भोजपुर । भोजपुर, धनकुटा र उदयपुरको संगमस्थल त्रिवेणीमा गत कात्तिक ५ गते भएको पानीबोट दुर्घटनाबारे गठित छानबिन समितिले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष प्रतिवेदन पेस गरेको छ । प्रदेश सरकारको गत कात्तिक १० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । त्रिवेणी जलयातायात प्रालिको नाममा सञ्चालित यात्रुवाहक ओबीएम पानीबोट दुर्घटनापछि घटनाको वास्तविकता पत्ता लगाउन सरकारले समिति गठन गरेको थियो । समितिले दुर्घटनास्थलको स्थलगत अध्ययन, सरोकारवालासँगको छलफल तथा प्राप्त कागजात र प्रमाणहरूको अध्ययन एवं विश्लेषण गरी प्रतिवेदन तयार पारेको जनाएको छ । प्रतिवेदनमा दुर्घटनाको घटनाक्रम र कारण, पानीबोटको प्राविधिक तथा सञ्चालन अवस्था, सम्बन्धित निकायहरूको भूमिका र उद्धार तथा राहत व्यवस्थापनलगायतका विषय समेटिएका छन् । त्यसैगरी, आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका उपाय र सुझावसमेत प्रतिवेदनमा समावेश गरिएको छ । समितिले प्रतिवेदनमा प्रस्तुत गरेका निष्कर्ष तथा सुझाव कार्यान्वयनका लागि आवश्यक निर्णय लिन प्रदेश सरकारसमक्ष अनुरोध गरेको छ ।
मुख्यमन्त्री कार्कीलाई पानीबोट दुर्घटनाको छानबिन प्रतिवेदन पेस

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






