काठमाडौं । नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै भन्ने नाराका साथ नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनिज (नास-आइटी) ले आगामी मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘आकाशटेल नास-आइटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ । आयोजकका अनुसार यस वर्षको एक्स्पोमा स्टार्टअप प्याभिलियन र दुर्ईवटा विषयगत छलफल थप गरिएका छन् । दुर्ईदिने एक्स्पोले नेपाली प्रविधि कम्पनीहरूलाई बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको छ । साथै, विद्यार्थी तथा युवा पेशाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी दिने उद्देश्य पनि एक्स्पोले लिएको नास-आइटीका अध्यक्ष दिपेन चापागाईंले बताउनुभयो । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रियस्तरका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेका छन् । अब ती उत्पादनको बजार विस्तार, स्वदेशमै प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय पहुँच बढाउनु आवश्यक छ । नास-आइटी एक्स्पोले नेपाली प्रविधि कम्पनीलाई बजार, लगानीकर्ता र सम्भावित साझेदारसँग जोड्दै यस दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।’ नास-आइटीकी महासचिव श्रेया श्रेष्ठले एक्स्पो प्रविधि प्रदर्शन गर्ने मञ्चमात्र नभई व्यवसाय, प्रविधि र प्रतिभालाई जोड्ने अवसरसमेत भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खरिदकर्ता, स्टार्टअप र विद्यार्थी सबैले आफ्ना लागि उपयोगी अवसर पहिचान गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो । एक्स्पोमार्फत् प्रविधि कम्पनीका उत्पादन तथा सेवाबारे जानकारी लिनुका साथै नयाँ सहकार्य र व्यावसायिक सम्भावनाको खोजी गर्न सकिनेछ ।’ एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी छवटा क्षेत्रमा कार्यरत ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने बताइएको छ । एक्स्पोमा युरोपेली संघ (इयु) को सहयोगमा नयाँ तथा प्रारम्भिक चरणका कम्पनीलाई लक्षित गरी स्टार्टअप प्याभिलियन थप गरिएको छ । जसले स्टार्टअपहरूलाई आफ्ना नवीन विचार, उत्पादन तथा प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजले जनाएको छ । एक्स्पोको पहिलो दिन कूटनीतिक प्रतिनिधिहरूको सहभागितामा ‘नेपालदेखि विश्वसम्म’ विषयमा छलफल आयोजना हुने र दोस्रो दिन ‘सेलेक्ट युएसए’ र ‘बिल्डिङ फ्रम विदिन’ शीर्षकमा दुर्ईवटा प्यानल छलफल आयोजना हुने बताइएको छ । आयोजकका अनुसार ‘सेलेक्ट युएसए’ सत्रमा नेपाली व्यवसायका लागि अमेरिकी बजारमा उपलब्ध अवसरबारे छलफल गरिनेछ भने ‘बिल्डिङ फ्रम विदिन’ सत्रमा नेपालको आन्तरिक प्रविधि बजारको विकासका विषयमा छलफल हुनेछ । साथै, दुवै दिन सञ्चालन हुने पिच सत्रमार्फत् प्रविधि कम्पनी तथा स्टार्टअपहरूले आफ्ना उत्पादन, सेवा तथा समाधानहरू प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।
मंसिर ५ र ६ गते नास-आइटी एक्स्पो हुँदै

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






