Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

मुस्ताङमा मार्फाली समुदायको ऐतिहासिक ‘रिसुम देवता’

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुस्ताङमा मार्फाली समुदायको ऐतिहासिक ‘रिसुम देवता’
Photo / Coverage: केन्द्रबिन्दु

मुस्ताङ । अक्सर गुम्बा भन्नेबित्तिकै तलाको घरजस्तो शैलीमा निर्मित संरचना, कोठा र बुद्ध तथा पद्मसम्भवलगायत मूर्ति प्रतिष्ठापित भएको धार्मिकस्थलको चित्र मनमा आउँछ । तर, मुस्ताङको मार्फा गाउँमा भने स्थानीयले दैवी शक्तिका रूपमा मान्दै आएको एउटा अनौठो धार्मिकस्थल छ, जसलाई स्थानीयले ‘रिसुम गुम्बा’का रूपमा पुज्दै आएका छन् । यहाँ परम्परागत गुम्बामा जस्तो कुनै विशेष संरचना देखिँदैन । मार्फा गाउँमाथिको उत्तर–पश्चिमपट्टिको पहाडसँग जोडिएको भागमा रहेको चट्टानी पहाडलाई स्थानीयले रिसुम देवता अर्थात् रिसुम गुम्बाका रूपमा धार्मिक आस्था र विश्वास प्रकट गर्दै आएका छन् । हालको घरपझोङ–२ मा पर्ने मार्फा गाउँ स्थानान्तरण भएर बसेको बस्ती हो । झण्डै ७०० वर्षअघि मार्फाको हालको बस्ती ध्वाङ भन्ने स्थानमा थियो । जनसङ्ख्या बढ्दै जानु, खानेपानी, सिँचाइ र खेतीपाती गर्ने क्षेत्र कम हुँदै गएपछि ध्वाङ गाउँको पुरानो मार्फाली बस्ती अनुकूलता र सहजता खोज्दै ध्वाङबाट केही तल बेंसी झरेको थियो । त्यही बस्ती अहिलेको ध्वाङबाट सरेको मार्फाली प्राचीन बस्ती हो । ध्वाङबाट सरेको मार्फा गाउँको स्थानीय समुदाय न्यानो ठाउँ र सहज बसोबासको खोजी गर्दै पहाडको खोँचमा स्थानान्तरण भयो । त्यसपछि मार्फाली समुदायले सोही खोँचमाथिको चट्टानी पहाडमा आफ्ना तीन जातका भगवान्को प्रतीकस्वरूप छ्योर्तेन स्थापना गरी त्यसलाई ‘रिसुम गुम्बा’ नामकरण गरेको हो । रिसुमको शाब्दिक अर्थ तीन जातका देवता हो । ‘रि’को अर्थ जात र ‘सुम’को अर्थ तीन हुन्छ । ध्वाङबाट स्थानान्तरण भएको मार्फा गाउँमा सुरुमा तीन जातका मानिस बसोबास गर्थे । हाल उक्त समुदायले तीनबाट चार वटा जात बनाएको छ । मार्फालीको लालचन, पन्नाचन, हिराचन र ज्वारचन नामका चार जातले त्यहाँ बसोबास गर्दै आएका छन् । उत्तरी हुरी नचल्ने उपयुक्त स्थान रोजेर स्थानान्तरण भएको मार्फा बस्तीका सबै घर एकापसमा गुजमुच्च जोडिएका छन् । खेतीयोग्य जमिन जोगाउन मार्फाका घर एकैठाउँमा खेर नजानेगरी बस्ती बसाइएको स्थानीय बताउँछन् । गाउँमाथिको विशाल अग्लो चट्टानी पहाडमा अवस्थित रिसुम गुम्बा कुनै पूर्वाधार निर्माण गरिएको गुम्बा नभई प्राकृतिक पहाड नै धार्मिक आस्थाको केन्द्र बनेको स्थानीय जीवन लालचनले बताए । गाउँको सुरक्षा र मार्फाली समुदायको कल्याणका लागि तीन जातका समुदाय मिलेर चट्टानी पहाडलाई नै गुम्बा मानेर धार्मिक आस्था र विश्वास प्रकट गर्ने गरिएको उनले उल्लेख गरे । विशाल पहाडलाई त्रिभुजजस्तो आकारमा देखिने गरी रिसुम गुम्बाको पहाडलाई रङरोगन गरिएको छ । ध्वाङबाट सरेको मार्फाली समुदायले यस पहाडलाई आफ्ना देवताका रूपमा पुज्दै गुम्बाका रूपमा प्रकट गर्ने गरेको स्थानीय लालचनको भनाइ छ । त्रिभुज आकारको चट्टानको माथिल्लो भागमा दुई तिहाइ सेतो रङले पोतिएको छ भने तल्लो भागमा रातो रङ लगाइएको देख्न सकिन्छ । सोही त्रिभुज आकारको रिसुम गुम्बाको चट्टानी पहाडको तल्लो भागका खाली ठाउँमा मार्फाली समुदायका तीन जातका देवता रहेको सम्झना दिलाउने गरी तीन वटा छ्योर्तेन राखिएका छन् । त्यहाँ रातो, सेतो र कालो रङका छुट्टाछुट्टै छ्योर्तेन रहेका छन् । तिनलाई रिसुम गुम्बाका रूपमा धार्मिक आस्था राख्ने गरिएको स्थानीय लालचनले बताउनुभयो । हाल त्यहाँ थप छ्योर्तेनसमेत राखिएका छन् । स्थानीय लालचनका अनुसार रिसुम गुम्बामा स्थापना गरिएका तीन देवताप्रति समुदायको आफ्नै प्रकारको आस्था र विश्वास रहेको छ । त्यहाँ रहेको कालो छ्योर्तेन भगवान् अवलोकितेश्वर, कालो छ्योर्तेन बज्र र रातो छ्योर्तेन मञ्जुश्री देवताका रूपमा पुज्ने गरिएको स्थानीय लालचनले जनाए । यी छ्योर्तेनमध्ये सेतो छ्योर्तेनलाई चेरिसी (अवलोकितेश्वर) र रातो छ्योर्तेनलाई झिम्प्याङ ९मञ्जुश्री० नामले पूजाआजा गर्ने गरिएको छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार रिसुम गुम्बामा अवस्थित तीन देवतामध्ये सेतो छ्योर्तेनलाई दया, करुणा र परोपकारको प्रतीकका रूपमा लिने गरिएको छ भने कालो छ्योर्तेनलाई शक्तिशाली साहस, संरक्षण र आध्यात्मिक ऊर्जाको प्रतीकका रूपमा लिने गरिएको छ । त्यसैगरी, रातो छ्योर्तेनलाई ज्ञान, बुद्धि, विवेक र प्रज्ञाको प्रतीकका रूपमा मार्फाली समुदायले धार्मिक आस्थाका साथ पुज्ने गरेको उनले बताए । पहाडको खोँचमा अवस्थित मार्फामा रहेको मानव निर्मित रिसुम गुम्बामा बर्सेनि साउन अष्टमीका दिन धार्मिक पूजा गर्ने प्रचलन रहेको स्थानीय सुरेन्द्र हीराचनले जानकारी दिए । रिसुम गुम्बाको दैवी शक्तिकै कारण मार्फा गाउँमा कुनै ठूलो दैवी प्रकोप तथा अनिष्ट नभएको उनको भनाइ छ । रिसुम गुम्बामा अवस्थित तीन देवताको शक्तिले मार्फाली समुदायलाई शक्ति, ऊर्जा, मायाप्रेम, दया र ज्ञानलगायत ऊर्जा प्रदान गर्ने प्रेरणा मिलेको स्थानीय हिराचनले बताए । मार्फा गाउँमा बर्सेनि गाउँको मुखिया परिवर्तन गर्ने प्रचलन छ । नयाँ चुनिएका गाउँ मुखियाले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रशासनिक काम गर्नुपूर्व रिसुम गुम्बाको पूजा र दर्शन गर्नुपर्ने परम्परा रहेको छ । मुखिया गाउँको मुख्य अगुवा र नेतृत्व गर्ने व्यक्ति भएकाले कार्यसम्पादनका क्रममा आइपर्ने हरेक समस्या समाधान गर्न रिसुम गुम्बाबाट शक्ति, प्रेरणा, ज्ञान र क्षमता प्राप्त होस् भन्ने कामनासहित लामो समय लगाएर पूजा गर्ने प्रचलन रहेको उनले बताए । रिसुम गुम्बा मार्फा गाउँको श्रीपेचजस्तै चट्टानी पहाडमा ठिङ्ग उभिएको छ । पछिल्लो समय मार्फा गाउँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले रिसुम गुम्बाकोसमेत अवलोकन गर्ने गरेका छन् । पछिल्लो समय रिसुम गुम्बा जानका लागि घरपझोङ गाउँपालिका–सिँढी बाटो र रिसुम गुम्बा संरक्षणका लागि पूर्वाधार निर्माण गरिसकेको छ । रिसुम गुम्बा मार्फा गाउँबाट पैदल हिँडेर उकालो १० मिनेटमै पुग्न सकिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कराँचीमा ६ तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो
Latest NewsJust now

