काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र अन्याय अन्त्य गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । महिला हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले महिलालाई सम्मान, सुरक्षा, स्वतन्त्रता र समान अवसरसहित जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको हो । उहाँले कुनै पनि राष्ट्रको प्रगति त्यतिबेला मात्र दिगो र अर्थपूर्ण हुने उल्लेख गर्दै महिलाले भयमुक्त वातावरणमा आफ्ना क्षमता, प्रतिभा र सम्भावनालाई पूर्ण रूपमा विकास गर्न पाउने अवस्था सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ । महिला परिवारको आधारस्तम्भ मात्र नभई सामाजिक परिवर्तन, आर्थिक समृद्धि, लोकतान्त्रिक सुदृढीकरण तथा राष्ट्र निर्माणका महत्वपूर्ण संवाहक भएको उहाँको भनाइ छ । महिलाविरुद्ध हुने हिंसा मानवअधिकारको उल्लङ्घन मात्र नभई सभ्य समाजको विकासमा अवरोध पुर्याउने गम्भीर सामाजिक चुनौती भएको उहाँले बताउनुभएको छ । नेपालले संविधान, कानुन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतामार्फत लैङ्गिक समानता र महिला अधिकार सुनिश्चित गर्ने अठोट व्यक्त गरे पनि सामाजिक पूर्वाग्रह, हानिकारक परम्परा, आर्थिक निर्भरता, शक्ति असन्तुलन र चेतनाको अभावका कारण महिलामाथि हिंसा तथा दुर्व्यवहारका घटना भइरहनु चिन्ताजनक रहेको उपराष्ट्रपति यादवले उल्लेख गर्नुभएको छ । उहाँले यस्ता चुनौती समाधानका लागि कानुनी व्यवस्थासँगै परिवार, विद्यालय, समुदाय, सञ्चारमाध्यम तथा सार्वजनिक संस्थाहरूको साझा जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ । महिला सशक्तीकरणका लागि शिक्षा, सीप, नेतृत्व विकास र आर्थिक स्वावलम्बनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उहाँले महिलालाई निर्णय प्रक्रियामा समान अवसर र सम्मानजनक सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । दिवसले हिंसाप्रति शून्य सहनशीलताको संस्कृति विकास गर्दै पारस्परिक सम्मान, मानव मर्यादा र समान अवसरमा आधारित सामाजिक चेतना विस्तार गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति यादवले प्रत्येक घर, समुदाय र कार्यस्थल महिलाका लागि सुरक्षित, समावेशी र उत्साहवर्धक बनाउन सबैलाई साझा प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गर्नुभएको छ ।
महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






