जनकपुरधाम । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ । कार्तिक शुक्ल पञ्चमीमा सुरु भई १० दिनसम्म मनाइने यस पर्वको एघारौँ दिन अर्थात् पूर्णिमाको रात सामाचकेवाको विसर्जन गरिन्छ । पर्वका अवसरमा मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारीले सामूहिक रूपमा नाचगान गर्दै दाजुभाइको सुख, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा छ । यो पर्वका जानकार पण्डित रामकुमार शास्त्रीका अनुसार पर्वको पहिलो दिन दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुगेर दाजुभाइको हातबाट खनिएको माटो ल्याई त्यसलाई गिलो बनाएर विभिन्न आकृतिका सामा र चकेवा निर्माण गर्छन् । रातो रङको बाँसको डालामा सामाचकेवा सजाएर दियो बाल्ने र राति गाउँका चोक, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर तथा छठघाटमा लगेर नाचगान गर्ने प्रचलन छ । यसरी दिदीबहिनीहरू १० दिनसम्म सामाचकेवा खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्दछन् । यस अवसरमा महिलाहरूले ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ तथा ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ बोलका गीत गाउने चलन छ । पर्वको एघारौँ दिन बिहानै पुनः सामाचकेवा बनाएर रङ्गरोगन गरिन्छ । साँझ दाजुभाइलाई दहीचिउरा खुवाई परम्पराअनुसार फाँर भर्ने र दाजुभाइबाट सामाचकेवा फुटाइन्छ । त्यसपछि बाजागाजासहित नाचगान गर्दै सामाचकेवाको विसर्जन गरिन्छ । सामाचकेवा पर्व मनाउन विवाहित नारी माइत जाने परम्परा रहेकाले टाढा रहेका दिदीबहिनीसमेत माइतीघर फर्किने गर्दछन् । दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले पनि छरछिमेकका आफन्तसँग मिलेर यो पर्व मनाउने गरेका छन् । मधेस प्रदेशका महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा र पर्साका साथै सीमावर्ती भारतीय जिल्लाहरूमा पनि यो पर्व हर्षोल्लासका साथ मनाइन्छ ।
मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