कराँचीमा ६ तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

कराँची । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा छ तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । भग्नावशेषबाट शनिबार थप चार जनाको शव निकालिएपछि मृतकको सङ्ख्या बढेको उद्धार अधिकारीहरूले... ...

रातोपाटी
इरानी बन्दरगाहको नाकाबन्दी तोड्न खोज्ने अर्को जहाज अमेरिकी सेनाद्वारा निष्क्रिय
Latest NewsJust now

इरानी बन्दरगाहको नाकाबन्दी तोड्न खोज्ने अर्को जहाज अमेरिकी सेनाद्वारा निष्क्रिय

इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गरेको अर्को व्यापारिक जहाजलाई अमेरिकी सेनाले ओमानको खाडीमा निष्क्रिय बनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले शुक्रबार उक्त जानकारी दिएको हो । अमेरिकी... ...

रातोपाटी
सीमावर्ती जङ्गलबाट साढे १९ टन फर्सीको बियाँ बरामद
Latest NewsJust now

सीमावर्ती जङ्गलबाट साढे १९ टन फर्सीको बियाँ बरामद

गोरखापत्र समाचारदाताकाठमाडौँ, मंसिर १२ गते । झापा र इलामको सीमा क्षेत्रमा पर्ने झापाको मेचीनगर नगरपालिका–१ भालुखोपस्थित जङ्गलबाट सशस्त्र प्रहरीले करिब साढे १९ टन फर्सीको बियाँ बराम... ...

गोरखापत्र
भारतस्थित नेपालीका समस्या समाधान गर्न नेपाली समाज भारतको १० बुँदे माग
Latest NewsJust now

भारतस्थित नेपालीका समस्या समाधान गर्न नेपाली समाज भारतको १० बुँदे माग

नयाँ दिल्ली । नेपाली समाज भारतले भारतस्थित नेपाली नागरिकका हक–अधिकार, सुरक्षा, सामाजिक संरक्षण तथा नेपाल–भारत सम्बन्ध सुदृढीकरणका लागि १० बुँदे मागसहित नेपाली राजदूतावास, नयाँ दिल्लीमा ज्ञापनपत्र बुझाएको छ । समाजका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement