काठमाडौं । बैंकमा मुद्दती निक्षेप राख्ने बचतकर्ताले मंसिर महिनामा पाउने ब्याजदर थप घटेको छ । वाणिज्य बैंकमध्ये ६ वटा बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने १४ बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन् । ब्याजदर घटाउनेमा माछापुच्छ्रे बैंक सबैभन्दा अगाडि देखिएको छ भने व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक सानिमा बनेको छ । कुन बैंकले घटाए ब्याजदर ?मंसिर महिनाका लागि ब्याजदर घटाउने ६ बैंकमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सबैभन्दा धेरै घटाएको छ । बैंकले कात्तिकको तुलनामा १ प्रतिशत बिन्दुले ब्याजदर कटौती गर्दै ३.५ प्रतिशत कायम गरेको हो । त्यस्तै, कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशत बिन्दुले घटाएर ३.६५ प्रतिशतमा झारेको छ । एनएमबी बैंकले व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका निक्षेपको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएको छ । यसैगरी, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । सानिमा बैंकको ब्याजदर सबैभन्दा बढीमंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक सानिमा बनेको छ । बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यसैगरी, प्रभु बैंकले ४.२५ प्रतिशत र नेपाल बैंकले ४.१५ प्रतिशत ब्याज दिने भएका छन् । अन्य केही वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४ प्रतिशत ब्याजदर कायम गरेका छन् । माछापुच्छ्रे बैंकले भने ब्याजदर घटाएर ३.५ प्रतिशतमा सीमित गरेको छ भने कृषि विकास बैंकको ब्याजदर ३.६५ प्रतिशत कायम भएको छ । १४ बैंकले पुरानै ब्याजदरलाई दिए निरन्तरतामंसिर महिनाका लागि १४ वाणिज्य बैंकले कात्तिक महिनामा कायम रहेको निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् । ब्याजदर यथावत् राख्ने बैंकहरूमा एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनआईसी एसिया बैंक रहेका छन् । व्यक्तिगत र संस्थागत निक्षेपको औसत ब्याजदर घट्योबैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर पनि घटेको छ । कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.०१३ प्रतिशत रहेकोमा मंसिरमा घटेर ३.९०६ प्रतिशतमा झरेको छ । यसअनुसार औसत ब्याजदर ०.१०७ प्रतिशत बिन्दुले घटेको हो । त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि कात्तिकको ३.००३ प्रतिशतबाट घटेर मंसिरमा २.९९०५ प्रतिशत कायम भएको छ ।
मंसिरका लागि ६ वटा बैंकले घटाए ब्याजदर, कसकाे कति ?

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






