पोख्नुभएको हो । ‘के अहिले देशको राष्ट्रिय आवश्यकता नै आइजिपी परिवर्तन गर्नु हो ? भोटेकोशी र बूढीगण्डकी बाढीले नागरिकहरू पीडामा छन् । विस्थापित सुकुम्बासीको बेहाल छ । महँगीले जनजीवन आक्रान्त छ । देश गम्भीर संकटतिर फस्दै छ तर सरकारको प्राथमिकता आइजिपी हटाउनेमा भयो’, उहाँले भन्नुभयो ।उहाँले एउटा बिचौलियाको मोबाइल प्रहरीले अनुसन्धानका लागि बरामद गरे पनि उक्त मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयलाई पनि गम्भीर रूपमा उठाउनुभएको छ । ‘अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो ? मोबाइलमा भएको के मेटाउनु थियो ?’ उहाँले भन्नुभयो ।
मेरो आत्मामा दाग छैन, निष्पक्ष छानविन होस् : सभापति थापा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






