काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावमा आफ्नो रिपब्लिकन पार्टी पराजित हुँदै डेमोक्रेटहरूले संसद्का दुवै सदनमा फराकिलो जित हासिल गरेपछि चुनावी धाँधलीको आरोप दोहोर्याएका छन् । चुनावी नतिजालाई सुरुमा स्वीकार गरेका उनले सोमबार कुनै प्रमाणबिना निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएका हुन् । “के यो चुनाव इमानदार थियो भनेर कसैले विश्वास गर्छ ? मतसर्वेक्षणहरू कसरी यति धेरै गलत हुन सक्छ ?’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन् । उनले मतदाताभन्दा मतगणना गर्ने मेसिनहरू बढी महत्वपूर्ण भएको आरोप समेत लगाए । चुनावमा डेमोक्रेटहरूले विगत दुई दशकयताकै ठूलो बहुमतसहित प्रतिनिधिसभा र सिनेट दुवैमा नियन्त्रण हासिल गरेको ६ दिनपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । चुनावी नतिजा सार्वजनिक भएपछि सुरुमा ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीलाई बधाई दिँदै उनीहरूले राम्रो अभियान चलाएको स्वीकार गरेका थिए । ‘द न्युयोर्क टाइम्स’सँग कुरा गर्दै उनले नतिजा स्वीकार गर्न तयार रहेको र डेमोक्रेटहरूसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका थिए । फक्स न्युजसँग पनि उनले डेमोक्रेटहरूले राम्रो काम गरेको टिप्पणी गरेका थिए । तर, बिहीबार उनले अलास्काको अनिर्णीत सिनेट चुनावमा पछाडि परेका रिपब्लिकन उमेदवार ड्यान सुलिभानलाई जिताउन दुई साना उमेदवारलाई परेको मत स्थानान्तरण गर्नुपर्ने माग गरे । अलास्कामा ‘र्यांकड च्वाइस’ मतदान प्रणाली लागु भए पनि ट्रम्पले यसबाहेक अर्को निष्पक्ष विकल्प नभएको जिकिर गरेका थिए । सोमबारका आरोपले देशभरको निर्वाचनको वैधानिकतामाथि नै प्रश्न उठाएका छन् । यसले सन् २०२० को राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक उमेदवार जो बाइडेनले धाँधली गरेर आफ्नो जित खोसेको भन्ने ट्रम्पका पुराना निराधार दाबीलाई पुनः स्मरण गराएको बताइएको छ । त्यतिबेला नतिजा स्वीकार गर्न अस्वीकार गरेका ट्रम्पले दर्जनौँ असफल कानुनी चुनौती दिएका थिए । अन्ततः ६ जनवरी २०२१ मा उनका समर्थकहरूले अमेरिकी संसद् भवन क्यापिटलमा आक्रमण गरेका थिए । सीटीन्युज
मध्यावधि चुनावमा पराजयपछि ट्रम्पद्वारा धाँधलीको आरोप

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






