काठमाडौं । गत भदौ १० गते रसुवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) को प्रारम्भिक प्रतिवेदनले बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदनअनुसार बाढीले समग्र अर्थतन्त्रमा ४ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। ऊर्जा क्षेत्रको पुनरुत्थान तथा पुनर्निर्माणका लागि मात्रै २ खर्ब १८ अर्ब ५८ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। बाढीका कारण सार्वजनिक र निजी क्षेत्रमा ८९ अर्ब २६ करोड रुपैयाँ बराबरको हानि र ४३ अर्ब ५६ करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ। सार्वजनिक क्षेत्रतर्फ मात्रै ८२ अर्ब ७९ करोड रुपैयाँ बराबरको हानि र ५० अर्ब ३ करोड रुपैयाँ बराबरको नोक्सानी भएको आयोगको मूल्यांकन छ। बाढीले रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो। क्षति पुगेका आयोजनामध्ये सात निजी क्षेत्रका र सात नेपाल विद्युत् प्राधिकरण तथा त्यसका सहायक कम्पनीका रहेका छन्। त्यस्तै, ६ वटा सबस्टेसन, प्रसारण लाइन, वितरण लाइन तथा विद्युत् पोलमा समेत क्षति पुगेको छ। बाढीबाट १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको रसुवा भोटेकोशी, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए, २० मेगावाटको लाङटाङ खोला, १४.१ मेगावाटको देवीघाट, २४ मेगावाटको त्रिशूली, २२ मेगावाटको चिलिमे र १०० मेगावाटको सुपर त्रिशूली आयोजनामा क्षति पुगेको थियो। यसैगरी, पाँच मेगावाटको मैलुङ खोला, १५.६२५ मेगावाटको मध्य त्रिशूली गंगा, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी, १४.३ मेगावाटको माथिल्लो मैलुङ तथा २४.३६ मेगावाट क्षमताका पाँच सौर्य विद्युत् आयोजनासमेत बाढीबाट प्रभावित भएका थिए।
भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्बको क्षति, पुनर्निर्माणमा २ खर्ब १८ अर्ब आवश्यक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






